काठमाडौँ, पुस २७ : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या २ हजार ६६२ पुगेको छ । यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो । गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षर थियो ।
आइतबार विशेष महाधिवेशन उद्घाटनका दिन यो संख्या २ प्रतिशत बढेको छ । दोस्रो विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोख्रेलका अनुसार महाधिवेशन प्रतिनिधिहरुको संख्या बन्दसत्र सुरु हुनु अघिसम्म बढ्न सक्ने छ ।

सचिवालयका अनुसार सोमबार बिहान ८ बजेदेखि नै महाधिवेशन प्रतिनिधि दर्ता प्रक्रिया पुन: सुरु हुने छ । आइतबार दर्ता भएकामध्ये मधेश प्रदेशबाट सबभन्दा बढी ४ सय ४६ जना प्रतिनिधिहरु सहभागी छन् । त्यसपछि बागमतीबाट ४ सय ३२, कोशीबाट ४२५, लुम्बिनीबाट ३९८, गण्डकीबाट २९६, उपत्यकाबाट १७८, सुदूरपश्चिमबाट १५८, कर्णालीबाट १३४ प्रतिनिधि सहभागी छन् भने भ्रातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको जम्मा महाधिवेशन प्रतिनिधि संख्या ४ हजार ७४३ रहेको छ ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!










