काठमाडौँ, पुस २७ : कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसभित्र कुनै ‘बा’ नभएको र त्यसले नबोल भन्दैमा बोल्न छोड्नुपर्ने कोही पनि नभएको बताएका छन्।
विशेष महाधिवेशनमा बोल्दै उनले भने, ‘कांग्रेस दास र लासहरुको पार्टी होइन। कांग्रेस जिउँदा मान्छेको पार्टी हो।’ उनले कांग्रेसमा कुनै प्रश्न नमरेको पनि बताए । उनले थपे, ‘जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजमा पनि प्रश्न गर्न सक्दैन।’
उनले पार्टीमा कोही मालिक र कोही दास नभएको भन्दै सबै बराबर भएको बताए। उनले भने, ‘तल बस्ने सदस्यलाई माथि बस्नेले निहुरिएर सलाम ठोक्नुपर्छ।’ उनले यो पार्टीभित्रको संघर्ष भएको पनि बताए।
उनले सत्ताको संघर्ष नभइ देश र जनतालाई बुझ्ने विषयमा मतभेद हुँदा पार्टीका केही सदस्य विशेष महाधिवेशनमा आएका र केही नआएको बताए। उनले कांग्रेसमा कुनै तह नभएको, सबैको हक भएको र तल्लो तहको सदस्यको सबैभन्दा बढी अधिकार भएको पनि बताए।
पार्टी ठीकठाक नचलेको, चुनाव एउटासँग मिलेर गर्ने र अर्कोसँग मिलेर सरकार बनाउने अनि सरकारबाट बाहिर बसेपछि सबै सकिएजस्तो गर्ने विषयमा पार्टीका सदस्यहरूले प्रश्न गरेको बताए। उनले महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने आफूलाई थाहा नभएको बताउँदै भने, ‘यो सदस्यहरूले मागेर भएको विशेष महाधिवेशन हो। सदस्यहरूले नीति पनि बदल्ने र नेतृत्व पनि बदल्ने माग गरेका छन्। यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन। त्यो भेलाले निर्णय गर्छ। मैले त्यसलाई मान्नुपर्छ।’
उनले पार्टीभित्रको सत्ताको संघर्ष नभइ मूल्य र मान्यताको संघर्ष भएको पनि बताएका छन्। उनले भदौ २३ र २४ गते जेन–जी मात्र नभई नेपालका धेरै नागरिकले सडकमा आएर आक्रोश र असन्तुष्टी व्यक्त गरेको बताए। उनले सरकार र संसदसँग नागरिकहरू रिसाएको बताए। उनले व्यक्तिसँग नभएर कुशासन र भ्रष्टाचार देखेर जनता रिसाएको र नेपो बेबीको शासन देखेर पनि जनता रिसाएको बताए। उनले भने, ‘त्यसलाई बुझ्ने र सम्बोधन गर्ने कुरा हो। त्यसैका लागि विशेष महाधिवेशन गरिएको हो।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










