01/02/2026, 10:40:13
शुक्रबार, पुष १८, २०८२

राप्रपाको समानुपातिक सूचीः जुम्लामा चार जना उम्मेद्वार


सिँजा (जुम्ला), पुस १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक सूचीमा जुम्लाका चार जना उम्मेद्वार समावेश भएका छन् । राप्रपाले सार्वजनिक गरेको जुम्ला जिल्लाको प्रतिनिधिसभाको समानुपातिक सूचीमा दलित महिलातर्फ बिपना नेपाली (असी दरा), खसआर्य पुरुषतर्फ जयन्त महत (बजार क्षेत्र), खसआर्य महिलातर्फ कमला कुमारी बोहोरा (विष्ट) (चौधबीस दरा) र दलित पुरुषतर्फ बलबहादुर बस्याल (पानसय दरा) रहनुभएको छ ।

उक्त सूचीले दलित, महिला र खसआर्य समुदायबिच सन्तुलित प्रतिनिधित्व कायम गर्दै जुम्लाका विभिन्न भुगोल र वर्गको सहभागिता सुनिश्चित गरेको राप्रपाको दाबी छ । लामो समयदेखि राज्यका निर्णयकारी तहमा न्युन प्रतिनिधित्व भोग्दै आएको दलित समुदायका लागि यो अवसर आशा, भरोसा र राजनीतिक सशक्तीकरणको प्रतिक बनेको स्थानीयको भनाइ छ ।

समानुपातिक निर्वाचन प्रणालीको मर्म अनुसार गरिएको यस छनोटले लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने र जुम्लाको विविध सामाजिक संरचना तथा समुदायको आवाज सङ्घीय संसदसम्म पु¥याउने अपेक्षा गरिएको छ । स्थानीय तहमा समेत यस निर्णयलाई सकारात्मक रूपमा लिइएको छ ।

समावेशिता, समान अधिकार र सामाजिक न्यायलाई व्यवहारमा उतार्ने दिशामा यो कदमले जुम्लामा सकारात्मक राजनीतिक सन्देश प्रवाह गरेको पार्टीले जनाएको छ । प्रतिनिधि सभामा पुगेर जनताको आवाज सशक्त रूपमा उठाउने, हक–अधिकार र विकासका मुद्दालाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने अपेक्षासहित सूची सार्वजनिक गरिएको राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनु भएको छ ।

अन्य पार्टीले बेवास्ता गरेको बेला राप्रपाले जुम्लालाई न्याय गरेको विषयमा चर्चा चलेको छ । ठुला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र रास्वापाले जुम्लाबाट समानुपातिकमा उम्मेद्वार समावेश गरेका छैनन् ।

– नौरते नेपाली