काठमाडौँ, पुस २७ : कांग्रेसको विशेष महाधिवेशनले नेपालको राजनीतिमा सकारात्मक प्रभाव पार्ने अन्य दलका नेताहरुले बताएका छन् ।
कांग्रेस संस्थापनविरुद्ध ‘विद्रोह‘ गरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सुरु भएको विशेष महाधिवेशनले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिने उनीहरुको भनाइ छ ।

संस्थापन पक्षको अनुपस्थितिबीच गगन विश्वको आहृवानमा भएको विशेष महाधिवेशनलाई राजनीतिक दलका नेताहरुले पार्टी पुनर्गठनको नवीन प्रयोग भनेका छन् । पार्टीको मुख्य नेतृत्वले रुपान्तरण हुन नचाहँदा-नचाहँदै पनि युवापुस्ताको विद्रोहले पार्टीभित्र र अरु दललाई रुपान्तरणका लागि दबाव सिर्जना गरेको छ । गगन–विश्वको विद्रोहले कांग्रेसको रुपान्तरणमा बाटो खोलेकाले विशेष महाधिवेशनलाई सकारात्मक रुपमा लिएका छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेसको विशेष महाधिवेशनले विचार र नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने बताए । उनले ‘पुराना पार्टीमा वृद्धतन्त्र’ विरुद्ध महाधिवेशन गरी नेपाली राजनीतिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । ‘मैले यो महाधिवेशनललाई सकारात्मक ढंगले हेरेको छु । पुराना दलहरुमा वृद्धतन्त्र भएको थियो । अहिले कांग्रेसले तेस्रो पुस्ताले रुपान्तरणको प्रयत्न गरेको छ,’ उनले भने, ‘पार्टीमा विचारमा समयानुकूल विकास गर्नुपर्यो । महाधिवेशनले विचारमा रुपान्तरण र नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।’
सही विचार लिएर अघि बढ्नुलाई विभाजन भन्न नमिल्ने भन्दै उनले रुपान्तरणका लागि आवश्यक विद्रोहलाई सकारात्म्क रुपमा लिनुपर्ने बताए । ‘ठीक र बेठीकबीच लडाइँमा ठीक मुद्दा लिएर अघि बढ्नुलाई फुट भनिँदैन,’ उनले भने, ‘सत्ता स्वार्थका लागि झगडा गर्नु, विभाजित हुनु गलत हो । सही सिद्धान्तका आधारमा विद्रोह गरे पनि त्यसलाई राम्रो भन्नुपर्छ ।’

एमाले नेता सुरेन्द्र पाण्डेले कांग्रेसको विशेष महाधिवेशनले नेपालको राजनीतिमा नयाँ अध्याय थप्ने विश्वास गरे । पार्टीमा माथिबाट नभई तलबाट पार्टी पुनर्गठनको थालनी हुनु नयाँ अध्यास भएको उनको भनाइ छ । ‘कांग्रेसमा विशेष महाधिवेशन जुन ढंगले अघि बढ्दैछ, यसले नेपालको राजनीतिक घटनामा महत्त्वपूर्ण अध्याय थप्ने छ,’ उनले भने, ‘पार्टी पुनर्गठन तलबाट हुन थालेको देखिएको छ । यो महत्त्वपूर्ण कदमको रुपमा हेर्छु ।’
महाधिवेशन प्रतिनिधिको भावनाअनुसार विशेष महाधिवेशनबाट कांग्रेस अघि बढ्यो भने यसले कांग्रेसको नीतिमा समेत प्रभाव पार्ने बताए । ‘महाधिवेशनले नेता बहुमतले छान्यो, आयोग र अदालतले मान्यता दियो भने यसले लिने नीतिमा धेरै प्रभाव पार्ने देखिन्छ,’ उनले थपे ।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले भने कांग्रेस विभाजनको अवस्थामा जानु उचित नभएको उल्लेख गर्दै जिम्मेवारीपूर्वक निकास निकाल्नु पर्ने बताए । ‘नेपालको राजनीतिक अवस्था संकटमा परेको बेला ठूला दलहरुमा विवाद आउनु राम्रो होइन, आन्तरिक रुपले हल गरेको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘जिम्मेवारीपूर्वक हल गरोस् ।’ राष्ट्रिय राजनीतिलाई नकारात्म्क प्रभाव नपार्ने गरी कांग्रेसको विवाद हल हुनुपर्ने उनको भनाइ छ ।

एमाले अर्का नेता बिन्दा पाण्डेले गगन–विश्वको विद्रोहलाई सलाम गर्नुपर्ने बताइन् । ‘कांग्रेसका युवाहरुलाई सलाम छ । कांग्रेसका प्रतिनिधिहरुले चिसो सिरेटोलाई जितेर दम्भ र अहंकारी नेतृत्वविरुद्ध शंखघोष गरे,’ उनले भनिन्, ‘अरु दल पनि समय सँगसँगै बदलिनुपर्छ भन्ने सन्देश हो । यसले नेपालको राजनीतिक सकारात्मक सन्देश प्रभाव पार्ने छ। ’
उनले ‘मूल्य र मान्यताको राजनीति पदभन्दा गह्रुंगो’ भएको सन्देश दिएको बताइन् । नेतृत्व हस्तान्तरण हुन नसक्दा हरेक दस वर्षमा राजनीतिक संकट आएको उनको भनाइ छ ।
‘हरेक दस वर्षमा नेतृत्व हस्तान्तरण स्वीकार गर्न नसक्दा राजनीतिक व्यवस्था धरापमा हुने अवस्था हुँदै आएको छ । हरेक एक दसकले नयाँ नेतृत्वको माग गर्छ,’ उनले थपिन, ‘समय परिवर्तनसँगै नेतृत्वमा पुस्तान्तरण गरेनौं भने राजनीतिक संकट ब्यहोर्नुपर्ने जेन-जी आन्दोलनसम्म आइपुग्दा स्पष्ट भएको छ ।’

नेकपा नेता माधव सापकोटाले कांग्रेसमा युवाको विद्रोहलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । ‘साथीहरुले विशेष महाधिवेशन गर्न साहस गरेको देखियो । सकारात्मक पक्ष हो । सशक्त विद्रोह हो,’ उनले थपे ।
एमाले केन्द्रीय सदस्य निरज आचार्यले लोकतन्त्र संकटमा परेको बेला लोकतान्त्रिक दल कमजोर हुनु राम्रो नभएको बताए । ‘लोकतन्त्र संकटमा परेको बेला लोकतान्त्रिक पार्टी कमजोर हुनु हुँदैन,’ उनले भने, ‘आन्तरिक द्वन्द्वलाई कांग्रेसले व्यवस्थापन गरी सही निकास निकाल्नु उचित हुन्छ ।’
– गंगा बीसी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










