
काठमाडौँ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको प्रस्ट्याएको छ ।
परिषद्का प्रवक्ता सन्देश उप्रेतीले बिहीबार एक विज्ञप्ति जारी गर्दै अमेरिकामा युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको स्पष्ट पारेका हुन् ।
‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं,’ उप्रेतीले भनेका छन्, ‘साथै, परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन ।’
‘एनआरएनए अमेरिकाको नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको छ। यस्ता गतिविधिहरू एनआरएनए अमेरिकाको जानकारी, स्वीकृति तथा आधिकारिक निर्णय बिना केही व्यक्ति वा समूहहरूले संस्थाको नाम तथा वेबसाइटको दुरुपयोग गरी सञ्चालन गरिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ- ‘एनआरएनए अमेरिका संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एक आधिकारिक संस्था हो। संस्थाको नाम, इएनआइ तथा डिजिटल पहिचानको दुरुपयोग हुँदा गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम उत्पन्न हुने भएकाले यस विषयलाई अत्यन्त संवेदनशील र गम्भीर रूपमा लिइएको छ । संस्थासँग असम्बन्धित गतिविधिहरू एनआरएनए अमेरिकासँग जोडिएमा कानुनी जिम्मेवारीसमेत उत्पन्न हुन सक्ने भएकाले हामी यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न बाध्य भएका छौँ ।’
अनधिकृत गतिविधिहरूप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि संस्थाका मान्य माध्यमहरूमा भर पर्न एनआरएनए अमेरिकाले अनुरोध समेत गरेको छ ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!














