01/11/2026, 19:36:25
आइतबार, पुष २७, २०८२

पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला


कास्की, पुस २७ गते। गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला आयोजना गर्न लागिएको हो ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आगामी माघ अन्तिम साता प्रदर्शनी आयोजना गर्दैछ । मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिनेछ ।

सो प्रदर्शनी प्रतिस्पर्धात्मक हुने र पहिलो हुनेले ४० हजार, द्वितीयले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जानकारी दिए ।

“प्रदर्शनीमा सहभागी हुन चाहनेले अनलाइन फाराम भर्नुपर्नेछ । तीमध्ये छानिएकालाई मेलामा सहभागी गराइने, आवेदकको उमेर ४० वर्ष ननाघेको, उद्योग÷व्यवसाय सञ्चालन गरेको १० वर्षभन्दा बढी नभएको तथा सरकारी कार्यालयमा दर्ता भएको एवं वार्षिक कारोबार १५ करोडभन्दा बढी नभएको हुनुपर्नेछ”, उनले भने ।

पोखराबाट सुरु गरिने यो प्रदर्शनी देशका सातवटै प्रदेशमा आयोजना गरिने छ भने अन्तिममा काठमाडौँमा हुने बृहत् प्रतिस्पर्धात्मक प्रदर्शनीमा समेत प्रदेशमा उत्कृष्ट रहेकालाई सामेल गरिने परिषद्ले जनाएको छ । प्रदर्शनीको तयारीको सन्दर्भमा युवा परिषद्ले पोखरामा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

कास्कीसहित स्याङ्जा, बागलुङ, तनहुँ र पर्वतका उद्योगी÷व्यवसायीको सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रममा उद्यमशीलता विकास विज्ञ इन्जिनियर रमेश सुवेदीले नवप्रवर्तनमार्फत रोजगारी सृजना र युवा पलायन रोक्नका लागि मेला आयोजना गरिएको बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले युवापुस्ताको पलायन रोकियोेस्, देशमै रोजगारी सृजना होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए । “गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उद्योगी÷व्यवसायीमाथि भएको आक्रमणका कारण निजी क्षेत्र हतोत्साही बनेको अवस्थामा यस्ता प्रदर्शनीले युवापुस्तालाई प्रोत्साहित गर्नेछ”, उनले भने ।

पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशीलता विकासका निम्ति पोखरा महानगरपालिकाले चालेका कदमबारे जानकारी दिँदै युवा परिषद्ले आयोजना गर्ने कार्यक्रमले नयाँ सोचको विकास गराउने बताए । युवा परिषद्का उपसचिव तारापति खरेलले निजी क्षेत्र र खासगरी युवालाई सृजनात्मक व्यवसायमा सामेल गराउन मेला आयोजना गर्न लागेको बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..