काठमाडौँ, पुस १८ : जेन–जी आन्दोलनका बेला सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) मा अलपत्र पारिएको छ ।
सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा विभिन्न सरकारी निकायमा आगजनीपछि क्षति भएका सवारी साधन संसद् भवनमा लगेर थुपारिएको हो । यसरी थुपारिएका सवारीसाधनको व्यवस्थापन गर्ने प्रक्रिया अझै अघि बढेको छैन ।
सुरुमा सवारी साधन राख्न समन्वय गरेका मन्त्रालयसमेत यसबारे अझै प्रस्ट छैनन् । संसद् भवन परिसरमा जलेका सवारीसाधन यत्रतत्र अबस्थामा राखिएको छ । नयाँ बानेश्वर भएर ओहरदोहर गर्ने पैदलयात्रुको नजर आगो लगाइएको संसद् भवन र त्यहाँ भित्र राखिएका जलेका सवारीसाधनमा पर्ने गरेको छ ।
जलेका सवारी साधनलाई संसद् भवनमा लगेर राख्नेबाहेक थप प्रक्रिया अघि बढेको थाहा नभएको सहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद मैनालीले बताए । ‘अब के कसरी ती सवारीसाधनको व्यवस्थापन गर्ने, केही थाहा छैन,’ उनले भने, ‘हामीले जलेका सवारी साधन लगेर डम्प मात्र गरेका हौं, अन्य प्रक्रिया अघि बढेको छैन ।’
सम्बन्धित मन्त्रालयले सवारीसाधनको मुचुल्का उठाएर संसद् भवनमा लगेर राखेका थिए । सहरी विकास मन्त्रालय अन्तर्गत मात्र क्षति पुगेका चारपांग्रे ६१ र दुईपांग्रे ६२ वटा छन् । सहरीले जलेका विभिन्न मन्त्रालय तथा निकायबाट चारपांग्रे १ सय ४५, दुई पांग्रे २ सय ५६ र बस २ वटा सवारी साधन संसद् भवनमा राखिएको जनाएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत २४ वटा दुईपांग्रे र ११ वटा चारपांग्रे सवारी साधन आगजनीबाट क्षति भएका छन् ।

मन्त्रालय अन्तर्गत अन्य निकायबाट सवारी साधनको क्षतिको विवरण कम्पाइल भएर आउन बाँकी रहेको मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाकी उपसचिव सुशीला पौडेल दाहालले बताइन् । सबैभन्दा धेरै सवारी साधन भने सडक विभागमा पार्किङ गरेर राखिएका जलेका छन । सडक विभागका अनुसार चारपांग्रे ८८, दुईपांग्रे एक सय र हेभीइक्युपमेन्ट ७ वटा जलेर नष्ट भएका छन् ।
आन्दोलनले गर्दा अधिकांश कर्मचारीले सवारीसाधन सडक विभाग परिसरमा पार्किङ गरेर राख्दा ठूलो बढी क्षति भएको थियो । ९ पुसमा भएको सचिवस्तरीय निर्णयबाट ती सवारी साधनको व्यवस्थापनको निर्णय भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले बताए । ‘सबै मन्त्रालयले जलेर नष्ट भएका सवारीसाधनको विवरण सहरी विकास मन्त्रालयलाई एकमुष्ट रुपमा बुझाउनु पर्ने छ,’ उनले भने, ‘त्यसपछि सम्बन्धित मन्त्रालयहरूले आफ्नो रेकर्डबाट नष्ट भएका सवारीसाधनको नाम, नम्बर हटाएर मिनाहा गर्नुपर्ने छ ।’ अहिले सबै सवारीसाधन एकै ठाउँमा राखिएकाले अब ती सवारीसाधनको सम्बन्धित मन्त्रालयले मिनाहा गरेर एउटै मन्त्रालयले त्यसको लिलाम गर्ने निर्णय भएको उनको भनाइ छ ।
‘अब त्यस्ता सवारी साधन गाडी,मोटरसाइकल,स्कुटर नभएर पत्रु सामानका रूपमा लिलाम हुने हो,’ उनले भने, ‘पाटपुर्जाको मूल्य हुने छैन, किलोमा जानेगरी फलामको डल्लोका रूपमा लिलाम हुने छ ।’ सचिव बैठकको निर्णयअनुसार भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा जलेका सवारीसाधन तथा अन्य भौतिक सम्पत्तिको मिनाहा तथा लिलाम बिक्रीका सम्बन्धमा मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयबमोजिम गर्नुपर्ने छ । जस अनुसार मन्त्रालय/निकायले प्रचलित कानुनबमोजिम मिनाहा प्रक्रिया सम्पन्न गरी पत्रुमा लिलाम गर्नुपर्ने सामानहरुको एकमुष्ट सूची हस्तान्तरण गरेको पत्र सहरी विकासलाई पठाउने र सहरीले लिलामको प्रक्रिया अघि बढाउने छ ।

सचिव बैठकले हाल सञ्चालनमा रहेका र नयाँ सवारी साधन एवं भवनको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाउनुपर्ने निर्णय पनि गरेको छ । मर्मत गर्न मिल्ने सवारी साधन तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने निर्णय बैठकबाट भएको छ । ‘आवश्यकता र औचित्यका आधारमा तत्काल नयाँ सवारी साधन खरिद गर्नुपर्ने अवस्थामा अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन एवं मार्गदर्शन गर्ने छ,’ निर्णयमा भनिएको छ, ‘सवारी साधनको दीर्घकालीन व्यवस्थापनका लागि अर्थले गरीरहेको अध्ययन कार्य यथाशीघ्र सम्पन्न गरी पेस गर्नुपर्ने छ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २१ वटा मन्त्रालय सिंहदरबारभित्र छन् । सबैले आगलागीबाट क्षति भएका सवारी साधनको मुचुल्का उठाएर संसद् भवन लगरे सवारीसाधन राखीसकेका छन् । के कति सवारी साधनमा क्षति भएको थियो भन्नेबारे भने अझै पनि सहरी विकाससँग यकिन तथ्यांक छैन ।
– विमल खतिवडा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













