01/01/2026, 22:19:52
बिहिबार, पुष १७, २०८२

कांग्रेस, नेकपा र राप्रपाका प्रमुख नेताहरु कहाँ-कहाँबाट भए सिफारिस ?


काठमाडौँ, पुस १७ : कांग्रेस डडेलधुराले  प्रतिनिधिसभा निर्वाचनका लागि सभापति शेरबहादुर देउवाको नाम सर्वसम्मत एकल सिफारिस गरेको छ ।

जिल्ला सभापति भीमबहादुर साउदले पूर्वप्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस भएको जानकारी दिए । देउवा २०४८ सालदेखि डडेलधुराबाट लगातार निर्वाचन जित्दै आएका छन् र केही दिनअघि अन्तिम पटक निर्वाचन लड्ने चाहना गरेका छन् ।

त्यस्तै उनी बारा–३ बाट पनि सिफारिस भएका छन् । क्षेत्रीय सभापति प्रभात चौरसियाका अनुसार प्रत्यक्षतर्फ देउवासहित १० जनाको नाम केन्द्रमा पठाइएको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का  सुर्खेत-१ बाट सिफारिस भएका छन् । उपसभापति धनराज गुरुङलाई स्याङ्जाका १ र २ निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

कांग्रेस नेता शेखर कोइराला  मोरङ ६, बिमलेन्द्र निधि  धनुषा ३, पूर्वउपसभापति प्रकाशमान सिंह  काठमाडौं १ बाट सिफारिस भएका छन् ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई हालसम्म १० जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको छ । गत आम निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका उनी यसपटक उम्मेदवार हुने जिल्ला र क्षेत्र निश्चित भइसकेको छैन ।

गोरखा-२ बाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उठ्ने तयारी गरेपछि दाहाल चुनाव जित्ने क्षेत्रको खोजीमा छन् । कर्णालीको कालीकोट, बागमती प्रदेशका नुवाकोट–१, सिन्धुली–२, रामेछाप, मधेशको महोत्तरी–४, गण्डकीको गोरखा–१, लुम्बिनीको रोल्पा, रुकुमपूर्व र सुदूरपश्चिमको कैलाली–३ बाट प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् ।

कास्की क्षेत्र नम्बर ३ को बैठकले २१ फागुनको बैठकले दाहालको नाम सर्वसम्मत सिफारिस गरेको हो । उनको नाम एक नम्बरमा सिफारिस भएको हो । क्षेत्र नम्बर ३ दाहालको जन्मस्थल हो । उनी अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा जन्मिएर चितवन बसाइँ-सराइ सरेका हुन् । उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौं– १० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा सिराहा-५ बाट निर्वाचित भएका थिए भने काठमाडौं–१० मा पराजित भएका थिए ।

नेकपा नेताहरु वर्षमान पुन  रोल्पा, वामदेव गौतम  प्युठान र बर्दिया-१, नारायणकाजी श्रेष्ठ  सर्लाही-३, देव गुरुङ  लमजुङबाट सिफारिस भएका छन् ।

नेकपा प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरुको उम्मेदवारीबारे टुंगो नभएको बताए । ‘अध्यक्षलगायत वरिष्ठ नेताहरुको विभिन्न ठाउँबाट सिफारिस हुनु भएको छ । तर क्षेत्रको टुंगो लगाउने अझै समय बाँकी छ,’ उनले भने ।

नेकपाका सहसंयोजक माधवकुमार नेपाल आगामी प्रतिनिधिसा निर्वाचनका लागि रौतहट-१ बाट एकल र काठमाडौं-२ बाट सिफारिस भएका छन् ।

कांग्रेस महामन्त्री गगन थापा फागुन २१ गतेका प्रतिनिधिसभा निर्वाचनका लागि ६ स्थानबाट सिफारिस भएका छन् । थापाको नाम काठमाडौं–४, रोल्पा, धनकुटा, सर्लाही–४, तेह्रथुम र कपिलवस्तु–१ बाट प्रत्यक्षतर्फ सिफारिस भएको हो । तेह्रथुम र काठमाडौं–४ बाट उनी एकल उम्मेदवारको रूपमा सिफारिस भएका छन् भने बाँकी क्षेत्रहरूमा अन्य नेतासँग प्रतिस्पर्धा हुनेछ ।

थापा यसअघि ४ कार्यकाल प्रतिनिधिसभा सदस्य रहिसकेका छन् । उनी २०६४ सालमा समानुपातिक प्रणालीबाट संविधानसभामा सांसद बनेका थिए भने २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा सांसद बनेका थिए ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल दुई ठाउँबाट उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचनका लागि पौडेल काठमाडौं क्षेत्र नम्बर ५ र तनहुँ क्षेत्र नम्बर २ बाट सिफारिस भएका हुन् । २०७९ को चुनावमा पौडेल काठमाडौं-५ बाट निर्वाचित भएका थिए भने तनहुँ-२ बाट शंकर भण्डारी  निर्वाचित भएका थिए । केन्द्रीय सदस्य भण्डारी र पौडेलसहित ७ जनाको नाम सिफारिस भएको छ । काठमाडौं-५ मा पौडेलसहित ६ जनाको नाम सिफारिस भएको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको नाम बर्दिया–२ बाट पनि सिफारिस भएको छ । यो आरजुकी आमाले पनि निर्वाचन लड्दै आएको क्षेत्र हो । यसअघि आरजुको नाम कैलाली–५ बाट सिफारिसमा परेको थियो ।

त्यस्तै प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य प्रदीप पौडेल, रजनी थापा, भैरव सापकोटा, जनकराज श्रेष्ठ र सरिन घिमिरे शर्माको नाम सिफारिस भएको हो । प्रवक्ता महतको नाम नुवाकोट-१ बाट पनि सिफारिस भएको छ । महत नुवाकोट क्षेत्र नम्बर १ मा उम्मेदवार हुने तयारीमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन  झापा-३ बाट सिफारिस भएका छन् ।