03/01/2026, 01:28:15
शनिबार, फागुन १६, २०८२

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?


विराटनगर, पुस २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने संकेत गरेपछि पुसको चिसोमा झापाको राजनीतिक माहोल एकाएक गर्माएको छ ।

विशेष गरी विभिन्न दलसँग आबद्ध झापा-५ का युवा नेताले यसपटकको चुनावलाई पुस्तान्तरणको अवसरका रूपमा हेर्न थालेका छन्। वर्षौंदेखि उही अनुहार र उही शक्ति केन्द्र वरिपरि घुम्दै आएको यो निर्वाचन क्षेत्रमा अचानक नयाँ बहस पनि सुरु भएको छ।

झापा–५ निर्वाचन क्षेत्र मात्र होइन, यो एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक पहिचानसँग जोडिएको ‘गढ’ पनि हो । त्यसैले बालेन्द्रको सम्भावित उम्मेदवारीलाई धेरैले स्थापित राजनीतिमाथिको प्रत्यक्ष चुनौतीका रूपमा हेर्न थालेका छन्।

युवामा बदलिँदो मनोविज्ञान

यसपटकको बहसको केन्द्रमा छन्, विभिन्न दल आबद्ध युवा नेताहरू । उनीहरू खुलेरै भन्न थालेका छन्, ‘अब पुस्तान्तरणको विकल्प छैन ।’ ओलीकै पार्टीमा आबद्ध एक युवा नेता भन्छन्, ‘अब पुस्तान्तरण जरुरी छ । जब्बर र दोहनकारीलाई बदल्नुको विकल्प छैन ।

कांग्रेससँग आबद्ध युवाहरू भने पुस्तान्तरणको माग स्वीकार गर्दै बाहिरबाट आउने उम्मेदवारप्रति केही सचेत देखिन्छन्। कांग्रेस निकट एक युवा नेताले भने, ‘पुस्तान्तरण जरुरी छ, तर त्यो स्थानीय संघर्षबाट आएको नेतृत्वमार्फत हुनुपर्छ । लोकप्रियताले मात्रै दीर्घकालीन राजनीतिक जिम्मेवारी धान्न सकिँदैन ।’ उनका अनुसार युवाको नाममा भावनात्मक लहरभन्दा नीति, कार्यक्रम र स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर निर्णय हुनुपर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता देवीप्रसाद पाठकले झापा–५ पूरै भ्रमण पश्चात् मतदाताको मनसाय बुझेरै बालेन्द्रलाई उम्मेदवार बनाउन लागिएको दाबी गरे । पाठकले भने, ‘बालेन हचुवाका भरमा उड्न लाग्नु भएको छैन, सबै नापतौल गरेपछि उम्मेदवार बन्न लाग्नु भएको हो ।’ उनका अनुसार मतदाताको यसपटकको मनोविज्ञान पहिला ओलीलाई जिताएर प्रधानमन्त्री बनायौं, यसपटक बालेन्द्रलाई जिताएर प्रधानमन्त्री बनाउने देखिन्छ।

पाठकका अनुसार क्षेत्र नम्बर ५ का जेन–जीहरूसँग समेत बालेन्द्रको सम्भावित उम्मेदवारीबारे संवाद सुरु भइसकेको छ । अन्य दल आबद्ध युवाहरूसमेत नयाँ अनुहारप्रति सकारात्मक देखिएको दाबी पाठकको छ।

गत मंसिर २८ मा झापाको दमकबाटै जेन–जी आन्दोलनको सन्देश बोकेर जेन–जी जागरण अभियान सुरु भएको थियो । नेपाल जेन-जी फ्रन्टमा आबद्ध युवा नेताहरू रक्ष बम, उपार्जुन चाम्लिङ र यतिष ओझाले सम्बोधन गरेका थिए। ‘अब झापा–५ ले युवा उम्मेदवार पाउँछ कि पाउँदैन, देशले नजर राखेर बसेको छ,’ जेन–जी नेता बमले भनेकी थिइन्, ‘यो ठाउँलाई हेरिरहेका छौं, भनिरहेका छौं, भदौ २३ मा बगेको रगत खेर नजाओस् ।

एमाले निकट युवा नेताहरू बालेन्द्रको सम्भावित उम्मेदवारीलाई अस्वीकारभन्दा पनि चुनौतीका रूपमा हेर्छन्। एमाले युवा नेता सन्तोष दुलालले भने, ‘ओली झापा–५ का लागि नयाँ अनुहार होइनन्। विकास, संगठन र राष्ट्रिय राजनीतिमा उहाँको योगदान छ। तर, युवाले प्रश्न उठाउनु सकारात्मक कुरा हो ।’ उनका अनुसार सामाजिक सञ्जालको प्रभाव बलियो भए पनि अन्तिम निर्णय मतदाताले स्थानीय योगदानका आधारमा गर्ने विश्वास एमाले युवामा छ ।

पुस्तान्तरण : नाम फेरिने कि सोच?

झापा–५ मा उठेको बहस बालेन्द्रको उम्मेदवारीमा मात्रै सीमित छैन, यो बहस नेतृत्व पुस्तान्तरणका नाममा मात्र हुने कि सोच र कार्यशैलीमै परिवर्तन आउने भन्ने गहिरो प्रश्नसँग पनि जोडिएको छ।

बालेन्द्रले झापा–५ को वस्तुस्थिति, विकास अवस्था र स्थानीय आवश्यकताबारे प्रारम्भिक सर्भेक्षण गरिसकेको बताइएपछि यो बहस झन् गम्भीर बनेको छ । सामाजिक सञ्जालमार्फत औपचारिक आह्वानको तयारी भइरहेको खबरले युवाको चासो अझ बढाएको छ ।

यो क्षेत्रमा यसपटकको चुनाव जित–हारको अंकगणित मात्र होइन, पुरानो राजनीतिक निरन्तरता र नयाँ राजनीतिक प्रयोगबीचको टकरावका रूपमा हेरिन थालेको छ । युवाहरूको एउटै स्वर सुनिन्छ, ‘अब प्रश्न को जित्छ भन्ने मात्र होइन, कस्तो राजनीतिले जित्छ भन्ने छ ?

– पर्वत पोर्तेल