01/12/2026, 01:26:19
आइतबार, पुष २७, २०८२

‘व्यापारले मलाई धनाढ्य त बनाएको छैन, तर आत्मसम्मान भने दिएको छ’


डडेल्धुरा, पुस २७ : मेरो जिन्दगीको यात्रा ठूलो सपना र लगानीबाट सुरु भएको होइन । म साधारण परिवारमा हुर्किएँ । त्यसैले धेरै माथिसम्म सोच्न सकिनँ । तैपनि आफूलाई उकास्ने कोसिस भने जारी राखेँ । युवा अवस्थासम्म अरूको जस्तै जिन्दगी कसरी चलाउने होला भन्ने चिन्ता थियो ।

कसरी घरखर्च जोहो गर्ने होला भन्ने प्रश्नले घचघच्याइ रहन्थ्यो । यस्तो असमञ्जसका बेला दिमागमा व्यापार गर्ने सोच पालायो । तर, जागिरका लागि भौंतारिने, विदेश जाने सोच मनमा आएन । आफ्नै ठाउँमा केही गरौं, आफ्नै पसिनाले घर चलाऔं भन्ने सोचेर व्यापार थालेँ ।

अमरगढी नगरपालिका–५, खलङ्गामा घर छ । अनि बागबजारदेखि अलिक माथि मेरो सानो किराना पसल छ । यही पसलसँग मेरो जीवनका तीन दशक जोडिएका छन् । ३० वर्षभन्दा लामो समयदेखि ग्राहक हेर्छु, सामान जोहो गर्छु, हिसाबकिताब मिलाउँछु र जीवन चलाइरहेछु ।

समयसँगै परिस्थिति बदलियो । चिया पसल चलाउन पहिलेजस्तो सजिलो रहेन । खर्च बढ्दै गयो, प्रतिस्पर्धा पनि बढ्यो । त्यसपछि मैले व्यवसाय परिवर्तन गर्ने निर्णय गरेँ । चिया पसल बन्द गरेर खुद्रा किराना पसलतर्फ लागेँ । यहीबाट मेरो जीवनको अर्को अध्याय सुरु भयो । अहिले म ‘पुष्कर किराना पसल’ सञ्चालन गरिरहेको छु । पसलमा बच्चाका लागि चकलेट, बिस्कुटजस्ता सामान पनि छन् । ठूलो व्यापार होइन, तर नियमित चलिरहने व्यापार हो ।

सबेरै पसल खोल्छु । दिनभर ग्राहक आउँछन्, जान्छन् । बेलुकी पसल बन्द गर्दा दिनभरिको हिसाब मिलाउँछु । अहिलेको अवस्थामा करिब १० हजार रुपैयाँ जति मासिक आम्दानी हुन्छ । पहिलेको जस्तो धेरै कमाइ छैन, तर साँझ–बिहान हातमुख जोड्न समस्या पनि छैन । यही कमाइले घरखर्च चलिरहेको छ । पसलबाट परिवार हुर्काएको हुँ ।

घरधन्दा, खानपिन, लुगाफाटा सबै यही आम्दानीले चलेको हो । छोरालाई पनि यही पसलको कमाइले पढाएँ । तीन छोरा छन्, एउटा बुहारी छिन् । श्रीमती, बुहारी, छोरा र म मिलेर सुन्दर परिवार बनेको छ । छोराहरू र बुहारी अहिले आ–आफ्नो काममा लागेका छन् । उनीहरूलाई आत्मनिर्भर बनाएकामा मलाई सन्तोष लाग्छ ।

जीवनमा धेरैले विदेश जाने सोच आएन भनेर सोध्छन् । ठूलो व्यापार गर्ने इच्छा भएन पनि भन्छन् । तर, कहिल्यै बाहिर जाने सोच बनाइनँ । सानैदेखि व्यापारमै लागेको मान्छे, यही ठाउँ, यही बजार, यही पसलसँग मेरो जीवन जोडिएको छ । टाढा जाने बाध्यता मैले महसुस गरिनँ ।

व्यापार गर्न सजिलो भने कहिल्यै भएन । कहिले बजार मन्दी, कहिले महँगी, कहिले ग्राहक कम । समयअनुसार उतारचढाव आइरहन्छ । पहिले चिया पसल चलाउँदा कमाइ राम्रै थियो, अहिले किराना पसलमा त्यो स्तरको आम्दानी छैन । तर व्यापारमा रमाउने बानी परेकाले म सन्तुष्ट छु ।

मलाई मेरो पसल असाध्यै मन पर्छ । बिहान पसल खोल्दा आफ्नोपनको अनुभूति हुन्छ । यही पसलले मलाई समाजसँग जोडेको छ । छिमेकी, ग्राहक, चिनजान सबै यहीँ भेटिन्छन् । कसैले दुःख सुनाउँछ, कसैले खुसी । म यो पसलमा सामान मात्र बेच्दिनँ, सम्बन्ध पनि जोगाइरहेको छु ।

व्यापारले मलाई ठूलो धनाढ्य बनाएको छैन, तर आत्मसम्मान दिएको छ । अरूसँग हात फैलाउनु परेको छैन । आफ्नै पसिनाले कमाएको पैसाले घरखर्च चलेको छ । यही नै मेरो ठूलो उपलब्धि हो । आज म यो पसलमै रमाइरहेको छु । ‘पुष्कर किराना पसल’ मेरो पहिचान हो । जबसम्म शरीरले साथ दिन्छ, यही पसल चलाइरहने छु । सानो भए पनि आफ्नै मिहिनेतको व्यापारमा जीवन बिताउनु मेरा लागि सबैभन्दा ठूलो सन्तोष हो ।

– तर्कराज भट्ट, पुष्करसिंह ठकुरी