
काठमाडौँ, फागुन १३ गते । यो समाचार तयार पार्दासम्मको दिन हिसाब गर्दा अब मतदानका ८ दिनमात्र बाँकी छन् । आगामी बिहीबार निर्वाचनको मतदान हुदैछ र अहिले त्यसका लागि आफ्ना पक्षमा मतमाग्न देशैभरि उम्मेदवारहरु लागिपरेका छन् । यतिखेर जनताका घरघरमा पुगेका छन् उम्मेदवारहरु ।
तर यो हप्ता निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आफ्ना प्रचारका लागि सभा सम्मेलन गर्नका लागि दिएको समय हो । यदि आयोगको सायम तालिकाअनुसार राजनीतिक दलहरुले गरेको भए यतिखेर देशका विभिन्न भाग र क्षेत्रहरुमा आमसभा र प्रचार र्याली एवं राजनीतिक सभाहरु आयोजना भएका हुनेथिए ।
पहिलेका चुनावमा यतिबेला चुनावी सभाहरु हुने गर्दथे । देशका विभिन्न शहरमा विभिन्न राजनीतिक दलहरुले आफ्ना चुनावी सभाहरु गरिरहेका हुने थिए । उनीहरुले ती सभा मार्फत् आफ्ना कार्यक्रम, एजेन्डा र भावी कार्ययोजनाहरु प्रस्तुत गर्ने गर्दथे ।
ठूला ठूला आमसभा र जुलुश हुन्थे, कतिपय ठाउँमा झडप समेत हुन्थे । अनि कसको सभा कति ठूलो भन्ने जस्तो मापन पनि हुने गर्दथ्यो । तर अहिले भने देशमा चुनाव हो कि होइन जस्तो देखिन्छ किनभने राजनीतिक दलहरुका सभा, जुलुश, र्याली आदि केही छैनन् । यसो हेर्दा देशैभरि सुनसान जस्तै देखिएको छ ।
प्रचार प्रसारका लागि सभा र जुलुश गर्ने बेलामा अहिले उम्मेदबारहरु जनताका घरघरमा पुगेका छन् । घरदैलोको लागि आयोगले समय निर्धारण गरेकै थियो तर त्यो भन्दा अगावै उम्मेदबार जनताका घरघरमा पुगिसकेका थिए । अहिले पनि उनीहरु त्यतै छन्, दलका सभाहरु कतै छैनन् ।
त्यस्तै अवस्था छ चुनावी घोषणापत्रको पनि । संसदीय चुनावका बेला होस् या कुनै पनि पार्टीको महाधिवेशका बेला घोषणापत्रको धेरै ठूलो महत्व थियो । त्यस पार्टीको सबै कार्यक्रम र भावी कार्यदिशाहरु सबै घोषणापत्रमै समेटिएको हुने गर्दथ्यो ।
तर अहिले कुनै राजनीतिक दलले पनि त्यस प्रकारको सबै समेटिएको र जनतालाई आस्वस्त पार्नेखालको घोषणापत्र खासै कुनै पार्टीले पनि ल्याएको देखिएन । कसैले बाचापत्र त कसैले करारपत्र नाम गरेर ल्याए । शब्दमा नयाँपन दिने प्रयास गरेको भएपनि ती घोषणापत्रहरुप्रति कसैको पनि आकर्षण नै देखिएन ।
नत पहिले पहिले जस्तो दलका कार्यक्रम एवं घोषणा पत्र सुनेर या पढेर जनताले मत दिन पाए । उम्मेदबार त पुगेका छन् तर दलका कार्यक्रम र घोषणापत्रहरु भने जनताका घरसम्म पुग्न सकेका छैनन् ।
यसरी हेर्दा चुनाव एउटा औपचारिक कर्म जस्तो मात्र देखिएको छ । त्यो भन्दा पनि यो चुनाव राजनीतिक दलको या दलले अंगिकार गरेको नीति, कार्यक्रम एवं घोषणापत्रको भन्दा पनि व्यक्ति केन्द्रित हुन पुगेको छ ।
यसपालिको चुनावमा आफ्ना मतदाताहरुसँग उम्मेदबारले बाचा गरेका छन् । उनीहरु आफ्ना दलका भन्दा पनि आफ्ना एजेन्डा र कार्यक्रम लगेर जनताको घरदैलोमा पुगेका छन् । उनीहरुले आफ्ना मतदातासँग स्थानीय स्तरकै एजेन्डा अघि सारेका छन् र त्यहीँ बसेका छन्, मानौँ कि यो वडा अध्यक्षको निर्वाचन हो जस्तो गरेर ।
दलले के गर्ने हो र देश अहिलेको जस्तो ऐतिहासिक संवेदनशील परिस्थितिमा परेका बेला कुन राजनीतिक दलले के निकास र कार्यक्रम दिने हो भन्ने विषय यो संसदको निर्वाचनमा राष्ट्रियकरण हुन सकेको छैन । हो, अहिलेको अवस्थामा यस्ता एजेन्डा र कार्यक्रमले मान्यता र प्राथमिकता पाउनुपर्ने हो । पाउन सकेको छैन । किनभने यो चुनाव कुनै राष्ट्रिय तथा दलगत एजेन्डा बिहीन नभएर व्यक्ति केन्द्रित चुनाव हुन गएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















