01/12/2026, 20:55:24
सोमबार, पुष २८, २०८२

टुँडीखेलमा दुई दिने थारू माघी महोत्सव आयोजना हुँदै


काठमाडौं, पुस २८ गते । थारू समुदायको नयाँ वर्ष माघ (माघी) २०८२ को अवसरमा काठमाडौंमा माघी महोत्सव हुनेभएको छ । महोत्सवको उदघाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुने आयोजक संस्थाका पदाधिकारीहरुको भनाइ छ ।

पुस ३० र माघ १ गते हुने महोत्सवमा थारू संस्कृतिको संरक्षण, प्रवर्धनसँगै थारू समुदायको माग मुद्दाबारे बहस हुने थारू राष्ट्रिय माघी महोत्सव २०८२ का संयोजक प्रेमीलाल चौधरीले बताउनुभयो । थारू कल्याणकारिणी सभा (थाकस) सहित विभिन्न २२ संघ संस्थाको संयुक्त आयोजनामा महोत्सव आयोजना हुन लागेको थाकसका अध्यक्षसमेत रहनुभएका चौधरीले बताउनुभयो ।

अध्यक्ष चौधरीका अनुसार थारू समुदायको निजामती कर्मचारीमा आरक्षण, टीकापुर घटनामा पक्राउ परेकाहरुको रिहाइ, संविधानले व्यवस्था गरेअनुसारको आदिबासीको क्लष्टरअनुसारको विशेष क्षेत्र, संरक्षित क्षेत्र, प्रदेशमा सिफारिस भएका थारू भाषाको सरकारी कामकाज, थारू समुदायको राजनीति, सांस्कृतिक तथा प्रथाजनित कानुनको अधिकारका विषयलाई महोत्सव मार्फत खवरदारी गरिने छ ।

थारू समुदायले उपत्यकामा बसोबास गर्नेहरुका लागि टुँडीखेलमा माघी महोत्सव मनाइने भए पनि तराईमा बसोबास गर्ने २६ जिल्ला, नगर तथा पालिकागरी संयौं स्थानमा माघी महोत्सव आयोजना हुन लागेको संयोजक चौधरीले बताउनुभयो ।

थारू समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव आयोजना गर्दैआएको छ । जनगणना २०७८ अनुसार थारू समुदायको जनसंख्या १८ लाख ८९ हजार ४२३ छ । महोत्सवको अवसरमा २९ गते काठमाडौंमा मोटरसाइकल रैली प्रदर्शन गर्ने, ३० गते जिता (मासु) मार्ने, माघ १ गते वसन्तपुरदेखि झाँकी प्रदर्शन गर्दै टुँडीखेलमा जाने तालिका रहेको महोत्सवका सदस्यसचिव सत्यनारायण चौधरीले बताउनुभयो ।

काठमाडौं उपत्यकामा करिब २ लाख थारू समुदायको बसोबास भएकाले टुँडीखेलको मैदान पनि माघी महोत्सवका लागि साँगुरो हुनेगरेको चौधरीको भनाइ छ । महोत्सव आयोजना गर्न करिब पन्ध्रदेखि बीस लाख रुपियाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

माघी पर्वलाई ठाउँअनुसार थारूहरुले माघ, माघी, तिला संक्राइत, खिचरा, खिचरीको नामले मनाउने गर्छन् । माघी पर्वमा थारू समुदायले विशेष परिकार खाने गर्छन् । विशेष परिकारमा सुंगुर बंगुरको मासु, अनडीको भात, ढिक्री, खिचरी भात, तिलको लड्डु, लाइमुरी, भुजा, अनडी जाँरको झोल, केराको तरुवा, सखरखण्ड, सिध्रा, खँरिया, परेवाको मासु, घोङ्घी, गंगटा, सिन्की, वयरको चटनी, बरिया, तेलपौर रोटी, झझ्रा रोटी लगायत छन् ।

महोत्सवमा १०० वटा स्टल रहने मूल आयोजक समितिका संयोजक चौधरीले बताउनुभयो । महोत्सवमा थारू नृत्य, सांस्कृतिक कार्यक्रमसहित थारू हस्तकलाका सामग्री प्रदर्शन गरिने उहाँको भनाइ छ । थारू समुदायले यस वर्ष २६४९ सम्बतअनुसार माघी पर्व मनाउँदैछन् । आयोजकले माघी महोत्सवबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..