तेहरान, पुस २८ : चर्को मूल्यवृद्धिको विरोधमा गत दुई सातादेखि सडक प्रदर्शन जारी राखेका इरानी जनताविरुद्ध सरकार निर्मम दमनमा उत्रिएको छ । गत बिहीबारदेखि देशभरका इन्टरनेट तथा टेलिफोन सेवा बन्द गर्नुका साथै इरानी सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इन्टरनेटको अनुगमन गर्ने पर्यवेक्षक संस्था ‘नेटब्लक्स’का अनुसार राष्ट्रियस्तरमा केवल १ प्रतिशत मात्र इन्टरनेट कनेक्टिभिटीको अवस्था छ । बिहीबारसम्म आन्दोलनका भिडियो सामाजिक सञ्जालमा छरपस्ट थिए । तर, सरकारले इन्टरनेट र टेलिफोन सेवासमेत बन्द गरिदिएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सीमित सूचना मात्रै प्राप्त गर्न सकेका छन् ।
अमेरिकी सञ्चामाध्यम ‘टाइम’का अनुसार तेहरानका अस्पतालहरू मृतक तथा घाइतेले भरिएका छन् । शनिबार एक चिकित्सकलाई उद्धृत गर्दै टाइमले सडक प्रदर्शनका क्रममा कम्तीमा २ सय १७ जनाको मृत्यु भइसकेको जनाएको थियो । एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइटस् वाचले पर्याप्त सूचना अभावमा मृतकको संख्या बिहीबारदेखि अपडेट गर्न नसकेको उल्लेख गरेका छन् ।
तेहरानको हेरामी दरबारमा हजारौं सर्वसाधारणले आइतबार इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनाईको विरोधमा प्रदर्शन गरेको न्युयोर्क टाइम्सले जनाएको छ । मूल्यवृद्धिको विरोधमा २८ डिसेम्बरदेखि सुरु भएको आन्दोलनमा पछिल्ला दिनहरूमा सत्ता परिवर्तन मूल मुद्दा बनेको छ । प्रदर्शनकारीले स्वतन्त्रताको पक्षमा ‘तानाशाहको अन्त्य’ हुनुपर्ने भन्दै नारा लगाइरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि भएको चर्को दमनको विरोध गर्दै आएका छन् । अमेरिकी अधिकारीहरूले इरानमा सैन्य हस्तक्षेपको सम्भाव्यताबारे विभिन्न विकल्पमा ट्रम्पलाई सुझाव दिइरहेको न्युयोर्क टाइम्सले जनाएको छ । ट्रम्पले अन्तिम निर्णय भने लिइसकेका छैनन् । ‘तर अधिकारीहरूका अनुसार ट्रम्प आन्दोलनमा दमन गर्ने इरानी सत्तामाथि आक्रमण गर्ने विषयमा गम्भीर रूपमा सोचिरहेका छन्,’ न्युयोर्क टाइम्समा उल्लेख छ ।
ती अधिकारीहरूले ट्रम्पसामु विभिन्न विकल्प पेस गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत पनि इरानको सत्तालाई प्रदर्शनकारीमाथि दमन नगर्न चेतावनी दिँदै आएका छन् । ‘इरानले स्वतन्त्रता खोजिरहेछ । यस्तो सशक्त ढंगले सायद यसअघि कहिल्यै खोजेको थिएनन् । अमेरिका उनीहरूलाई सहयोगका लागि तयार छ,’ ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् ।
ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिपछि इरानका सर्वोच्च नेता खामेनाईले सरकारले घुँडा नटेक्ने अभिव्यक्ति दिइसकेका छन् । इरानले अमेरिका र इजरायललाई आन्दोलनमा हस्तक्षेपको प्रयास नगर्न चेतावनी दिएको छ । कुनै हस्तक्षेप भएमा त्यसको जवाफ स्वरूप इजरायल र अमेरिकाका सैन्य अखडामा आक्रमण गर्ने चेतावनी नै दिएको छ ।
ट्रम्पले इरानको आन्दोलनमा सहयोग गर्न अमेरिका तयार रहेको अभिव्यक्ति दिएपछि इरान थप रुष्ट भएको हो । इरानका सभामुख मोहम्मद बाकेर क्वालिबाफले संसद्मा बोल्दै आइतबार यस्तो चेतावनी दिएका हुन् । ‘स्पष्ट हुनुस्, इरानमाथि आक्रमण भएमा कब्जा गरिएका इलाका (इजरायल) तथा अमेरिकी सैन्य अखडा र जहाजमाथि हाम्रो निसाना हुनेछ,’ इरानको रिभोलुसनरी गार्डस्का पूर्वकमान्डरसमेत रहेका क्वालिबाफले भने ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले इजरायलको सुरक्षा परामर्शमा उपस्थित भएका तीन जना अधिकारीसँग कुराकानी गरेको छ । उनीहरूले इजरायल हाई–अलर्टमा राखेको बताएका छन् । तर, यसबारेमा थप स्पष्ट पारिएको छैन । इजरायली सरकारका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे । गत जुनमा १२ दिनसम्म इजरायल र इरानबीच युद्ध चलेको थियो । त्यसबेला इजरायलले अमेरिकाको सहयोग लिएर इरानमाथि हवाई हमला गरेको थियो । जवाफमा इरानले पनि कतारमा रहेका अमेरिकी हवाई अखडामा हमला गरेको थियो ।
इरान सरकारले इन्टरनेट बन्द गरेर दमनमा उत्रिएपछि त्यसको प्रतिरोधमा प्रदर्शनकारीले बिहीबारदेखि रातमा समेत सडक संघर्ष जारी राखेका छन् । इरानको सरकारी सञ्चारमाध्यमले आन्दोलनमा दर्जनौं सुरक्षाकर्मी मारिएको जनाएको छ । आइतबार इस्फाहान प्रान्तमा भएको झडपका क्रममा ३० जना सुरक्षाकर्मी मारिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
आइतबारै इरानको तास्मिन न्युज एजेन्सीले आन्दोलन सुरु भएयताको दुई सातामा १ सय ९ जना सुरक्षाकर्मीको मृत्यु भएको जनाएको छ । ‘अवस्था निकै चिन्ताजनक छ । सत्ताले आफ्नो अस्तित्वलाई जनजीवनको मूल्यभन्दा पनि माथि राखेको छ,’ इरान ह्युमन राइट्स सेन्टरका निर्देशक महमोद अमिरी–मोग्हादमले भने ।
मोग्हादमले आफूलाई चिकित्सकहरूबाट इरानी अस्पतालका आकस्मिक कक्षमा रगतको अभाव भएको सूचना प्राप्त भएको बताए । त्यस्तै, गम्भीर चोट र गोली लागेकाहरूले अस्पताल भरिएको बताए । तेहरानका मेयर अलिरेजा जाकानीले सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा दंगाकारीहरूले मस्जिद, अस्पताल, बैंक, सुरक्षाकर्मीको मुख्यालयमा आक्रमण भएको दाबी गरेका छन् । उनले एम्बुलेन्स र दमकलसमेत निसानामा परेको आरोप लगाए । ‘हामी आगो निभाउन खोजिरहेका छौं र उनीहरूले हाम्रो दमकल र ट्रकमा आक्रमण गरिरहेका छन्,’ मेयर जाकानीले भने, ‘उनीहरू सहरमा अशान्ति फैलाउन र हाम्रा दुश्मनहरूलाई गलत तस्बिर देखाउन चाहन्छन् ।’
स्टारलिंक सेवा पनि जाम
इरानमा अवैध रूपमा केही व्यक्तिले स्टारलिंक सेवा प्रयोग गर्ने गरेका छन् । खर्बपति एलन मस्कको स्वामित्वमा रहेको यस कम्पनीले अर्बिटिङ स्याटेलाइटको सञ्जालमार्फत मोबाइल ब्रोडब्यान्ड सेवा दिन्छ । इरानमा ठूलो संख्यामा सर्वसाधारणले अवैध रूपमा यसका रिसिभर राखेका छन् । तर, इरानी अधिकारीहरूले स्टारलिंकको टर्मिनललाई पनि अवरोध गरेको हुन सक्ने विज्ञहरूले बताएका छन् ।
केन्टिक कम्पनीका इन्टरनेट विज्ञ डोग मादोरीले इरान सरकारले स्टारलिंक सिग्नललाई अवरोध गर्ने प्रयास गरेको हुन सक्ने बताए । ‘इरानमा केही स्टारलिंक प्रयोगकर्ताहरूले ठूलो मात्रामा ‘प्याक लस’ अनुभव गरिरहेका छन् । जसले उनीहरूको सिग्नल जाम भएको संकेत गर्छ,’ मादोरीले भने ।
इरानमा इन्टरनेट बन्द भएको यो पहिलो पटक भने होइन । यसअघि २०१९ र २०२२ को आन्दोलनताका पनि इन्टरनेट बन्द गरिएको थियो । २०२२ मा महसा अमिनीको मृत्युको विरोधमा फैलिएको हिजाबविरोधी आन्दोलनलाई नियन्त्रणमा लिन इन्टरनेट बन्द गरिएको भए पनि स्टारलिंक प्रयोगकर्ताहरूले इस्लामिक गणतन्त्रभित्रको अवस्थालाई बाहिरी विश्वसामु उजागर गरेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















