बझाङ, पुस २५ : जयपृथ्वी नगरपालिका–४ का सुमन उपाध्यायको फेसबुक म्यासेन्जरमा गत असोजमा साथीको मेसेज आयो । त्यहाँ एउटा लिंक थियो ।
लगत्तै ती साथीले फोन गरेर भने, ‘लिंकमा दिइएको फाराममा इमेल, फोन नं, भुक्तानीका लागि ई–सेवा अथवा खल्ती आइडी विवरणहरू भरेर दुई हजार तिरेपछि त्यहाँ दिइएका उत्पादनका विज्ञापनमा लाइक गर्दा नियमित पैसा आउँछ ।’
सदरमुकाम चैनपुरको एउटा छापाखानामा सहयोगी कर्मचारीका रूपमा काम गर्ने सुमन लाइक गरेरै पैसा कमाइ हुने भनेपछि लोभिए । उनले साथीले सिकाएजसरी ‘एमप्लस’ नामको उक्त अनलाइन फाराम भरे । त्यसमा खाता खोल्न न्यूनतम दुई हजार रुपैयाँदेखि माथि रकम ई–सेवा वा खल्तीमार्फत जम्मा गर्नुपर्ने सर्त थियो । उनले दुई हजार जम्मा गर्दा दिनको तीन सय कमाइ देखिन थाल्यो ।
त्यसमा चार हजार जम्मा गरेर खाता खोल्दा दिनको ६ सय कमाइ हुन्थ्यो । त्यहाँ एकै पटक १०–१५ लाखसम्म जम्मा गरेर खाता खोल्ने विकल्प पनि थियो र ‘त्यसअनुसार दैनिक कमाइ हुने रकमको अंक पनि बढ्दै जाने’ भनिएको थियो । ‘खाता खोलिसकेपछि त्यहाँ देखाएका सामानका विज्ञापनहरू लाइक गर्नुपर्थ्यो अनि अरू सदस्य बनाउँदा थप बोनस पाइन्थ्यो,’ सुमनले भने ।
एमप्लसको अनलाइन सिष्टममा जोडिएका अरु सदस्यको संख्या पनि हेर्न मिल्थ्यो । कात्तिक पहिलो सातासम्म त्यसमा ५१ हजारभन्दा बढी सदस्य भइसकेका थिए । ‘राम्रै भएर त यति धेरै मान्छे जोडिएका होलान्’ भन्ने उनलाई लाग्थ्यो । शनिबारबाहेक साताको ६ दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अनलाइनमा देखाइएका विज्ञापनमा लाइक गर्न मिल्थ्यो । उनलाई यो काम सजिलै पैसा कमाइने काइदाको उपाय लाग्यो । आफन्त र साथीभाइलाई पनि त्यसै गर्न भनेर सदस्य बनाए । नभन्दै एमप्लसको उनको खातामा १५ दिनमै १२ हजार जम्मा भएको देखियो ।
२ कात्तिकमा उनले त्यो रकम आफ्नो बैंक खातामा सार्न खोजे, त्यतिन्जेलसम्म एमप्लसको खाता नचल्ने भइसकेको थियो । उनले साथीलाई सोधे, उसको पनि नचल्ने भइसकेको रहेछ । ‘मैले बनाएका अरू सदस्यको खाता पनि त्यस्तै भइसकेको रहेछ,’ त्यस दिनदेखि एमप्लसको अनलाइन सिस्टम नै बन्द भएको सुनाउँदै उनले भने, ‘आफू त ठगिएँ, ठगिएँ, मैले सदस्य बनाएका अरू आफन्त र साथीभाइ पनि मेरै कारणले ठगिए । उनीहरूको अगाडि मुख देखाउन पनि लाजमर्दो भयो ।’
एक पटक जम्मा गरेपछि कमाइ भइरहन्छ भनेर कोहीले ज्यालादारी गरेको त कसैले व्यापार गरेको कमाइ जम्मा गरेको उनले बताए । ‘कोही सरसापट गरेर सदस्य बनेका थिए,’ उनले भने । यसरी सामान्य साक्षर र मोबाइल चलाउन जान्नेदेखि शिक्षित व्यक्तिहरूसम्म एमप्लसबाट ठगिएको उनले सुनाए । ‘कसै–कसैले त बढी कमाउने लोभमा ५०/६० हजार पनि लगानी गरेका थिए । सिस्टम नै बन्द भएपछि सबैको रकम डुब्यो । ठगले एक महिना नपुग्दै १५/२० करोड कुम्ल्यायो होला,’ उनले भने ।

एमप्लसपछि एसएमसीका नाममा ठगी
एमप्लस अनलाइनले ठूलो रकम ठगेर भागेपछि पनि अनलाइन ठगहरूले बिछ्याउने जालमा सर्वसाधारण फस्ने क्रम रोकिएको छैन । प्रविधिमा भर्खर–भर्खर मात्रै अभ्यस्त ग्रामीण क्षेत्रका सर्वसाधारणलाई लक्षित गर्दै ‘एसएमसी एप’ नामक अर्को अनलाइन ठगीको नेटवर्कले बझाङ, बाजुरा जस्ता जिल्लाबाट ठूलो ठगी गरेको भेटिएको छ ।
एसएमसी एप डाउनलोड गरेर निश्चित रकम जम्मा गरेपछि रकमका आधारमा मासिक कमाइ हुने भन्दै यो समूहले सर्वसाधारणलाई लोभमा पारेर फसाएको छ । यो एपमा न्यूनतम तीन हजारदेखि दुई करोड एक लाखसम्म रकम जम्मा गर्न सकिने भनिएको थियो । जम्मा गरेको रकमका आधारमा दैनिक पाँचदेखि दुई सय वटासम्म छोटा भिडियो हेर्नुपर्ने र भिडियो हेरेबापत कमाइ हुने भन्दै ठगी गरिएको थियो । पिरामिड शैलीमा अरू सदस्यलाई एप प्रयोगकर्ता बन्न प्रेरित गरेबापत १० प्रतिशत कमिसन पाउने प्रलोभनमा जनप्रतिनिधि, शिक्षक, पालिकाका कर्मचारीसमेत यसमा लागेका थिए ।
गाउँलेले विश्वास गर्ने यस्ता व्यक्तिले नै सदस्य बन्न प्रेरित गरेपछि सोझा-साझाहरू ठगको जालमा सजिलै फसेका थिए । यिनैमध्येकी एक हुन मष्टा गाउँपालिका–२ की कविता आग्री । आफन्त पर्ने गाउँपालिकामा कार्यरत कर्मचारीले सदस्य बन्न लोभ देखाएपछि उनी तरकारी बेचेको कमाइ जम्मा गरेर एसएमसी एपमा जोडिइन् । नौ हजार नौ सय रुपैयाँ तिरेकी उनलाई मासिक त्यति नै बराबरको रकम तलबबापत आउने भनिएको थियो । ऋण खोजेर उनले श्रीमान्, छोराछोरीका नाममा पनि खाता खोलिन् । यो परिवारले एपको नियमअनुसार भिडियो पनि हेर्यो । कमाइ जोडिँदै गएको एपमा पनि देखायो ।
जब कविताले पैसा निकाल्न खोजिन्, ‘तपाईंले यो रकम निकाल्न २ हजार ७ सय ४० रुपैयाँ कर तिर्नुपर्छ’ भन्ने नोटिफिकेसन देखियो । करबापतको रकम अञ्जना तामाङ नामको ई–सेवा खातामा जम्मा गर्न भनिएको थियो । ‘फेरि पैसा जम्मा गर्नुपर्ने भन्ने कुराले शंका लाग्यो,’ कविताले भनिन्, ‘एक जना जान्ने–बुझ्ने छिमेकीसँग सोध्दा कर त सरकारलाई तिर्ने हो, व्यक्तिको खातामा नहाल्देऊ, तिमीलाई ठग्यो भनेपछि पो झस्किएँ ।’ केही दिनमै एप नचल्ने भयो । कविताले घरका चार जनाको गरेर ३९ हजार ६ सय रुपैयाँ ठगी भएको बताइन् ।
एसएमसीले सुरुमा सदस्य हुने केही व्यक्तिलाई बिनासर्त भने बमोजिमको रकम दिएको पनि थियो । आफूले झिकेको रकम देखाउँदै केही टाठाबाठाले अरूलाई सदस्य हुन लोभ्याएका थिए । सुरुमा सर्वसाधारणलाई सदस्य बन्न उक्साउनेहरू अहिले यसबारे बोल्न चाहँदैनन् । ‘सुरु–सुरुमा केही व्यक्तिले लगानी गरेको भन्दा सात–आठ गुणा बढी पैसा कमाइ भएको देखेर अरू पनि सदस्य भए,’ नाम उल्लेख नगर्ने सर्तमा मष्टा गाउँपालिका एक कर्मचारीले भने, ‘जब सदस्यको संख्या ह्वात्तै बढ्यो । त्यसपछि करको बहाना बनायो । अहिले त एप्स नै बन्द भइसक्यो ।’ उनी ३३ हजार ८ सय रुपैयाँ जम्मा गरेर सदस्य बनेका थिए ।
मष्टामा मात्रै ६ सयभन्दा बढी यसरी ठगिएको उनको भनाइ छ । ‘मष्टामा मात्रै सबैको गरेर एक करोडभन्दा बढी पैसा ठगी भएको होला,’ उनले भने । एसएमसीबाट ठगिनेहरू बझाङका दुर्गम मानिने मष्टा, साइपाल, सुर्मा, तलकोट, दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकामा बढी रहेको पीडित शेरबहादुर ओखेडाले बताए । ‘राम्रो कमाइ हुने भनेपछि गाउँका सबैले सजिलै पत्यायौं,’ आफ्नो पनि ३३ हजार ८ सय डुबेको बताउँदै उनले भने, ‘गाउँतिरका धेरै सोझासाझाले क्रण धन गरेर पनि लगानी गरे । अन्तिममा सबै फसे ।’
अनलाइन ठगहरूले बाजुराका दुर्गम ठाउँका बासिन्दाबाट पनि रकम उठाएको स्थानीय बताउँछन् । भर्खर–भर्खर इन्टरनेटको पहुँच पुगेका बाजुराको गौमुल, खप्तड छेडेदह लगायत पालिकाका सर्वसाधारणदेखि सदरमुकाम मार्तडीमा बस्ने व्यापारी, सरकारी कार्यालयका अधिकृतस्तरका कर्मचारी र जनप्रतिनिधिसम्म फसेको बाजुरा सदरमुकाममा स्टेसनरी पसल सञ्चालन गरिरहेका गंगाराज पण्डित बताउँछन् ।
‘नफसेका कोही छैनन् भन्दा हुन्छ, सामाजिक अभियन्ता, नेता र कर्मचारीहरू त फसेका छन्, सर्वसाधारणका के कुरा ?’ उनले भने, ‘बाजुराबाट मात्रै दुई–तीन करोडभन्दा बढी रकम एसएमसीले ठगेको छ ।’ इन्टरनेटको पहुँच पुगेका बाजुराका पालिकाका १ हजार ५ सयभन्दा बढी व्यक्ति ठगिएको उनको अनुमान छ । तर, यसबारे कुनै अनुसन्धान नै भएको छैन ।
पढेलेखेका र समाजमा विश्वास आर्जन गरेका व्यक्तिलाई फसाउन एसएमसीले जब्स नेपाल डटकम, मेरो जब डटकम जस्ता विज्ञापन गर्ने वेबसाइटमा विज्ञापन नै गरेर सदस्य तथा कर्मचारी बन्न उक्साएको देखिन्छ । वेबसाइट, सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्युब, लिंक्डइनमा समेत एसएमसी एपको सदस्य कसरी बन्ने र कसरी आम्दानी हुन्छ भनेर प्रचारप्रसार गरिएको थियो । एसएमसीका नाममा रहेका सामाजिक सञ्जालका सबै खाता अहिले निष्क्रिय पारिएका छन् भने इन्टरनेटका अधिकांश त्यस्ता जानकारी हटाइएका छन् ।

ठगिएका छन् तर उजुरी गर्दैनन्
सुदूरपश्चिमका अधिकांश जिल्लाका व्यक्ति यस्ता अनलाइन/डिजिटल प्लाटफर्ममार्फत ठगिए पनि उजुरी गरेका छैनन् । ‘एसएमसीले ठग्यो भन्ने हल्ला हामीले पनि सुनेका हौं तर उजुरी लिएर कोही आएका छैनन्,’ बाजुराका प्रहरी प्रमुख डीएसपी इकवाल अवारीले भने, ‘उजुरी नआएपछि हामीले पनि केही गर्ने कुरा भएन ।’ बदनाम हुने वा कारबाहीमा पर्ने डरले पनि उजुरी गर्न नचाहेको हुन सक्ने बझाङका प्रहरी प्रमुख डीएसपी खगेन्द्र धमलाको भनाइ छ । सोझासाझा पीडित कानुनी प्रक्रिया थाहा नहुँदा उजुरी गर्न नआउने उनले बताए ।
सहरी क्षेत्रमा पनि एसएमसीबाट ठगिनेहरू छन् । नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार एसएमसी एपबाट ठगिएको भनेर २५५ पीडितले उजुरी दिइसकेका छन् । प्रहरीले गत सोमबार अनलाइन ठगीको आरोपमा एक चिनियाँ नागरिकसहित ११ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । उजुरी गर्नेहरू काठमाडौं उपत्यकामा बसोबास गरिरहेकाहरू हुन् । उनीहरूले ५० हजारदेखि २५ लाख रुपैयाँसम्म ठगिएको भनेर उजुरी दिएका छन् ।
‘गुगल प्लेस्टोरमा हेर्दा २०२५ को मार्चमा लन्च भएको त्यो एप अगस्टसम्म ७२ हजारभन्दा बढी डाउनलोड भइसकेको छ,’ अवस्थीले भने, ‘ती सबै जना एपको सदस्य भइसकेपछि मात्रै डाउनलोड गरेको हुनुपर्छ ।’ दुर्गम जिल्लामा पनि एसएमसीबाट पीडित थुप्रै रहेको तर उजुरी नआएको उनले बताए । ‘जिल्ला प्रहरीले पीडितलाई सहजीकरण गरेर उजुरी हामीकहाँ पठाइदिन सहयोग गर्नुपर्छ,’ उनले भने । हालसम्म उजुरीका आधारमा १२ करोड आठ लाखभन्दा बढी रकम ठगी भएको प्रमाणित भइसकेको र रकमको संख्या अझै ठूलो रहेको उनले बताए ।
कम्पनी रजिस्ट्रार कार्यालयमा विज्ञापन सेवा दिने उद्देश्यसहित ‘एसएमसीएन एडभरटाइजिङ सर्भिस सेन्टर’ का नाममा कम्पनी दर्ता भएको देखिन्छ, जसले सञ्चालन गर्ने एपले थोरै लगानीमा उच्च प्रतिफल पाइने र नयाँ सदस्य थपे बोनस पाइने प्रलोभन देखाएर ठगी गरेको साइबर ब्युरोले जनाएको छ । गत आर्थिक वर्षमा मात्रै ब्युरोमा देशभरि भएका साइबर अपराधका कुल १८ हजार ९ सय २६ उजुरी दर्ता भएका थिए । जसमध्ये ८ हजार ७२३ उजुरी (कुल उजुरीको झन्डै ४१ प्रतिशत) अनलाइनमार्फत हुने वित्तीय ठगीका थिए ।
– वसन्तप्रताप सिंह
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















