01/12/2026, 11:29:40
सोमबार, पुष २८, २०८२

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र कसरी सुरु हुन्छ ?


काठमाडौँ, पुस २८ : कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजे सुरु हुने भएको छ । बन्दसत्र सुरु हुनासाथ के–के गर्ने, के–के नगर्ने  भन्नेबारे कार्यविधि बनाउने तयारी छ ।

विशेष महाधिवेशनपक्षर नेता गुरुराज घिमिरेका अनुसार पार्टीका निर्वाचन समिति सदस्य राजु कट्टेल  नेतृत्वको समूहलाई बन्दसत्रको कार्यविधिको मस्यौदा बनाउने जिम्मा दिइएको छ । कार्यविधिको मस्यौदा नेता नारायण भट्टराईले बन्दसत्रमा वाचन गर्नेछन् । त्यसलाई पारित गरेर बन्दसत्र अघि बढ्नेछ ।

बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन् । महामन्त्रीद्वय थापा र शर्माले सांगठनिक र राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसपछि खाना खाने समयका लागि ‘ब्रेक’ हुनेछ । खानापछि पार्टीको नीति र संरचनागत सुधारका मुद्दामा समूहगत छलफल हुनेछ । प्रदेशस्तरीय सात समूह र विदेशस्थित जनसम्पर्क समिति तथा भ्रातृसंस्थाको समेत गरेर ८ समूह बनाएर छलफल हुनेछ । छलफल निष्कर्षसहित सोमबार बेलुकासम्म सक्ने योजना छ ।

घिमिरेका अनुसार नेतृत्व चयनको विषयमा हलको सुझावअनुसार अघि बढ्ने योजना छ । मंगलबारसम्म हल ‘बुक’ गरिएको छ । ‘नेतृत्वका विषयमा सोमबार बेलुकासम्म एउटा टुंगोमा पुग्छौं । खासगरी संस्थापन पक्षको रवैया के हुन्छ, त्यसका आधारमा नेतृत्व चयन अघि बढ्छ,’ घिमिरेले भने, ‘केन्द्रीय कार्यसमितिले स्वामित्व लिने गरी अघि बढे एउटा स्थिति हुन सक्छ, नत्र प्रतिनिधिहरू नयाँ नेतृत्व नछानी घर फर्कने मुडमा देखिँदैनन् ।

बन्दसत्रमा विधान संशोधनका लागि समिति बनाउने तयारीसमेत छ । तर विधानमै संशोधन गर्ने वा पछि गर्ने गरी संकल्प प्रस्ताव पारित गर्ने भन्नेबारेमा छलफल जारी नै रहेको प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए ।