नेपाल यतिबेला इतिहासको एउटा संवेदनशील र निर्णायक मोडमा उभिएको छ । चुनाव नजिकिँदै जाँदा देशको राजनीतिक वातावरण केवल दलगत प्रतिस्पर्धामा सीमित नरही आशा र भयको सङ्गममा रुमलिएको छ । पछिल्ला वर्षमा सडक, सामाजिक सञ्जाल र आन्दोलनमार्फत उदाएका अभियानकारी (लोकप्रियतामा आधारित) राजनीतिक प्रवृत्तिका व्यक्ति अब प्रत्यक्ष संसदीय राजनीतिमा प्रवेश गर्दै सत्ताको आकाङ्क्षी बन्न थालेका छन् । उनीहरू अब केवल प्रश्न उठाउने आवाज होइनन्, सरकारको सम्भावित हिस्सा र राज्य सञ्चालनका जिम्मेवार पात्र बन्ने यात्रामा छन् ।
लोकतन्त्रमा चुनाव लड्नु नागरिकको संवैधानिक अधिकार हो । यसमा कुनै विवाद छैन । लोकतन्त्र अधिकारको प्रयोग मात्र होइन जिम्मेवारी, उत्तरदायित्व, सहमति निर्माण, संस्थागत सोच र परिणाम देखाउने क्षमताको प्रणाली हो । यही बिन्दुमा आजको नेपाली राजनीति सबैभन्दा ठुलो परीक्षामा छ । अभियानकारी राजनीतिक प्रवृत्तिको उदय आकस्मिक होइन । यो परम्परागत राजनीतिक दलहरूको दीर्घकालीन असफलताको प्रत्यक्ष परिणाम हो । भ्रष्टाचार, कुशासन, बेरोजगारी, अवसरको अभाव, कमजोर सार्वजनिक सेवा, निरन्तर सरकार परिवर्तन र राजनीतिक अस्थिरताले जनतामा निराशा उत्पन्न गरायो । राज्य र नागरिकका बिचको दुरी बढ्दै गयो । यही खाली स्थानबाट अभियानकारी आवाज जन्मियो ।

यी अभियानकारीले सत्तालाई प्रश्न गरे, नेताहरूको असफलता उजागर गरे, जनताको पीडालाई शब्द दिए र सत्ताभन्दा बाहिर बसेर निडर रूपमा आलोचना गरे । उनीहरूलाई संस्थागत जिम्मेवारीको बोझ थिएन, त्यसैले उनीहरू स्पष्ट, आक्रामक र जनभावनासँग नजिक थिए । यही कारण उनीहरू जनविश्वासको केन्द्र बने । आज परिस्थिति बदलिँदै छ । प्रश्नकर्ताबाट सत्ताको खोजीतर्फको यात्रा सुरु भएको छ । यहीँबाट लोकतन्त्रका लागि गहिरो प्रश्न उठ्छ–सबै प्रश्नकर्ता नै सत्तामा जान चाहन्छन् भने, भोलि प्रश्न कसले उठाउने ?
चुनावबाट निर्वाचित प्रतिनिधि अनिवार्य रूपमा सत्ता–भोगी नै हुन्छन् भन्ने होइन । धेरै नयाँ प्रतिनिधि व्यक्तिगत रूपमा इमानदार, सादगीपूर्ण र परिवर्तनकारी भावना बोकेका हुन सक्छन् । एक पटक संसद्मा पुगेपछि र सरकारमा सहभागी भएपछि उनीहरू सरकारकै हिस्सा बन्छन् । त्यतिबेलादेखि उनीहरू प्रश्नकर्ता रहँदैनन् । उनीहरू उत्तरदायी प्रतिनिधि बन्छन् । अब उनीहरूले हामी प्रयास गर्दै छौँ, हामी लड्दै छौँ वा हामी व्यवस्थाविरुद्ध छौँ भनेर पन्छिन पाउँदैनन् । अब उनीहरूमाथि प्रश्न सोधिन्छ– के परिवर्तन भयो ? जनताको जीवनमा के फरक आयो ? सरकारमा बसेपछि आन्दोलनको भाषा होइन, परिणामको भाषा बोल्नु पर्छ । यही विन्दु अभियानकारी राजनीतिका लागि सबैभन्दा कठिन मोड हो ।
संसद् बहस, सहमति र नीति निर्माणको थलो हो । संसद् भावनात्मक भाषण, व्यक्तिगत आरोप–प्रत्यारोप र सामाजिक सञ्जालका लागि दृश्य उत्पादन गर्ने रङ्गशालामा रूपान्तरण भयो भने लोकतन्त्र कमजोर हुन्छ । सहमति कमजोर भयो भने सरकार अस्थिर हुन्छ । सरकार अस्थिर भयो भने नीति अस्थिर हुन्छ । नीति अस्थिर भयो भने विकास अवरुद्ध हुन्छ । लोकतन्त्र भिडको हुटिङबाट होइन । संस्थागत प्रक्रियाबाट बलियो हुन्छ ।

नेपालमा नयाँ राजनीतिक पार्टी उदाइरहेका छन् । ती कुनै आकस्मिक प्रयोग होइनन् । ती पुराना दल पार्टी असफल भए भन्ने गहिरो अनुभूतिबाट जन्मिएका हुन् । यही कारण नयाँ पार्टीले आफूलाई पुरानो राजनीतिक संस्कृतिविरुद्ध उभ्याएका छन् । उनीहरूको दाबी छ हामी पुराना दलभन्दा फरक छौँ, हामी पुरानो सत्ता–संस्कृतिको पुनरावृत्ति गर्दैनौँ, हामी पुराना दलसँग गठबन्धन गर्दैनौँ । युवापुस्ताको विश्वास पनि यही दाबीमा आधारित छ । नेपालको संविधान भावना होइन, सङ्ख्यामा चल्छ ।
प्रतिनिधि सभामा कुल २७५ सदस्य हुन्छन् । सरकार गठनका लागि कम्तीमा १३८ सिट आवश्यक पर्छ । संविधान संशोधनका लागि १८४ सिट चाहिन्छ । नेपालको चुनावी इतिहासले देखाएको यथार्थ के हो भने कुनै एक दलले एक्लै बहुमत ल्याउनु कठिन छ । यही कारण संसदीय लोकतन्त्रमा गठबन्धन अपरिहार्य बन्दै आएको छ । पुराना पार्टीले गठबन्धन संस्कृतिको अभ्यास गरे, किनकि त्यो उनीहरूको रोजाइ मात्र होइन, बाध्यता पनि हो ।
नयाँ पार्टीले आज गठबन्धनको विरोध गर्छन् । उनीहरूले एक्लै बहुमत ल्याउन सकेनन् भने विकल्प फेरि गठबन्धन नै हुन्छ । संविधानले अल्पमत सरकारलाई दीर्घकालीन स्थायित्व दिँदैन । अन्ततः गठबन्धन अपरिहार्य हुन्छ । पुरानो राजनीतिविरुद्ध उभिएका शक्ति भोलि सत्ता गठनका लागि त्यही दलसँग हात मिलाउनु परे जनताको विश्वास हराउँछ । परिवर्तनको नाममा पुरानै शक्ति संरचनासँग सम्झौता गरियो भने त्यो परिवर्तन होइन, निरन्तरता मात्र हुन्छ ।

हाल देखिएको युवापुस्ताको आन्दोलन कुनै क्षणिक आवेग वा मनोरञ्जन थिएन । त्यो बेरोजगारी, अवसरको अभाव, राजनीतिक ढोंग र भविष्यप्रतिको डरको गहिरो चेतावनी थियो । यही आन्दोलनबाट ऊर्जा पाएका नयाँ शक्ति असफल भए भने परिणाम गम्भीर हुन्छ । त्यो असफलता केवल राजनीतिक हुँदैन । परिवर्तनमै विश्वास गर्ने पुस्ता निराश हुन्छ । राज्य र लोकतान्त्रिक संस्थाप्रतिको भरोसा कमजोर हुन्छ । सामाजिक अस्थिरता र उग्र असन्तोषको खतरा बढ्छ । लोकतन्त्रलाई सन्तुलन चाहिन्छ । कसैले सत्ता समाल्छ । कसैले सत्तालाई नियाल्छ । कसैले नीति बनाउँछ । कसैले निडर रूपमा प्रश्न गर्छ । सबै सत्तामा जान्छन् भने प्रश्न गर्ने भूमिका निभाउने हराउँछन् । अभियानकारी राजनीतिको वास्तविक शक्ति निडर प्रश्न गर्ने क्षमतामा थियो । त्यो भूमिका हरायो भने लोकतन्त्र कमजोर हुन्छ ।
आजको चुनाव केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया होइन । यो नेपालको लोकतान्त्रिक भविष्यको दिशा तय गर्ने क्षण हो । नयाँ शक्ति र अभियानकारीले बुझ्नै पर्छ– सत्तामा पुगेपछि उनीहरू आन्दोलनकारी होइनन्, राज्यका उत्तरदायी प्रतिनिधि हुन् । अब परिवर्तनको कुरा भाषणले होइन, कामले प्रमाणित गर्नु पर्छ । यो अवसर पनि चुक्यो भने नेपालले एउटा चुनाव मात्र होइन, परिवर्तनमै विश्वास गर्ने पुस्ता गुमाउन सक्छ र त्यो क्षति कुनै पनि दल, कुनै पनि नेताले सजिलै पूर्ति गर्न सक्दैन । लोकतन्त्र चुनाव जितेर होइन, जनविश्वास जोगाएर जितिन्छ ।
– टिकेश भट्ट
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










