01/02/2026, 20:09:43
शुक्रबार, पुष १८, २०८२

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक प्रचण्ड


किमाथाङ्का (सङ्खुवासभा), पुस १८ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताउनुभएको छ ।

आज खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक दाहालले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताउनुभएको हो । उहाँले जेन-जी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताउनुभयो । सङ्कटमा परेको राष्ट्रलाई निकास दिन वामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।

संयोजक दाहालले हालै देखिएको जेन-जी आन्दोलनले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट पार्नुभयो ।

जेन-जी आन्दोलनको उपलब्धि रक्षा गर्न नेपाली कम्युनिष्ट पार्टी सच्चिएर अघि बढ्ने बताउनुभयो । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताउनुभयो ।

नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैनन् भन्ने भ्रम थियो, तर जेन-जी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ”, उहाँले भन्नुभयो । सहसंयोजक नेपालले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..