काठमाडौँ, पुस २७ : काठमाडौं उपत्यकाको भीडभाड र कोलाहलबाट केही समय टाढा, प्रकृतिको काखमा शान्ति र आराम खोज्नेहरूका लागि ललितपुरको गोदावरीमा नयाँ चारतारे होटल सञ्चालनमा आएको छ ।
करिब १ अर्ब ९५ करोड रुपैयाँको लगानीमा बनेको गोदावरी फरेस्ट होटलले आतिथ्य व्यवसायमा नयाँ सम्भावना थपेको छ ।
‘प्रकृतिको काखमा शान्त र विश्रामको अनुभव, परिवार र साथीहरूसँग रमाइलो गर्ने आदर्श स्थल’ भन्ने अवधारणासहित सञ्चालनमा आएको यो होटल गोदावरी फरेस्ट होटल प्रालिको स्वामित्वमा रहेको छ र यसको व्यवस्थापन अन्तर्राष्ट्रिय होटल चेन बेस्ट वेस्टर्न प्लसले गरिरहेको छ ।

नौं रोपनी क्षेत्रफलमा फैलिएको १० तले यो होटलमा ८३ वटा सुविधा सम्पन्न कोठा, ३ वटा मिटिङ हल, २ वटा रेस्टुरेन्ट, १ वटा इन्फिनिटी पुल, ३०० जनाभन्दा बढी क्षमताको कार्यक्रम हल रहेको होटलले जनाएको छ ।
यो होटलले विशेषगरी बैठक, सम्मेलन र आन्तरिक पर्यटनलाई लक्षित गरेको छ ।

हरियाली डाँडाकाँडा, स्वच्छ हावा र शान्त वातावरणले होटललाई शहर नजिकै भए पनि रिसोर्टजस्तो अनुभव दिने बनाएको छ । परिवार, जोडी र कम्पनीका समूहका लागि ‘प्रकृतिसँग नजिकको आरामदायक गन्तव्य’ बन्ने विश्वास गरिएको छ ।
होटल सञ्चालन भएपछि करिब ७० जनालाई प्रत्यक्ष रोजगारी दिलाएको छ । यसले गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्र मजबुत बनाउन र आतिथ्य व्यवसायको विकासमा योगदान पुर्याउने लगानीकर्ताले अपेक्षा गरेका छन् ।

होटलका प्रमुख सञ्चालक मध्ये युवराज श्रेष्ठ हुन् । जो हाल होटल संघ नेपाल (हान)का कोषाध्यक्ष पनि हुन् । श्रेष्ठ चितवनको मेघौलीमा सोल्टी वेस्टएन्ड रिसोर्ट सञ्चालन गर्दै आएका छन् । काठमाडौंमा उनले क्राउन प्लाजा (नक्साल), शिवम् प्लाजा (गौशाला), एयरपोर्ट बजेट होटल (सिनामंगल) र प्रिन्स प्लाजा गरी चारवटा बजेट होटल सञ्चालन गरिरहेका छन् ।

गोदावरी फरेस्ट होटल परियोजनामा वियज मल्ल, राजेन्द्र भण्डारी, नेत्र चटौत, कुशेन्द्र महत, कल्याण जोशी र मदनलाल जोशी समेत सञ्चालकका रूपमा रहेको श्रेष्ठले बताए ।
गोदावरी क्षेत्र धार्मिक, प्राकृतिक र जैविक विविधताले धनी मानिन्छ । यही अवसरलाई आधार बनाएर सुरु गरिएको गोदावरी फरेस्ट होटलले उपत्यकामा नयाँ पर्यटकीय गन्तव्यको पहिचान बनाउने अपेक्षा गरिएको छ । शान्त वातावरण, अन्तर्राष्ट्रिय सेवा र प्रकृतिसँगको नजिकको अनुभव – यी सबैले गोदावरी फरेस्ट होटललाई उपत्यकाको विशेष चारतारे गन्तव्य बनाउने विश्वास गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















