12/31/2025, 20:25:28
बुधबार, पुष १६, २०८२

विदेश गए पनि नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ : बाबुराम भट्टराई


काठमाडौँ, पुस १६ : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली नागरिकता लिएर विदेश गएका नेपालीहरूलाई अर्को नागरिकता भए पनि नेपाली नागरिकता निरन्तर राख्नुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै भट्टराईले नागरिकताको निरन्तरता र बहुपुस्ताका लागि सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

लाखौं मान्छे विदेशमा गएका छन् । उनीहरुलाई देशमा ल्याउन उपयुक्त नीति लिनुपर्छ । नेपाली विदेश गएर देश खाली भएको छ । राष्ट्रवादको भूत त्यागौं,’ उनले भने,  ‘नेपाली नागरिकता लिएर विदेश गएका मान्छेले अर्को नागरिकता लिएका भए पनि त्यसलाई निरन्तरता दिनुपर्छ । तीन पुस्तासम्म नागरिकताको निरन्तरता दिउ ।

एलेन मस्क तीन देशको नागरिकता लिएर राष्ट्रपतिको सल्लाहकार हुन सक्छन् । तर डिभी परेर विदेश गएका नेपालीको नागरिकता हटाइयो भने, बुबा–आमासहित परिवार नै देश छाड्न बाध्य हुन्छन् । यस्तो नहोस्,’ भट्टराईको भनाइ थियो ।

अन्तर्राष्ट्रिय र घरेलु अर्थतन्त्र तथा समाज सुधारसँग जोड्दै उनले लाखौं नेपाली विदेशमा रहेका तथ्यांकमा आधारित नीति आवश्यक रहेको बताए । उनले नागरिकताको राजनीति र राज्यव्यवस्थामा द्वन्द्व सिर्जना हुन नदिन सुझाव दिँदै राजनीतिक स्थिरता, भूराजनीतिक सम्बन्ध सुधार र बैंकिङ क्षेत्रको सुधारमार्फत केही वर्षभित्रै मुलुकलाई शान्ति र समृद्धितर्फ लैजान सकिने धारणा व्यक्त गरे ।