01/10/2026, 06:53:35
शनिबार, पुष २६, २०८२

विवादका कारण खेलकुद मन्त्री गुप्ताले गरे अमेरिका भ्रमण स्थगित


काठमाडौँ, पुस २५ गते । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते तय भएको अमेरिका भ्रमण स्थगित गरेका छन्।

मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालका अनुसार भिसालगायतका प्रक्रिया पूरा गर्न समय अपुग भएकाले हाललाई अमेरिका नजाने निर्णय गरिएको हो। “प्रक्रियाका लागि समय लाग्ने भएकाले उहाँ अहिलेका लागि अमेरिका जानु हुन्न,” रिमालले बताए।

यसअघि मन्त्रिपरिषद्ले अमेरिकामा आयोजना हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ विषयक कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएको थियो।

उक्त कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए समूहले आयोजना गर्न लागेको दाबी गरिएको थियो। तर सतेन्द्र शाह नेतृत्वको अर्को एनआरएनए–अमेरिकाले मन्त्रीलाई नबोलाइएको भन्दै विज्ञप्ति जारी गरेपछि भ्रमण विवादमा परेको थियो।

मन्त्री गुप्ताको भ्रमण तालिका अन्तिम रूपमा पक्का नभएकाले कार्यक्रमको मिति र स्थान पनि तय हुन सकेको थिएन। माघ ६ मा प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता हुने भएकाले त्यसअघि नै नेपाल फर्कने योजना पनि भ्रमण स्थगनको अर्को कारण बनेको जनाइएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..