01/10/2026, 07:10:08
शनिबार, पुष २६, २०८२

पाँच महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो, ३५ प्रतिशतभन्दा बढीले वृद्धि


काठमाडौँ, पुस २५ गते । चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि हुँदै कुल ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ करोड ७५ लाख ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..