12/20/2025, 15:38:57
शनिबार, पुष ०५, २०८२

‘परिवर्तन’ देखि ‘परान’ सम्मको यात्रा


दार्जिलिङमा उच्च माध्यमिक विद्यालयस्तरको अध्ययन गर्दै थिए उनी । विद्यालयमा भानुजयन्ती तथा अन्य अवसरमा कवितावाचन, नाटक तथा अन्य सिर्जनात्मक गतिविधिमा उनको दिलचस्पी छँदै थियो । त्यतिखेर दार्जिलिङको रौनक नै अर्कै थियो । साहित्य, गीतसङ्गीत तथा नाटक रङ्गमञ्चमा त्यतिखेर त्यो भूमि काठमाडौँसित सहजै प्रतिस्पर्धा गरिरहेको थियो । मनबहादुर मुखिया तथा प्रताप सुब्बाहरू रङ्गमञ्चमा जमिरहेका थिए भने इन्द्रबहादुर राई, ईश्वरबल्लभ र बैरागी काइँलाहरू साहित्यमा । उनी भर्खरै नेपालमा शाही नेपाल चलचित्र संस्थानको तेस्रो कथानक उत्पादन हीरासिंह खत्रीको निर्देशनमा चलचित्र परिवर्तनमा छोटो भूमिकामा देखिएका थिए । त्यसैको डबिङमा कलकत्ता गई फर्केर दार्जिलिङको आफ्नो पढाइलाई निरन्तरता दिँदै थिए । एकाएक एक दिन यासिका क्यामेरा बोकेर त्यतिखेरका जल्दाबल्दा रङ्गकर्मी प्रताप सुब्बा उनको कोठामा आए । यसपछि त उनको जीवनको गोरेटो नै पृथक् परिचयबाहक बन्न पुग्यो । उनी थिए नेपाली चलचित्रलाई आजको अवस्थामा ल्याउन युगान्तकारी कार्य गर्ने अभियन्ता नीर शाह

विसं २०१० मा पिता देवेन्द्रप्रताप र माता बोधकुमारीको सम्मिलनबाट ज्ञानेश्वर काठमाडौँमा जन्मिनुभएका नीर शाहको परिचय एउटा उत्कृष्ट अभिनेताका रूपमा त छँदै छ, एउटा अब्बल दर्जाका गीतकार, निर्देशक, निर्माता तथा सञ्चार उद्यमीका रूपमा पनि जीवन्त छ । परिवर्तनबाट उहाँको चलचित्र यात्राको उठान भयो । प्रताप सुब्बाको ‘पन्नीब्वाइ’ अर्थात् सइस केटोबाट यो क्षेत्रमा विशेष परिचय प्राप्त भयो । दार्जिलिङको चौरस्तामा घोडचढी गराई पर्यटकलाई डुलाएर जीवनयापन गर्ने एउटा युवकको जीवन्त चित्रण गरिएको पन्नीब्वाइपछि उहाँले यो क्षेत्रमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

प्रकाश थापाको पहिलो दोस्रो चलचित्र सिन्दूरमा उहाँले नयाँ आयाम थप्नुभयो भने तुलसी घिमिरेको कुसुमे रुमालबाट नयाँ परिचय । यस बिचमा शाही नेपाल चलचित्र संस्थानको बदलिँदो आकाश आइसकेको थियो भने उपन्यासकार ध्रुवचन्द्र गौतमको कट्टेल सरको चोटपटकमाथि वासुदेव बनेपछि नेपाली चलचित्रमा यथार्थवादको पक्षपोषण हुन गयो जसको पूर्ण निर्देशन गर्नुभयो नीर शाहले । नेपालको प्राज्ञिक क्षेत्रले सिनेमालाई फरक आँखाले हेर्न थालेको नै वासुदेवको निर्माणबाट होे । अभिनय यात्रासँगै उहाँ निर्देशन यात्रामा पच्चिस वसन्त, वसन्ती, मसान, सेतो बाघ र नेपाल भाषाको दोस्रो कथानक चलचित्र राजमति आदिसित जोडिन पुग्नुभयो । साहित्यिक कृतिमाथि चलचित्रको प्रारूप तयार पार्ने थोरै चलचित्रकर्मीमा शाहको नाम अगाडि आउँछ, जसले साहित्यिक कृतिको मूलमर्मलाई मर्न दिएको छैन ।

प्राध्यापक तथा चलचित्रविद् राजेन्द्र सुवेदीले शाहलाई चलचित्रलाई सौन्दर्य र व्यवसायको सबल रूप दिन सकिएमा यसको भविष्य उज्ज्वल देख्ने निर्देशक र कलाकार मान्नुभएको छ । सुवेदी लेख्छन्– उहाँको निर्देशनमा बनेका चलचित्रमा वासुदेव निकै लोकप्रिय बन्न पुगेको देखिन्छ । साहित्यिक कृतिमाथि अन्याय हुन नदिइकन अलग धारको विषयलाई केन्द्रमा ल्याउन प्रयत्न गर्ने निर्देशकका रूपमा शाहलाई लिने गरिन्छ । सुरुमा रङ्गकर्मबाट कलाक्षेत्रमा अवतरण गर्ने शाहको जस्तोसुकै भूमिकामाथि पनि न्याय गर्ने शैली र क्षमताले नेपाली सिनेमालाई आजको अवस्थामा ल्याउन पूरै बल प्रदान गरेको छ ।

नेपाली चलचित्रको अर्को एउटा गौरवको विषयको उठानविन्दु हो हिमालय अर्थात् क्याराभान वृत्तचित्रात्मक चलचित्रको निर्माण । फ्रान्सेली निर्माता एरिक भ्याली रहेको यसको नेपालका तर्फबाट सहनिर्माता पनि शाह नै हुनुहुन्छ । यो सिनेमामार्फत नेपाली सिनेमालाई एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्स अर्थात् ओस्कारको मनोनयनमा पार्न सफल भई विश्वमान चित्रमा प्रवेश गराउने पहिलो कर्मी पनि उहाँ नै हुनुहुन्छ । चलचित्रमा सत्पात्र र असत्पात्र दुवै चरित्रमा उत्तिकै जम्ने क्षमता रहेका शाहको युगान्तकारी चलचित्र बलिदानमा एसपी कर्णध्वज र ऐतिहासिक प्रेमपिण्डको एडविलको भूमिकालाई आजसम्म कसैले पनि बिर्सेका छैनन् । यो भए पनि शाह आफूले जिम्मेवारी निभाएका हरेक चरित्रलाई उत्तिकै महìव दिनुहुन्छ ।

लक्ष्मीनाथ शर्माको छोरी बुहारी चलचित्रको धर्मनाथ चरित्रलाई पनि उहाँले उच्च महìव दिनुभएको छ । बलिदानमा सत्ताको नियम कानुनलाई मान्ने कर्तव्य निभाउने र मानवीयताले ओतप्रोत एउटा प्रहरी अधिकृतको भूमिकालाई सार्थक शैलीमा निभाउने शाहमा अभिनय कलाको अद्भुत क्षमता छ । वरिष्ठ निर्देशक तुलसी घिमिरे शाहलाई नेपाली सिनेमाका प्रबल स्तम्भ मान्दै आफ्नो सिर्जना बलिदानको एसपी कर्णध्वजको चरित्रलाई आफ्नै सिनेयात्राको पनि सार्थक उपलब्धि मान्नुहुन्छ । त्यसो त हालै प्रदर्शनमा आएको चलचित्र परानले हरेक दर्शकमा परानको सञ्चार गरेको तथ्य आलै छ । पूर्णबहादुरको सारङ्गीको अपार सफलतालाई पछ्याएको परान उहाँको चरित्र आजको नेपाली जनजीवनको दुर्दान्त कथाको प्रतीक हुँदै हो ।

चरित्रको नाभीस्थलमै पुगेर अभिनय रस निकाल्ने अद्भुत सिर्जनाकार रहेका शाह हरेक शैलीको चरित्रसित सहजै भिज्न सक्नुहुन्छ । अनुशासन र मिलनसारिता शाहको चलचित्र जीवनको सुन्दर गहना हो भनी जो कोही निर्देशकले सहजै स्विकार्छन् । बलिदान, प्रेमपिण्ड, कुसुमे रुमाल, वासुदेव, साथी, परान आदिमा उहाँले गरेको चरित्र चित्रण आज पनि जीवन्त लाग्छ । मनको बाँध, सिन्दूर, बद्लिँदो आकाश, छोरी बुहारी, जीवन रेखा, अधिकार, किस्मत, छ एकान छ, नागबेली, फूल, सडक, किस्मत, सानो संसार, बक्सिस, जीवन साथी, नाता रगतको, मुनामदन, सपना, भाउजू, धर्म, जूनतारा, जालो, बादलपारि, सिउँदोको सिन्दूर आदि गरी तीन सयभन्दा बढी चलचित्रमा उहाँको अभिनय, निर्देशन तथा निर्माताको परिचय छरिएको छ । केही चलचित्रको पटकथा लेखनमा समेत उहाँको कलम चलेको पाइन्छ भने ऐतिहासिक चरित्रमाथि पूर्ण न्याय गर्न सक्ने क्षमता उहाँमा छ । अभिनय, निर्माण, निर्देशन, गीतलेखन तथा सञ्चार व्यवस्थापनका क्षेत्रमा सार्थक परिचय बनाउनुभएका शाह आफू भने एउटा कर्मशील कलाकारका रूपमा समाजले चिनोस् भन्ने चाहनुहुन्छ ।

नेपालमा टेलिभिजनको युग ल्याउने सफलकर्मी पनि हुनुहुन्छ नीर शाह । नेपाल टेलिभिजन परियोजनाका नामबाट विसं २०४२ मा त्यसको पहिलो महाप्रबन्धक बन्नुभएको थियो उहाँ । राजा वीरेन्द्रको विराट चाहना र नीरको मेहनतबाट नेपालमा टेलिभिजन प्रसारण जन्मिन सकेको हो । हुन पनि हो नेपाल टेलिभिजनको स्थापनापछि त्यो संस्थाबाट थुप्रै अभिनयी कलाकार निस्किए जो आज पनि नेपाली चलचित्रमा सार्थक परिचयसहित उपस्थिति जनाइरहेका छन् । एक्लो कर्मचारी हुनुहुन्थ्यो उहाँ टेलिभिजनको स्थापना कालमा, मात्र साथ थियो निजामती सेवाबाट आएका एक जना लेखा समाल्ने कर्मचारी र सवारी चालक । यसरी नेपालमा टेलिभिजनको विकासका लागि देवदूत नै भएर आएका पात्र हुनुहुन्छ शाह ।

फिल्म एन्ड टेलिभिजन प्रोडक्सन म्यानेजमेन्ट विषयमा लन्डनमा अध्ययरत शाहलाई राजा वीरेन्द्रको पहलमा नेपालमा झिकाइ टेलिभिजन भित्र्याउन विशेष पहल भएको हो । विसं २०६१ मा उहाँले ज्ञानेश्वरमै नेसनल स्टुडियो रहेको स्थानमा नै कलेज अफ फिल्म स्टडी नामक शैक्षिक संस्थाको उठान पनि गर्नुभयो । स्थापनाको पहिलो चरणमा नेसनल स्कुल अफ फिल्म टे«निङका नाममा खुलेको यो संस्थालाई उहाँकै पहलमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन दिलाउन सकियो । चलचित्रका विविध विधा निर्देशन, अभिनय, छायाङ्कन, पटकथा तथा संवाद लेखन, ध्वनि, सम्पादन आदि विषयमा स्नातक तहसम्मको अध्ययन अध्यापन गराइने यो संस्थाले नेपालमा चलचित्रको सैद्धान्तिक अवधारणालाई मूर्तरूप दिन कोसेढुङ्गाको काम गरेको छ । तत्कालीन शाही नेपाल चलचित्र संस्थानको जिम्मेवारी पनि उनले समाल्नुभएको थियो, जहाँ माधवप्रसाद घिमिरे तथा बालकृष्ण समजस्ता हस्तीहरू पनि थिए । नेपाली चलचित्र उद्योगलाई चाहिने दक्ष जनशक्ति नेपालमै उत्पादन गर्न यो संस्थाले भारी सहयोग गरेको छ, जसको सोच र परिकल्पना नै शाहको थियो ।

चलचित्र क्षेत्रका सङ्घ संस्था चलचित्र कलाकार सङ्घ तथा चलचित्र निर्माता सङ्घ मात्र होइन चलचित्र क्षेत्रको सर्वोच्च नियमनकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्ष तथा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्राज्ञपरिषद्को सदस्यको भूमिकासमेत शाहले निर्वाह गरेको पाइन्छ । दमदार आवाज र बहुमुखी अभिनय प्रतिभाको क्षमता शैलीले शाहलाई नेपाली चलचित्रको टाकुरामा पु¥याएको छ । कुनै समय साङ्ग्रिला च्यानल तथा ‘न्यु सेन्चुरी पिक्चर्स’ प्रालि सित पनि जोडिनुभएका शाह श्रीमती उषा शाहका मायालु पति, छोरी आकाङ्क्षा शाह र छोरा आयुश शाहका कुशल पिता हुनुहुन्छ ।

बलिउडका केही र अन्य दक्षिण एसियाली चलचित्र महोत्सवमा निर्णायक समितिमा रही कार्य गरिसक्नुभएका शाह गीत लेखनका क्षेत्रमा छिन्नलता गीत पुरस्कार (२०६८) तथा चलचित्रका क्षेत्रमा निफ्टा फिल्म अवार्ड (२०६८) र राष्ट्रिय चलचित्र महोत्सवमा दीर्घसेवा सम्मान (२०७२) बाट सम्मानित हुनुहुन्छ । नेपाली चलचित्रका जनक भनिने हीरासिंह खत्रीको परिवर्तनमा काम गरेबापत प्राप्त भएको सात सय रुपियाँ उहाँलाई अझ पनि सम्झना छ । त्यति बेलाका चल्तापुर्जा पत्रकार नेपालभूषण न्यौपानेमार्फत निर्देशक हीरासिंहसित जोडिन पुग्नुभएका शाहले पहिलो पटक क्यामरा फेस गर्दा पहिलो टेकमा नै ओके भएको थियो । रोयल होटेलमा हीरासिंहका अगाडि संवाद बोल्दै ‘स्क्रिन टेस्ट’ दिनुभएका शाहको पहिलो क्यामरा फेस होटेल सोल्टीमा भएको थियो । यसबाट नै शाहको अभिनय क्षमताको आकलन गर्न सकिन्छ ।

जुम्ला र रुकुममा उहाँका पुर्खाहरू जन्मे र हुर्के बढे, काठमाडौँमा आएको पछिल्लो पुस्ताबाट उहाँ जन्मिनुभयो । काठमाडौँको विजय मेमोरियल स्कुलमा पढ्दैदेखि नै उहाँले स्कुले सहपाठी र छरछिमेकका बालबालिका जम्मा गरेर नाटक गर्न थाल्नुभएको थियो । सम्झना, स्मृतिको पर्खालभित्र तथा मुटुको व्यथा जस्ता नाटकहरू विद्यालयको जीवनमा नै गरिसक्नुभएका शाह रङ्गमञ्चमा समर्पित संस्था श्री समूहसित पनि कुनै बेला जोडिनुभएको थियो । रङ्गमञ्चको भोक उहाँलाई आज पनि लाग्छ भन्ने प्रमाण कुमार नगरकोटीको लेखन र घिमिरे युवराजको निर्देशनमा प्रस्तुत नाटक वाथटपको प्रस्तुतिमा उहाँको भूमिकाबाट पनि प्रस्ट हुन्छ ।

कुनै पनि चरित्रमाथि आफूलाई गहिरोसित समाहित गरेर अभिनय गरेपछि आफूलाई आफ्नो वास्तविक परिचय नै धूमिल हुने र अभिनित चरित्रको धङधङी लामो समयसम्म रहिरहने शाहको वास्तविकताबाट चरित्रमाथि उहाँ कुन हदसम्म न्याय गर्नुहुँदो रहेछ भन्ने स्पष्ट हुन्छ । दार्जिलिङको ‘सेन्ट जोसेफ कलेज’ मा अध्ययनताकाको प्रसङ्ग त यसअघि नै उल्लेख भइसकेको छ । १४ वर्षकै उमेरमा चलचित्रमा हाम फालेर आज यो अवस्थामा पुग्नुभयो शाह । यो अवस्थामा आउन आमाले अध्ययन गर्ने महाभारत तथा रामायणका चरित्रले अभिप्रेरित गरेको मान्नुहुन्छ उहाँ । अवचेतन मनबाट आफूमा साहित्य र गीतसङ्गीतप्रति प्रगाढ रुचि पैदा भएको अनुभव छ, जसलाई उहाँले आज चेतन मनबाट प्रयोग गरिरहनुभएको छ ।

नाटकलाई सिर्जनाको जननी र त्यही जननीबाट जन्मिएको सन्तानका रूपमा उहाँले चलचित्रलाई मान्नुभएको छ । पात्रात्मक व्यक्तित्व कलाकारमा प्रवेश गरिसकेपछि चरित्र जीवन्त बन्छ भन्ने मान्यता राख्नुहुन्छ शाह । आफूलाई चलचित्र र नाटकहरूमध्ये सर्वाधिक सन्तुष्टि नगरकोटीको वाथटपबाट मिलेको सम्झिँदै शाह ५४ वर्षको यात्रामा आफू एक खुड्किलो माथि उक्लेको ठान्नुहुन्छ । अपितु अभिनयकर्ममा उहाँ यो जुनीमा पूर्ण सन्तुष्ट हुनु असम्भव नै ठान्छन् । गहिराइमा डुब्दै नडुब, बादल बनाई देऊ आकार बदल्न सकूँ, छोरी मलाई भागी भागी नसताऊ, पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो, आँखामा कसैको तस्बिर बसेछ जस्ता अति कर्णप्रिय र कालजयी गीतका स्रष्टा शाह आफ्नो गीतकार व्यक्तित्वलाई चलचित्रकर्मी व्यक्तित्वले केही ओझेलमा परेको स्विकार्नुहुन्छ ।

दार्जिलिङको बसाइँमा अम्बर गुरुङ, गोपाल योञ्जन, शान्ति ठटाल, कर्म योञ्जन, अरूणा लामा, शरण प्रधान आदिको सङ्गतले केही न केही गरिरहुँ भन्ने ऊर्जा उहाँलाई प्राप्त भयो, जसले गर्दा उहाँलाई एउटा भावुक र मर्मस्पर्शी गीतकार बनायो । हुन सक्छ । यही गीतप्रतिको समर्पण भावले होला आफ्नो पहिलो निर्देशित चलचित्र वासुदेवमा महाकवि देवकोटाको कालजयी कविता यात्रीलाई समावेश गरेको । चलचित्रमा साहित्यलाई अन्तर्घुलन गराउने उहाँको विराट इतिहासलाई यसरी पनि बुझ्न सकिन्छ ।

नेपाल चलचित्र निर्देशक समाज आज २५ वर्षको लक्का जवान भएको छ, त्यो उहाँकै देन हो । हुन पनि निर्देशक भन्नु नै चलचित्रको मियो हो । जीवनको सातौँ दशकमा टेक्ने सँघारमा पनि उत्तिकै सक्रिय शाहको लगन र मेहनत आजको पुस्ताका लागि आदर्श विषय हो ।

– कमल सुवेदी