काठमाडौँ, पुस १९ गते । किसानले विषादीको प्रयोगबारे ७४ प्रतिशत सल्लाह एग्रोभेट सञ्चालकसँग नै लिने गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार विषादीको प्रयोग कसरी गर्ने भनेर ७४ प्रतिशत किसानले एग्रोभेटकै सल्लाह लिने गरेको पाइएको हो ।
विसं २०७१ असारदेखि कालीमाटी फलफूल तथा तरकारी बजारमा सरकारले विषादी परीक्षण सुरु गरेको थियो । त्यसपछि निरन्तर रूपमा ताजा तरकारीमा प्रयोग हुने विषादीको परीक्षण त भएको छ तर धेरै तरकारी उपभोक्ताले प्रयोग गरिसकेपछि मात्रै विषादीयुक्त हुने थाहा हुन्छ । कृषि तथा वन विज्ञान मन्त्रालयसँगै विभिन्न जिल्लामा कृषि विकास कार्यालयले गरेको अध्ययनले किसानले विषादीको प्रयोग एग्रोभेटसँगको परामर्शमा धेरै गर्ने गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले ठुला व्यावसायिक फर्मले दक्ष प्राविधिकको सल्लाह लिने भए पनि आम-किसानले भने एग्रोभेटकै सल्लाह लिने गरेको पाइएको बताउनुभयो । तीन तहका सरकारसँग कृषि प्राविधिक भए पनि सीमित सङ्ख्यामा हुँदा र काम गर्नुपर्ने क्षेत्र धेरै हुँदा कृषिक्षेत्रमा सोचे जसरी काम गर्न नसकेको बताउनुभयो । सङ्घीय सरकारसँग वडामा हुने कृषि गतिविधिको जानकारी पाउने संयन्त्र केही वर्षयता पूर्ण रूपमा ध्वस्त बनेपछि कृषिका समस्या झनै बढेको उहाँले बताउनुभयो ।
तरकारीमा विषादीको प्रयोगबारे सञ्चार माध्यमले खेलेको सकारात्मक भूमिकापछि विषादीको प्रयोगबारे भएका धेरै अध्ययनले विषादी प्रयोग गर्ने किसान विज्ञसँग नभएर एग्रोभेटसँग पुग्ने गरेको पाइएको छ । कृषि उत्पादनमा केकस्ता विषादी कसरी प्रयोग भइरहेका छन् भन्नेबारे किसानले जानेका छैनन् ।
“अझै पनि किसानले विषादीलाई औषधीका रूपमा व्याख्या गर्ने गरेका छन्,” लामो समयदेखि जैविक विषादीको महत्वबारे कृषक पाठशाला सञ्चालन गर्नुभएका अम्बिका हमालले बताउनुभयो । “एक मात्रा विषादी छर्किएर तरकारीमा रोग नलागोस् भन्ने किसानको चाहनाले विषादीको प्रयोग बढाइरहेको छ,” हमालले भन्नुभयो । एक पटक राम्रो भएपछि त्यही विषादीको भाँडो बोकेर किसान एग्रोभेटसम्म पुग्ने गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले पर्सा, मकवानपुर लगायतका व्यावसायिक फर्ममा र आम-किसानसँग गरेको अध्ययनमा विषादीको प्रयोग कसरी गर्ने भनेर ७४ प्रतिशत किसानले एग्रोभेटकै सल्लाह लिने गरेको पाइएको हो । आफूखुसी अघिल्लो सिजनमा प्रयोग गरेको विषादीको भाँडो देखाएर फेरि त्यही विषादी प्रयोग गर्ने किसान १० प्रतिशत छन् । छिमेकीको खेती राम्रो देखेर उनीहरूसँग सल्लाह गर्ने छ प्रतिशत, कृषि केन्द्रमा जाने पाँच प्रतिशत र विज्ञसँग सल्लाह गर्ने किसान चार प्रतिशत मात्रै छन् । यसले किसान अझै पनि विषादीको प्रयोगमा एग्रोभेटकै भरमा रहेको अध्ययनले देखाएको छ ।
त्यसरी एग्रोभेटमा विषादी बेच्ने र परामर्श दिने एग्रोभेट सञ्चालकको शैक्षिक योग्यता कक्षा ११ सम्मको मात्रै देखिएको छ । उनीहरूले अनुभवका आधारमा मात्रै विषादी बेचिरहेका छन् । विषादी बेचबिखनमा भने उनीहरूको अनुभव १०.३८ वर्षको छ ।

किसानले आफ्नो बालीमा देखिएको समस्याको मौखिक वर्णन गरेपछि सोही आधारमा पसलेले विषादी उपलब्ध गराउने गरेको अध्ययनले देखाउँछ । केही समययता स्मार्ट फोनमा फोटो र भिडियो खिचेर पठाउने र सोही आधारमा विषादीको प्रयोग गर्ने क्रम पनि बढेको छ ।
विषादी बिक्री केन्द्रले ६६ प्रतिशत कृषकले गरेको समस्याको वर्णनकै आधारमा, २१ प्रतिशत किसानले माग गरे अनुसार, सात प्रतिशत खेतबारी र बालीको अनुगमन निरीक्षणपछि र चार प्रतिशत मात्रै प्राविधिक तथा विज्ञको सिफारिसमा विषादी बेच्ने गरेको अध्ययनले देखाएको छ ।
विषादी बेच्दा करिब ९६ प्रतिशत अवस्थामा विषादीको मात्राबारे कुरा सुझाए पनि विषादी छर्केपछि कुर्ने समय लगायत प्राविधिक ज्ञान भने कम दिने गरेका छन् । यसैले कालीमाटी बजारमा जाने तरकारीमा विषादीको मात्रा देखिएको हुन सक्ने अग्रणी किसान महेश्वर दाहालले बताउनुभयो ।
रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोगमा ध्यान दिन आवश्यक हुने उहाँले स्पष्ट पार्नुभयो । तरकारीको मूल्यमा आउने परिवर्तनले पनि किसानले विषादी प्रयोगपछि कुर्ने समयबारे ध्यान नदिएको उहाँले बताउनुभयो । “एकैदिनमा तरकारीको मूल्यमा आकाश जमिनको फरक पर्छ । एक दिन कुर्दा पनि लाखौँ रुपियाँ घाटा पर्ने भएपछि किसानले कुर्ने समयको ख्याल नगरी राम्रो मूल्य आएपछि तरकारी टिपिहाल्छन् । पछि परीक्षणमा विषादी पुष्टि भएको हुन सक्छ,” दाहालले भन्नुभयो । त्यसको उपचार भनेको रासायनिक विषादी घटाउने र जैविक विषादी बढाउनु भएको उहाँको सुझाव छ ।
विषादी किन्न आउनेमा प्रौढ पुरुषको ५७ र महिला ३२ प्रतिशत र १३ प्रतिशत बालबालिका हुने गरेको अध्ययनले देखाउँछ । विषादी महिला तथा बालबालिकाको सहज पहुँचमा देखिएकाले विषादी सेवन गरेर आत्महत्या गर्ने महिला र बालबालिका बढेकाले त्यसलाई नियमन गर्न आवश्यक रहेको हमालले बताउनुभयो । उहाँले तरकारी धेरै उत्पादन हुने जिल्लामा विषादीको प्रयोग गरेर हुने आत्महत्याको दरमा निकै बढी छ । “यो भनेको सहजै विषादी किन्न पाउँदा त्यसले पारेको असर हो,” हमालले भन्नुभयो ।
५१ प्रतिशत पसलेले विषादीलाई मूल्यवान् सामान जसरी आकर्षक देखाएर सजाएर राख्ने गरेका छन् । धेरैले विषादी बेचेको बिल नदिने, दैनिक बेचबिखनमा लेखा नराख्ने, स्टक दुरुस्त नराख्ने र विषादीसँगै त्यसको हानी र असरबारे पर्चा पनि नदिने गरेको पाइएको छ । अध्ययन अनुसार वैशाख, जेठ, साउन, भदौ, मङ्सिर र चैतमा धेरै विषादी बिक्री हुने गरेको छ । मधेश, कोशी, लुम्बिनी, बागमतीका केही जिल्लामा अझै पनि किराना पसल र पान पसलमा समेत घातक विषादी बेच्ने गरेको पाइएको अध्ययनले देखाउँछ ।
– केशवराज पौडेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














