01/11/2026, 21:28:36
आइतबार, पुष २७, २०८२

इंग्लिस एफए कपमा साबिक बिजेता क्रिस्टल प्यालेसलाई म्याकल्सफिल्डले हराउदै रच्यो इतिहास


२७ गते, पुष, काठमाडौं । इंग्लिस फुटबलमा तल्लो स्तरको खेल खेल्ने ‘म्याकल्सफिल्ड’ टोलीले बेलायतको प्रिमियर लिगको टोली ‘क्रिस्टल प्यालेस’लाई एफए कपको तेस्रो चरणमा हराएर इतिहास रचेको छ।

म्याकल्सफिल्ड र क्रिस्टल प्यालेसबीच खेलको स्तरमा ठूलो फरक थियो। म्याकल्सफिल्ड क्रिस्टल प्यालेसभन्दा ११७ स्थान तलको टोली हो।

फुटबल इतिहासमा यति ठूलो अन्तर भएको टोलीले माथिल्लो टोलीलाई हराएको यो नै पहिलो पटक हो। तर मैदानमा भने म्याकल्सफिल्डका खेलाडीहरू कत्ति पनि डराएनन्, उनीहरूले क्रिस्टल प्यालेसलाई बराबरीको टक्कर दिए।

खेलको पहिलो हाफमा म्याकल्सफिल्डका कप्तान पल डसनले हेडरमार्फत् सुन्दर गोल गरे। यो गोलपछि रंगशालामा भएका म्याकल्सफिल्डका समर्थकहरू खुसीले पागल झैँ भए।

दोस्रो हाफमा आइजेक बकले-रिकेट्सले अर्को गोल थपेपछि म्याकल्सफिल्ड २-० ले अगाडि बढ्यो। यसले क्रिस्टल प्यालेसका खेलाडी र समर्थकहरूलाई झट्का दियो। खेलको अन्तिम समयमा क्रिस्टल प्यालेसका ब्रेनन जोन्सनले फ्री-किकमार्फत एक गोल फर्काए। यसले खेलमा केही तनाव बढायो, तर म्याकल्सफिल्डले आफ्नो रक्षापंक्ति बलियो बनाउँदै ऐतिहासिक जित दर्ता गर्‍यो।

गत वर्ष मात्रै म्यानचेस्टर सिटी जस्तो ठूलो टोलीलाई हराएर ‘एफए कप’ जितेको क्रिस्टल प्यालेसका लागि यो हार निकै लज्जास्पद रह्यो। उनीहरूले पछिल्ला ९ खेलदेखि एउटै पनि जित निकाल्न सकेका छैनन्। उनीहरूले खेलमा बल त धेरै समय आफ्नो नियन्त्रणमा राखे, तर गोल गर्ने मौका भने बनाउन सकेनन्।

क्रिस्टल प्यालेसका प्रशिक्षक ओलिभर ग्लास्नरले खेल जिताउन आफ्ना अनुभवी र महँगा खेलाडीहरूलाई मैदान पठाएका थिए, तर म्याकल्सफिल्डका खेलाडीहरूको हिम्मत र दृढ अठोटका अगाडि उनीहरूको केही लागेन।