दैलेख, पुस ९ गते । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाका विभिन्न गाउँमा अवैध हातहतियारको खोजी अभियान तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर बरालले निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत गाउँ गाउँमा हातहतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको जानकारी दिनुभयो ।
प्रहरीले आग्रह गर्दा पनि हातहतियार नबुझाउने व्यक्तिलाई पहिचान गरी पक्राउ समेत गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पुस ५ गते दैलेखको नौमुले गाउँपालिका–२, उनपाटाका ३७ वर्षीय भीमबहादुर शाहीले भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शाहीमाथि जिल्ला अदालत दैलेखबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नौमुले गाउँपालिका–२ कै उनपाटा सामुदायिक वनमा भरुवा बन्दुक लुकाइछिपाई राखिएको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उक्त सामुदायिक वनबाट दुई नाल भरुवा बन्दुक फेला पारेको छ । फेला परेका बन्दुक रीतपूर्वक मुचुल्का उठाई जिल्ला प्रहरीमा ल्याएको र कसको बन्दुक भनी खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले निर्वाचन अवधिभर जिल्लामा शान्ति सुरक्षा कायम राख्न अवैध हातहतियार स्वैच्छिक रूपमा नजिकको प्रहरी कार्यालयमा बुझाउन पुनः आग्रहसमेत गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











