काठमाडौँ, पुस १५ : बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बंगलादेश नेशनल पार्टीकी अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । उनी अस्पतालमा उपचार गराइरहेकी थिइन् ।
चिकित्सकहरुका अनुसार जियालाई लिबर सिरोसिस, अर्थाइटिस, मधुमेह, छाति र हृदय सम्बन्धी समस्या थियो । स्थानीय समय अनुसार मंगलबार बिहान ६ बजे अस्पतालमा जियाको निधन भएको जानकारी बिएनपीले विज्ञप्तिमार्फत दिएको छ ।
‘हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ । बंगलादेशको अन्तरिम सरकारका सल्लाहकार मोहम्मद युनुसले देशले एक अभिभावक गुमाएको बिताएका छन् ।
‘देशलाई अलोकतान्त्रिक अवस्थाबाट मुक्त गर्नका लागि उहाँले धेरैपटक संघर्ष गर्नुभयो । आफ्नो सम्झौताहिन नेतृत्वमार्फत स्वतन्त्रता प्राप्तिका लागि प्रेरित गर्नुभयो,’ नोबेल शान्ति पुरस्कार विजेता युनुसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतमा निर्वासित जीवन बिताइरहेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले प्रजातन्त्रका लागि खालिदाले गरेको संघर्ष सबैले सधैं संझने बताएकी छिन् । ‘बीएनपीकी अध्यक्ष तथा पूंर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधनमा गहिरो श्रद्धान्जली प्रकट गर्दछु । बंगलादेशको पहिलो प्रधानमन्त्री र बंगलादेशमा प्रजातन्त्र स्थपाना गर्ने संघर्षमा उहाँको ठूलो योगदान थियो,’ हसिनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हसिना प्रशासनले सन् २०१८ देखि जियालाई केही समय जेल र सन् २०२० देखि घरमै नजरबन्दमा राखेको थियो । उनलाई विदेशमा उपचार गर्न जान पनि रोक थियो । गत वर्ष विद्यार्थी आन्दोलन सफल भएर हसिना अपदस्थ भएको छोटो समयमै जिया सार्वजनिक कार्यक्रममा देखिइन् ।
गत नोभेम्बरमा खालिदाले आगामी निर्वाचन प्रचार अभियानमा सरिक हुने घोषणा गरेकी थिइन् । तर त्यसको छोटो समयमै उनी अस्पताल भर्ना हुनुपर्यो । बंगलादेशमा १२ फेब्रुअरीमा आम चुनाव हुँदैछ । यस निर्वाचनमा बिएनपीले सबैभन्दा धेरै सिट ल्याउने प्रक्षेपण गरिएको छ । जियाका छोरा तारिक रहमान १७ वर्षको निर्वासनपछि स्वदेश फर्किएर पार्टीको प्रचारमा जुटिसकेका छन् । कार्यकारी अध्यक्ष तारिककै नेतृत्वमा यसपटक बीएनपीले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ ।
राजनीतिक संघर्ष, सत्ता र जेल
सन् १९४५ मा तत्कालीन ब्रिटिस भारतको बंगाल प्रान्तस्थित जलपाइगुडीमा खालिदाको जन्म भएको थियो । सन् १९४७ मा भारतको स्वतन्त्रता र बंगालको विभाजनपछि उनको परिवार पूर्वी पाकिस्तान (अहिलेको बंगलादेश) को दिनाईपुर सरेको थियो । १९६० मा १५ वर्षको उमेरमा जियाको विवाह जियाउर रहमानसँग भएको थियो, जो त्यतिबेला पाकिस्तानी सेनामा क्याप्टेन थिए । त्यसपछि खालिदाले आफ्नो नामको पछाडि जिया लेख्न थालिन् ।
जियाउर रहमानले पाकिस्तानी सेनामा विद्रोह गरेर बंगलादेशलाई स्वतन्त्रता दिलाउने युद्धमा अग्रणी भूमिका खेलेका थिए । उनी ‘स्वतन्त्रताको घोषणाकर्ता’ भनेर पनि चिनिन्छन्, किनकी २७ मार्च, १९७१ मा चिट्टागंगस्थित कलुरघाट रेडियो स्टेशनबाट उनले नै बंगलादेश स्वतन्त्र भएको पहिलो सार्वजनिक घोषणा गरेका थिए । बंगलादेशको स्वतन्त्रतापछि सेना प्रमुख र कालान्तरमा राष्ट्रपति बनेका जियाउरको राष्ट्रपति छँदै १९८१ मा एक सैनिक विद्रोहमा हत्या भयो । ३५ वर्षकी जियाले यसपछि आफ्ना दुई छोराको अभिभारा, पतिले छाडेको राजनीतिक विरासत र बंगलादेशमा लोकतान्त्रिक आन्दोलनको झन्डा एकसाथ उठाइन् ।
जियाउरले स्थापना गरेको बंगलादेश नेशनल पार्टी (बिएनपी) को नेतृत्व सन् १९८४ मा खालिदाले लिइन् । उनले सैन्य शासक हुसैन मोहम्मद ईरशादलाई अपदस्थ गर्ने लोकप्रिय प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिन् । यस विद्रोहमा बंगलादेशका संस्थापक राष्ट्रपति शेख हसिनाको पनि अग्र मोर्चामै थिइन् । तर, एउटै एजेन्डा बोकेर आन्दोलनमा होमिएको भएपनि जिया र हसिनाबीच राम्रो सम्बन्ध थिएन । त्यहीकारण उनीहरुलाई ‘लडाकु बेगम’ पनि भनियो ।
सन् १९९१ मा ईरशादको सैनिक सत्ता ढल्यो । बंगलादेशको पहिलो स्वतन्त्र चुनावमा बीएनपी पहिलो पार्टी बन्यो । जमात्–ए–इस्लामीको समर्थन बटुलेर खालिदाले सरकार बनाइन् । बंगलादेशको पहिलो महिला प्रधानमन्त्री खालिदा जिया मुस्लिम बाहुल्य राष्ट्रमा बेनेजिर भुट्टोपछि (सन् १९८८ पाकिस्तानको प्रधानमन्त्री) पछि प्रधानमन्त्री निर्वाचित हुने दोस्रो महिला हुन् ।
जियाको कार्यकालमा बंगलादेशमा प्राथमिक शिक्षालाई अनिवार्य र निशुल्क बनाइयो । उनले बंगलादेशमा विदेशी लगाउने भित्र्याउनका लागि कानुनहरु संशोधन गरिन् ।
सन् १९९६ को निर्वाचनमा हसिनाको अवामी लिगले बहुमत ल्याएपछि जिया पाँच वर्ष प्रतिपक्षमै बसिन् । त्यसपछि सन् २००१ मा फेरि सरकारमा फर्किइन् । सन् २००४ मा हसिनाको सभामा भएको ग्रेनेड आक्रमणमा २० भन्दा बढी मारिए, ५०० भन्दा बढी घाइते भए । सन् २००६ मा राजनीतिक अस्थिरता र हिंसापछि सेनाको समर्थनमा अन्तरिम सरकार बनाइयो । यस सरकारले भ्रस्टाचार आरोपमा खालिदा र हसिना दुबैलाई जेलमा एक वर्ष राख्यो ।
२००८ चुनावअघि मात्रै उनीहरुलाई छाडिएको थियो । यस निर्वाचनमा शेख हसिनाको अवामी लिगले बहुमत ल्यायो । त्यसपछि विपक्षीहरुलाई पक्राउ गर्ने, जेल हाल्ने काम सुरु भयो । जसले हसिना र खालिदाबीचको वैमनस्य थप बढायो । सन् २०१५ मा जियाले पुत्र वियोग सहनुपर्यो ।
कुनै समय बंगलादेश क्रिकेट बोर्डको विकास समितिको अध्यक्ष रहेका उनका कान्छा छोरा अराफत रहमानको हृदयघातले निधन भयो । खालिदाका जेठा छोरा तारिक यतिबेला निर्वासनमा लण्डनमा थिए । सन् २०१८ मा ग्रिनेड घटनाको षड्यन्त्र रचेको आरोपमा हसिना सरकारले खालिदा र उनका छोरा तारिक रहमानसहित बीएनपीका धेरै नेता तथा कार्यकर्तालाई आजीवन काराबासको सजाय सुनायो ।
खालिदालाई सुरुमा जेलमा र त्यसपछि घरमै नजरबन्द गरिएको थियो । उनलाई उपचारका लागि विदेश जान समेत रोक लगाइयो । विदेशमै भएकाले तारिकले जेल सजाय काट्नु परेन । बीएनपीले यस निर्णयलाई राजनीतिक प्रतिशोध मान्दै आएको छ । गत वर्ष विद्यार्थी आन्दोलन सफल भएपछि मात्रै खालिदा ६ वर्षपछि सार्वजनिक भएकी थिइन् ।
बंगलादेशमा तीन दिन राष्ट्रिय शोक
बंगलादेशले तीन दिनका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । खालिदाको अन्त्येष्टी बुधबार हुनेछ । अन्तरिम सरकारमा कानुन मन्त्रालय सम्हालिरहेका आसिफ नजरुलले संसद् भवन अगाडि श्रद्धान्जली सभा गरिने बताए । त्यस्तै, पूर्व राष्ट्रपति जिउर रहमानको समाधीस्थलसँगै जियाको शवलाई अन्त्येष्टी गरिने उनले बताए ।
जियाप्रति विश्वका नेताहरुले समवेदना प्रकट गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री सहवाज सर्रिफ, नेपालकी प्रधानमन्त्री सुशिला कार्की लगायत विभिन्न देशका नेताहरुले श्रद्धान्जली सन्देश पठाएका हुन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















