काठमाडौँ, पुस २८ : भारत र श्रीलंकामा हुने आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु हुन एक महिनाभन्दा कम समय बाँकी रहँदा एउटा तथ्य भने अझै निश्चित हुन सकेको छैन । के यो विश्वकपमा बंगलादेशले सहभागिता जनाउने छ त ? बंगलादेश प्रतियोगिताको नेपालसम्मिलित समूहमै रहेको हुनाले पनि यसतर्फ चासो बढेको हो । समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटाली पनि रहेका छन् ।
बंगलादेश सहभागी नहुने स्थितिमा बाँकी चार टिममध्ये दुईले ‘सुपर एट’ यात्रा तय गर्नेछ । यसले पनि समूहको लिग चरणका खेल थप रोमाञ्चक मात्र हुने छैनन् । ती फरक पनि हुनेछन् । ‘सुपर एट’ प्रवेशका लागि सिधा सिधा दुई टेस्ट टिम नै बलियो प्रत्याशी रहनेछ, तर नेपालसँगै दुई एसोसिएट देशसामु एक अप्रत्यासित नतिजासँगै नकआउट चरणको सम्भावना पनि बढ्ने छ ।
पछिल्लो घटनाक्रमअनुसार बंगलादेशी मिडियालाई आधार मान्ने हो भने सम्भवतः बंगलादेशको सहभागिता अनिश्चित छ । यसले पूरा देशकै क्रिकेट अन्योलमा पुगेको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) बीचको तनावले यो स्थिति उत्पन्न गरेको हो । बीसीबीले फेरि दोहोर्याएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई आफ्नो खेल श्रीलंकामा सार्न अनुरोध गरेको छ ।
यसअघि पनि सुरक्षाको कारण देखाएर बीसीबीले यस्तै अनुरोध गरेको थियो, तर त्यसलाई आईसीसीले ठाडै अस्विकार गर्दै विश्वकपमा नउत्रिए त्यसलाई ‘वाकओभर’ मानिने भनेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइसकेको छ । यति बेला बीसीबी स्वयं दबाबमा किन आएको छ, आफ्नो टिमले प्रतियोगितामा सहभागी नजनाउने हो भने त्यसको ठूलो आर्थिक असर त्यहाँको समग्र क्रिकेटमै पर्न सक्नेछ । बंगलादेशी क्रिकेट नै धेरै हदसम्म आर्थिक रूपमा भारतमा निर्भर रहेको हुनाले पनि नाजुक स्थिति बनेको हो ।
बीसीसीआईको आदेशमा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकाता नाइट राइडर्सले मुस्ताफिजुर रहमानलाई अनुबन्धबाट हटाएको थियो । दुई छिमेकी देशबीचको सम्बन्ध चिसिएकै बेला यो निर्णय आएको हो । यसकै प्रतिक्रियामा बीसीबीले अबको विश्वकप खेल्न आफ्नो टिम भारत नजाने घोषणा गरेको थियो । यस्तै बंगलादेशी सरकारले पनि आईपीएलको प्रत्यक्ष प्रशारण बंगलादेशमा रोक्ने निर्णय गरेको थियो ।
बंगलादेशको अन्तरिम सरकार भारतसँग बिग्रेको सम्बन्धबीच आफ्नो क्रिकेट टिमलाई विश्वकप खेलाउन उता पठाउन अनिच्छुक देखिएको त्यहाँको मिडियाले लेखिरहेको छ । यसै कारणले पूरा बंगलादेशी क्रिकेट धराशायी हुन सक्ने आँकलन केही पुराना खेलाडीले गर्न थालेका छन् । पूर्व कप्तान तमिम इकवालले बंगलादेशी क्रिकेटको जति कमाउने गर्छ, त्यसमध्ये ९० देखि ९५ प्रतिशत आईसीसीबाट आउने बताइसकेका छन् ।
यस्तोमा तमिमको तर्क हो, अबको विश्वकपमा बंगलादेशले भाग नलिनु निकै महँगो हुन सक्छ । स्वयं बीसीबीले पनि के मानेको छ भने बोर्डको आयमध्ये ६० प्रतिशत योगदान भनेको आईसीसीकै हो । आईसीसीको आयको प्रमुख स्रोत फेरि भारत नै हो । अहिले तमिमको पनि बंगलादेशमा व्यापक आलोचना भइरहेको छ । तर्क दिइएको छ, यी पूर्वकप्तानले देशको भावना नै बुझ्न सकेनन् ।
पछिल्लो घटनाक्रमकै कारण बंगलादेशी ट्वान्टी–२० टिमका कप्तान लिट्टन दास र मुसफिकुर रहिमले भारतीय कम्पनीसँगको प्रायोजन सम्झौता गुमाइसकेका छन् । बंगलादेशका अधिकांश अन्तर्राष्ट्रिय खेलाडीको प्रायोजक भारतीय कप्तानी नै रहेका छन् । यस्तै अनुबन्ध गुम्ने क्रम बढ्ने अनुमान छ । त्यसैले बंगलादेशी क्रिकेटमाझ पनि आफूहरूलाई ठूलो आर्थिक घाटा हुने डर उत्पन्न भइसकेको छ ।
यसैबीच पाकिस्तानी क्रिकेट बोर्डले बंगलादेशका खेल आफ्नो देशमा गराउने प्रस्ताव पनि राखेको छ । सम्भवतः यो प्रस्ताव पनि आईसीसीलाई मान्य हुने छैन । आईसीसीको आयोजनामा हुने प्रतियोगितामा अहिलेसम्म जति पनि टिमले खेल्न अस्वीकार गरेको छ, त्यसमध्ये सबै घटनामा ती टिमलाई घाटा भएको छ । बंगलादेश साँच्चै भारत गएन भने उसका चारै खेल छाडेको मानिने छ । त्यसैले पनि पूरा घटनामा नेपाली क्रिकेटको नजर पनि त्यता परेको छ ।
– हिमेश
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















