01/11/2026, 23:58:09
आइतबार, पुष २७, २०८२

निर्वाचन नलड्ने घोषणा गरेका बाबुराम भट्टराई गोरखाको दुवै क्षेत्रबाट सिफारिस


काठमाडौँ, पुस २७ : गोरखाको दुवै निर्वाचन क्षेत्रबाट प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले बाबुराम भट्टराईलाई उम्मेदवार सिफारिस गरेको छ ।

शनिबार बसेको प्रलोपाको जिल्ला समिति बैठकले पार्टीको संरक्षकसमेत रहेका भट्टराईलाई दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो । उम्मेदवार सिफारिसमा दुवै क्षेत्रबाट भट्टराईको नाम पहिलो नम्बरमा रहेको छ ।

क्षेत्र नम्बर १ बाट भट्टराईसहित शारदाप्रसाद धिताल, बाबुराम नेपाली, अर्जुन पन्त र साधुराम नेपालीको नाम सिफारिस भएको प्रलोपाका जिल्ला इन्चार्ज यानप्रसाद भट्टले बताए । त्यस्तै, क्षेत्र नम्बर २ बाट भट्टराईसहित बाबुराम श्रेष्ठ, परशुराम पोखरेल र सानु गुरुङको नाम सिफारिस गरिएको छ ।

गोरखाका दुईमध्ये एक क्षेत्रबाट चुनाव लड्न सहजताका लागि भट्टराईको नाम दुवै क्षेत्रबाट सिफारिस गरिएको भट्टले बताए ।

केही दिनअघि कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड‘मा बोल्दै भट्टराईले भनेका थिए, ‘अहिले नयाँ पुस्ताका रुपमा जेनजी आएको छ । उनीहरुलाई नै अगाडि सार्नुपर्छ भन्ने मेरो सुविचारित धारणा हो । म अब सक्रिय सत्ताको राजनीति गर्दिनँ । उम्मेदवारीमा त म नउठ्ने नै हो । निर्वाचनमा प्रत्यासी हुन्नँ ।

उनले चुनावमा नउठ्ने भने पनि जिल्ला र प्रदेशबाट निर्वाचन लड्नपर्छ भनेर आफूहरुले भनिरहेको भट्टको भनाइ छ । ‘उहाँसँग भिजन पनि छ, संसद्‍मा आफ्ना कुरा स्पष्ट राख्न सक्ने र संसद्कै अभिभावक पनि बन्न सक्नुहुन्छ भनेर चुनाव उ्ठ्न दबाब दिएका हौं,’ उनले भने ।

त्यस्तै, गोरखाबाट दिनेशबाबु जोशी, इन्दिरा बस्ताकोटी, महेश गुरुङ, नारायणी अधिकारी र लालबहादुर विक  समानुपातिक बन्दसूचीमा रहेको पनि भट्टले जानकारी दिए ।

– हरिराम उप्रेती