काठमाडौँ, पुस २८ : कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताएका छन् ।
आफूनिकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्तासँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । छलफलमा कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको उनले जानकारी दिए ।
‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहेको छु,’ उनले भने, ‘तपाईंहरु ढुक्क हुनुस्, पार्टी फुटदैन । तपाईंहरु पनि त्यसैमा लाग्नुस् । निराश हुने कामै छैन ।‘
उक्त छलफलमा कानुन व्यवसायीहरुले नेपाली कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको बताए । अहिले महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए ।
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य बलबहादुर केसी, मीनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरु शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको सहभागिता थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















