01/01/2026, 15:28:06
बिहिबार, पुष १७, २०८२

नयाँ वर्षको आगमनसँगै गाजावासीहरू जीवन पुनः निर्माणको पर्खाइमा

©(260101) -- GAZA, Jan. 1, 2026 (Xinhua) -- A young Palestinian man dressed as Santa Claus distributes sweets to displaced children ahead of the New Year at a temporary shelter in the Sheikh Radwan neighborhood, northwest of Gaza City, on Dec. 31, 2025. (Photo by Rizek Abdeljawad/Xinhua)

एजेन्सी, पुस १७ गते । विश्व समुदायले सन् २०२६ को स्वागत गरिरहँदा लामो समयदेखि युद्धको चपेटामा परेको गाजा क्षेत्रका प्यालेस्टाइनीहरू भने शान्ति पुनर्वहाली र जीवनको नवनिर्माणको व्यग्र प्रतिक्षामा छन् ।

द्वन्द्व र अस्थिरताकाबीच यहाँको जनमानसले नयाँ वर्षलाई केवल क्यालेन्डरको पाना फेरिने दिनको रूपमा मात्र नभई युद्धविराम र मानवीय गरिमा फिर्ता पाउने एक महत्वपूर्ण अवसरको रूपमा हेरेका छन् । दशकौंदेखि युद्धको विभिषिका र अकल्पनीय पीडा भोगेका स्थानीय बासिन्दाहरूको मुख्य चाहना भनेकै गाजा र वेस्ट बैंकमा जारी हिंसाको अन्त्य हो ।

उनीहरूको सामूहिक बुझाइमा जबसम्म युद्ध रहन्छ, तबसम्म जीवनको कुनै अर्थ रहँदैन । तर बन्दुकका नालहरू शान्त भएमा जीवन पुनः सुन्दर बन्नसक्छ । त्यसैले, सन् २०२६ मा यो भूमिमा पूर्ण शान्ति र सुरक्षाको प्रत्याभूति होस् भन्ने साझा कामना यहाँको सडकदेखि शिविरसम्म गुञ्जिरहेको छ । नागरिकहरू अब भयमुक्त वातावरणमा सास फेर्न र सुरक्षा शब्दको वास्तविक महशुस गर्न चाहन्छन् । युद्धले ध्वस्त पारेको अर्थतन्त्र र दैनिक जनजीवनको सामान्यीकरण यहाँको अर्को प्रमुख मुद्दा बनेको छ ।

स्थानीय बासिन्दाहरू भन्छन् कि उनीहरू अनियन्त्रित महंगी नियन्त्रणमा आओस् र बजार भाउ युद्धअघिकै अवस्थामा फर्कियोस् भन्ने चाहना राख्छन् । विश्वका अन्य मुलुकका नागरिकसरह मलहरूमा गएर आफ्ना दैनिक आवश्यकताका सामानहरू निर्धक्क खरिद गर्न पाउने सामान्य अधिकारको खोजीमा उनीहरू छन् । साथै, गुमेका रोजगारीहरू पुनः प्राप्त गरी, मानिसहरू काममा फर्किउन् र गाजा एक स्थिर अर्थतन्त्र भएको क्षेत्रको रूपमा उभियोस् भन्ने आकाङ्क्षा पनि उत्तिकै प्रबल देखिन्छ ।

सन् २०२३ को अक्टोबर ७ अघिको अवस्थामा जीवन फर्कियोस् भन्ने गहिरो अभिलाषा राख्दै, पीडितहरूले भत्किएका संरचनाहरूको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षा गरेका छन् । सडकमा आश्रयविहीन भएर खुला आकाशमुनि बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै, ध्वस्त भएका घरहरू, अस्पताल र स्वास्थ्य सेवाहरू पुनः सुचारु हुनुपर्नेमा उनीहरूको जोड छ । विशेष गरी, बालबालिकाहरू पुनः विद्यालय जान पाऊन् र उनीहरूको शैक्षिक भविष्य सुनिश्चित होस् भन्ने अभिभावकहरूको हृदयस्पर्शी चाहना रहेको छ ।

युद्धका तमाम भयावह दृश्यहरू र त्रासका बाबजुद पनि यहाँका नागरिकहरू आफ्नो देश छोडेर पलायन हुन चाहँदैनन् । उनीहरू आफ्नै माटोमा पुनस्र्थापित भई शान्ति, सुरक्षा र भरोसाको वातावरणमा बाँच्न चाहन्छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..