01/12/2026, 01:26:31
आइतबार, पुष २७, २०८२

“हामी कांग्रेसलाई नयाँ पुस्तालाई भविष्य दिने पार्टी बनाउन चाहन्छौँ”

कांग्रेस चुनावका लागि बनेको पार्टी हैन । कांग्रेस राष्ट्रिय शक्ति हो । राष्ट्रिय शक्ति र राष्ट्रिय पार्टीमा भिन्नता छ


काठमाडौँ, पुस २७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुले कांग्रेसलाई अबको नयाँ पुस्तालाई भविष्य दिने पार्टी बनाउन चाहेको बताएका छन् ।

आइतबार भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री थापाले कांग्रेस चुनावबाट बनेको पार्टी नभएको बताउँदै कांग्रेस राष्ट्रि शक्ति भएको बताए ।

कांग्रेस चुनावका लागि बनेको पार्टी हैन । कांग्रेस राष्ट्रिय शक्ति हो । राष्ट्रिय शक्ति र राष्ट्रिय पार्टीमा भिन्नता छ,’  उनले भने, ‘राष्ट्रिय पार्टी चुनावले निर्धारण गर्छ । कति भोट ल्यायो । कति मत आयो । राष्ट्रिय शक्ति जिम्मेवारीले निर्वाह गर्छ । कांग्रेस राष्ट्रिय शक्ति हो । समाजमा जे समस्या हुन्छ त्यसलाई छाम्ने, चिन्ने, पर्गेल्ने जिम्मा राष्ट्रिय शक्तिको हुन्छ ।

महामन्त्री थापाले ७ साल, ४६ सालदेखि २०६३ सालका आन्दोलनको प्रसंग निकाल्दै त्यसबेलाको पुस्तालाई अधिकार दिने कांग्रेस भएको र अबको नयाँ पुस्ताको भविष्य पनि कांग्रेस भएको बताए ।

हामी त्यही कांग्रेस हो जसले अँध्यारोबाट उज्यालोतर्फ लिएर गयो ७ सालमा । हामी त्यही कांग्रेसले २०४६ सालमा त्यत्रो परिवर्तन ल्यायो । यो त्यही कांग्रेस हो २०६३ मा हिंसाबाट देशलाई बाहिर निकाल्यो,’  उनले भने, ‘तर विगतको दिन गनेर हुँदैन । हामी भन्न चाहन्छौँ नौजवानहरुलाई यो त्यही कांग्रेस हो । जसले तिम्रो बा र आमालाई अधिकार दियो तर अब यो त्यही कांग्रेस हो जसले तिमीलाई पनि भविष्य दिन्छ भनेर भन्ने कांग्रेस हामी बनाउन चाहन्छौँ ।