01/11/2026, 23:58:15
आइतबार, पुष २७, २०८२

कांग्रेसभित्र कम्युनिस्टको गन्ध आयो : शुक्रराज शर्मा

हरेक ठाउँमा जाँदा, निर्वाचनमा होस् वा सरकारमा जाँदा, हामी कम्युनिस्ट नबोकी हिँड्न नसक्ने भएका छौँ । यो कांग्रेसका लागि शुभ संकेत होइन ।


काठमाडौँ, पुस २७ : कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले आफ्नो मौलिक सिद्धान्त र नीति बिर्सिएको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् ।

शनिबार काठमाडौँमा सुरु कांग्रेस विशेष महाधिवशेनमा बोल्दै नेता शर्माले कांग्रेसभित्र कम्युनिस्ट विचार हाबी हुँदै गएकामा चिन्ता व्यक्त गरे । ‘हामीले नेपाली कांग्रेसको नीति छोडेका छौँ र कम्युनिस्ट नीतिलाई भित्र्याएका छौँ,’ शर्माले आक्रोश पोखे, ‘त्यसैले हामी कमजोर भएका छौँ । अहिले हाम्रो बीचमा कम्युनिस्टको गन्ध आउन थालेको छ ।

पछिल्लो समय निर्वाचन र सरकार गठनका क्रममा भएका गठबन्धनप्रति लक्षित गर्दै उनले कांग्रेस एक्लै हिँड्न डराएको टिप्पणी गरे । उनले थपे, ‘हरेक ठाउँमा जाँदा, निर्वाचनमा होस् वा सरकारमा जाँदा, हामी कम्युनिस्ट नबोकी हिँड्न नसक्ने भएका छौँ । यो कांग्रेसका लागि शुभ संकेत होइन ।

सभापति शर्माले अबको विशेष महाधिवेशनले पार्टीलाई वैचारिक रूपमा शुद्धीकरण गर्नुपर्नेमा जोड दिए । ‘अब आउने विशेष महाधिवेशनले कम्युनिस्टमुक्त कांग्रेस बनाउनुपर्छ,’ उनले भने, ‘पार्टीलाई आफ्नै खुट्टामा उभिने र आफ्नै नीतिमा चल्ने बनाउनु अबको मुख्य चुनौती हो ।