चितवन, पुस २६ : नेपालमा सबैभन्दा धेरै बाघ र गैंडा चितवन निकुञ्ज र आसपासको जंगलमा पाइन्छन्। चितवनमा यति धेरै बाघ गैंडा किन भए? ५० वर्षअघि निकुञ्ज स्थापना भएका कारण यसो भए भन्ने हामीलाई लाग्छ। योबारे शनिबार चितवनको जनकौली मगरटोलमा भएको विमर्शमा अलि फरक कुरा आयो।
वातावरण ईतिहासबारे पढाउने अमेरिकी नागरिक टम रबटसनले उक्त कार्यक्रममा भने ‘चितवनमा थारू थिए, थारूकै कारण यहाँ बाघ, गैंडा भएका हुन् ।‘
थारू समाज, संस्कृति र साहित्य कार्यशालामा प्रमुख वक्ता टमले थपे ‘घाँसे मैदान भएमा मात्र बाघ गैंडा हुन्छ। गैंडा घाँसमा चर्छ । घाँसमा चर्ने चित्तल, जरायो बाघले खान्छ। त्यसैले घाँसे मैदान भएर नै यहाँ बाघ गैंडा भएका हुन् ।‘ उनले घाँसे मैदान थारू समुदायका कारण जोगिएको बताए।
विगतमा वन क्षेत्रमा बेलाबेलामा आगो लगाएर थारूहरूले घाँसे मैदान बनाएको टमले बताए। यसो नगरेको भए वनले सबै ढाक्ने उनको भनाइ छ। साना ठूला रूख, बुट्यान र झाडी भएको वनले ढाकेपछि घाँसे मैदान हराउने र घाँसे मैदान नभएको भए बाघ, गैंडा नै नहुने टमले बताए। तर यो तथ्य र ईतिहास मेटाउने काम भएकोमा उनले दुख व्यक्त गरे ।
उनले अमेरिकी सरकारको सहयोगमा मलेरिया उन्मुलन गर्दै राप्तीदून परियोजना मार्फत चितवनमा गरेको बस्ती विकासले थारू समुदायमा पारेको प्रभावका बारेमा पनि आफ्नो चासो रहेको बताए । ‘यो नेपालमा अमेरिकाले गरेको ठूलो सहयोगको परियोजना थियो। यस बारेमा अमेरिका र नेपालको तयारी र दृष्टिकोण के थियो त्यो कागजहरूमा भेटिन्छ तर थारू समाजलाई के प्रभाव पर्यो त्यसका बारेमा समाजमै गएर ७० कटेका पाका व्यक्तिहरूलाई भेट्ने, कुरा गर्ने, प्रमाण खोज्ने काममा लागेको छु,’ टमले भने ।
विसं २०१३ सालमा सञ्चालन भएको राप्तीदून परियोजना कार्यान्वयन गर्दा अमेरिकाले काठमाडौंमा बस्ने र अंग्रेजी बुझ्नेहरूसँग सहयोग लिए पनि थारूसँग नबुझेको उनले बताए। उनको ठहर रहयो, ‘थारूको ईतिहास र संस्कृति नबुझेपछि राम्रो गर्न खोजे पनि राम्रो हुँदैन ।‘
मलेरिया उन्मुलन र राप्तीदून परियोजनाले व्यवस्थित बस्ती विकास गरेसँगै चितवनमा पहाडी भेगबाट बसाइँ सरेर आउने क्रम तीब्र भएको हो। त्यसअघि चितवनको मैदानी भेगमा मुख्य गरेर थारूका साथै दराई बोटे, कुमाल समुदायको बसोबास थियो। मलेरियाले दु:ख दिएका बेलामा पनि थारूहरू यही थिए। उनीहरूलाई पनि मलेरियाले छुने गरेको टमले बताए। तर पहाडी समुदायलाई जस्तो मलेरियाले थारूलाई सिकिस्त नबनाएको उनको भनाइ थियो।

भरतपुरको साहित्यिक संस्था कविडाँडा साहित्य समाजले आयोजना गरेको कार्यक्रममा टमलाई समाजका अध्यक्ष एलबी क्षेत्रीले सम्मान पनि गरे। उक्त कार्यक्रममा साहित्यकार निलम कार्की निहारिकाले समाजका फरक सामर्थ्य र संस्कृतिलाई समेटेर अगाडि बढे त्यो समाज बलियो हुने बताइन्। समुदायको संस्कृति साहित्यका लागि कलमको मसी र आत्मा भएको उनको भनाइ थियो ।
कार्यक्रममा थारू समाज, आदिम मूलदेखि आधुनिक पहिचानसम्म विषयक कार्यपत्र पेश गर्दै सञ्जय चौधरीले आदिवासीहरूसँग पहिला प्रशस्त भूमि र प्राकृतिक स्रोतहरूमा पहुँच भए पनि आधुनिक कालमा बनेका सरकारी नीति र ऐन कानुनले उनीहरूलाई यसबाट विमुख बनाएको बताए। थारू संस्कार संस्कृतिमा अन्य समुदायको प्रभाव बढ्दै गएर अहिले यी विषय सङ्ग्रहालयमा राख्ने तत्वहरू बन्दै गएको चौधरीले सुनाए।
अर्का कार्यपत्र प्रस्तोता कृष्णराज सर्वहारीले थारू जीवन शैली, समाज र सस्कृति विषयमा आफ्ना विचारहरू राखेका थिए। नेपालमा थारू समुदायको जनसंख्या १८ लाखभन्दा बढी भए पनि नियमित निस्कने थारू भाषाको साहित्यिक पत्रिका एउटा मात्र भएको उनले बताए। आदिवासीको भाषा र साहित्यमा राज्यको लगानी नभएर ती फैलन नपाएको सर्वहारीको भनाइ छ ।
थारूहरूको विषय राजनैतिक मागका रूपमा धेरै आए पनि साहित्यमा त्यसको प्रतिविम्ब नभएको उनले बताए। ‘कम्तीमा विद्यालयको आधारभूत तहमा आदिवासी भाषामा पढाए त्यो समुदायको भाषा र संस्कृति फष्टाउँछ भन्ने लाग्छ,’ सर्वहारीले भने। दुई कार्यपत्रमाथि समिक्षक एकनारायण पौडेलले टिप्पणी गरेका थिए । कार्यक्रममा थारू साहित्यको उदीयमान परिदृश्य, लेखन, विषय वस्तु र प्रवृत्तिका बारेमा मोहन डङ्गौरा, कारी महतो, बबीता चौधरी र मणिराज महतोसँग उपप्रध्यापक चेतराज रेग्मीले बहस गरेका थिए ।
– रमेशकुमार पौडेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














