काठमाडौँ, पुस १८ गते। काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। महानगरले आगामी माघदेखि ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्तको स्वास्थ्य परीक्षण गर्न सुरु गर्न थालेको महानगरका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिनुभयो।
महानगरका ३२ वटै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका स्टाफ नर्सले ती ज्येष्ठ नागरिकको घरघरमा गई स्वास्थ्य परीक्षण गर्ने छ। उपचार गर्न अस्पताल र प्रवर्द्धन केन्द्रमा जान नसक्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महानगरले सेवा प्रदान गर्न थालेको हो।
महानगरका चिकित्सक डा दिवस न्यौपानले सुरुमा स्टाफ नर्सले घरमा पुगी ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने र आवश्यक परेको खण्डमा चिकित्सक गएर ती ज्येष्ठ नागरिकको उपचार गर्ने बताउनुभयो। “३२ वटै वडामा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका स्टाफ नर्सले आआफ्नो ठाउँमा रहेका ज्येष्ठ नागरिकको शारीरिक र मानसिक स्वास्थ्य रिर्पोट तयार पार्दछन्। त्यही बेला नै उच्च रक्तचाप, मधुमेहलगायत सामान्य परीक्षण गर्ने छन्”, उहाँले भन्नुभयो, “सोही आधारमा ती नागरिकको रोग पत्ता लगाइसकेपछि चिकित्सकले उपचार गर्ने र आवश्यक अन्य उपचारका लागि अस्पतालसम्म लैजाने व्यवस्था गरिने छ।”
महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि तालिम दिइसकेको विभागमा प्रमुख केसीले जानकारी दिनुभयो। “हामीले सबै वडाका स्टाफ नर्सलाई तालिम दिइसकेका छौँ। अब सम्बन्धित वडाका वडाध्यक्ष र केन्द्रका इञ्चार्जसँगको छलफलपछि हामीले ती ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न घरघरमा जान्छौँ”, उहाँले भन्नुभयो। महानगरमा ७० वर्षभन्दा माथिका करिब २३ हजार ज्येष्ठ नागरिक रहेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










