01/10/2026, 07:10:28
शनिबार, पुष २६, २०८२

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ‘आनन्द वाटर’ बजारबाट फिर्ता गर्न निर्देशन


काठमाडौँ, पुस २५ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नगरेको ठहर गर्दै ‘आनन्द वाटर’ ब्रान्डको प्रशोधित पिउने पानी तत्काल बजारबाट फिर्ता  गर्न निर्देशन दिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षण गर्दा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार न्यून स्तरको पाइएकाले उक्त उत्पादन फिर्ता गर्न आदेश जारी गरेको जनाएको छ।

विभागका अनुसार आनन्द वाटर ब्रान्डअन्तर्गत २० लिटर जारमा प्याक गरिएको प्रशोधित पिउने पानी (ब्याच नं. ६१), उत्पादन मिति नोभेम्बर २०२५ र उपभोग्य अवधि तीन महिनासम्म रहेको उत्पादन गुणस्तर मापदण्डमा नपरेको ठहर गरिएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न र  बिक्री–वितरण नगर्न तथा नगराउन विभागीय निर्णयअनुसार आदेश जारी गरिएको विभागले स्पष्ट पारेको छ।

उक्त उत्पादन बर्दिया जिल्लाको गुलरिया-५ मा रहेको आनन्द ड्रिंकिङ वाटर उद्योगबाट उत्पादन गरिएको हो। विभागले उपभोक्तालाई सो उत्पादन उपभोग नगर्न आग्रह गर्दै सरोकारवाला निकाय तथा व्यवसायीलाई आदेश कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ।

यसैबीच, पछिल्लो समय मन्त्रालयले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न सचेतना अभिवृद्धि, नियमित बजार अनुगमन तथा कानुनी कारबाहीलाई तीव्रता दिएको जनाएको छ। यसबाट उपभोक्ताले शुद्ध र सुरक्षित उपभोग्य वस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित हुँदै गएको मात्र होइन, स्वच्छ, जिम्मेवार र भरोसायोग्य बजार प्रवर्द्धनमा समेत योगदान पुगेको मन्त्रालयको भनाइ छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..