मुक्तिनाथ (मुस्ताङ), पुस २७ गते । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङको चराङ पासमा दुर्लभ वन्यजन्तु अध्ययनका लागि क्यामरा जडान गरिएका छन् । सो क्षेत्रमा मात्र नभई हिउँ चितुवा पाउने सम्भावना रहेका ठाउँमा हिउँ चितुवालाई कैद गर्न क्यामरा जडान गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्राविधिकको टोलीले समुद्री सतहदेखि पाँच हजार पाँच सय मिटरको उचाइमा क्यामरा जडान गरेको छ ।
ल्होमन्थाङ गाउँपालिका–२, छोसेरमा करिब दुई फिट हिउँ पन्छाउँदै क्यामरा राखिएका छन् । तापक्रम ऋणात्मक हुँदा पनि उपल्लो मुस्ताङमा हिउँ चितुवाको वासस्थानआसपास क्षेत्रमा एक्याप इलाका कार्यालय ल्होमन्थाङले क्यामरा जडान गरेको एक्यापका प्रमुख उमेश पौडेलले बताउनुभयो ।
यही पुसको पहिलो सातादेखि एक्यापले उपल्लो मुस्ताङको दुई गाउँपालिकामा विभिन्न स्थानमा ६७ वटा क्यामरा जडान गरिएको छ । प्रमुख पौडेलका अनुसार हिउँ चितुवाको वासस्थानसाथै आहारा प्रजातिका वन्यजन्तुको खोजीमा भौँतारिने क्षेत्रलाई लक्षित गरी क्यामरा जडानलाई निरन्तरता दिइएको छ ।
लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाका १० वडामा कुल ९७ वटा क्यामरा जडान गरिने छ भने पाँच वटा अनलाइन क्यामराले समेत वन्यजन्तुको नियमित निगरानी गरिने गरिएको छ । अत्यधिक चिसोका कारण समुद्री सतहबाट चार हजार ८९० मिटर उचाइमा रहेको दामोदरकुण्ड क्षेत्रमा सात वटा क्यामरा जडान गर्न बाँकी रहेको छ । जडानबाहेक अतिरिक्त करिब सात वटा क्यामेरा राख्ने योजना रहेको पौडेलले बताउनुभयो ।
.jpg)
उपल्लो मुस्ताङका हिउँ चितुवा देखिने सबै कुनाकाप्चामा क्यामराले राखिएको छ । उपल्लो मुस्ताङ क्षेत्रमा क्यामराको जडानसँगै हिउँ चितुवा तथा अन्य वन्यजन्तुको अवस्थाको पहिचानसँगै चोरीसिकारी नियन्त्रणमा समेत सघाएको ल्होमन्थाङ–१, छोसेरकी वडा सदस्य छिरिङ युटिन गुरुङले बताउनुभयो ।
उपल्लो मुस्ताङका करिब सबै जसो उच्च हिमाली क्षेत्र र मानवबस्तीआसपासका पहाडमा क्यामेरा जडान गरिएको छ । त्यसै गरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्तामा सात वटा क्यामरा जडान गरिएका छन् । एक्याप इलाका कार्यालय जोमसोमका संरक्षण सहायक दीपक ओलीले हिउँ जमेको क्षेत्रमा पुगेर क्यामरा जडान गर्न सफल भएको उहाँले बताउनुभयो । यस क्षेत्रमा एक्याप ल्होमन्थाङ र जोमसोमको टोलीले आफ्नो कार्यक्षेत्रभित्र धमाधम क्यामरा जडान गरिरहेका छन् ।
एक्याप इलाका कार्यालय जोमसोमका प्रमुख राजेश गुप्ताका अनुसार मुस्ताङमा हिउँ चितुवाको निगरानीका लागि कर्मचारीले चिसोमा समेत जोखिम मोलेर नियमित गस्तीसमेत गर्ने गरेका छन् । हिमालको रानीको नामले चिनिने हिउँ चितुवा मुख्य वासस्थानआसपासका क्षेत्र तथा कठ्याङ्ग्रिँदो चिसोसँगै वासस्थानबाट तल बस्तीआसपाससम्म झर्ने क्रममा मानव बस्तीमा समेत प्रवेश गर्ने जोखिम हुन्छ ।
हिउँ चितुवाको विचरण गर्ने बाटोमा अहिले क्यामरा राखिएका छन् । हिउँ चितुवाले नाउर, फ्याउ मुसा, हिमाली खरायो लगायतका वन्यजन्तु र पन्छीको सिकार गर्छ । जाडोयाममा पोथीबाट अलग भएर भालेको आक्रमणबाट जोगिन भौँतारिन्छ । भाले चितुवाको बच्चा पनि आक्रमक नै हुन्छ । पोथी हिउँ चितुवा धेरै हिँडडुल नगर्ने, भाले भने लामो दुरीसम्म पुग्छ । आहारा प्रजातिको संरक्षणसँगै हिउँ चितुवा–मानव द्वन्द्व न्यूनीकरण एक्यापमा चुनौती रहेको छ ।
– हरिकृष्ण शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















