12/29/2025, 10:57:42
सोमबार, पुष १४, २०८२

शिखर इन्स्योरेन्सको कार्यालयमा पुनः तालाबन्दी


सिँजा (जुम्ला), पुस १४ गते । रकम भुक्तानीमा आलटाल गर्न थालेपछि शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयमा जुम्लाका स्याउ किसानले दोस्रो पटक ताला लगाएका छन् । जुम्ला तातोपानी गाउँपालिकाका स्याउ किसानहरुले तालाबन्दी गरेका हुन् ।

शिखर इन्स्योरेन्स कम्पनीका कृषि शाखा प्रमुख सार्थकराज पाण्डेसहित तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकाका किसान, जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीको सहभागितामा बसेको बठैकमा स्याउ बिमाको रकम दिने विषयमा आलटाल भएकाले पुनः तालाबन्दी भएको हो ।

स्याउ बिमा गर्दा ३५ रुपियाँ २० पैसा प्रिमियम बुझाएका किसानहरुले २४ रुपियाँ भुक्तानी दिएको भन्दै आक्रोसित भएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका लगायतका केहि स्थानीय तहका किसानलाई खडेरीको बिमा रकम भुक्तानी दिइएको र तातोपानी, कनकासुन्दरी र पातारासीका किसानलाई असिना पानीको बिमा दिइएको भन्दै किसानहरु आक्रोसित भएका छन् ।

चन्दननाथ नगरपालिका ९ बयालकाटि गाउँका किसानलाई खेडरीको र उक्त गाउँसँगै जोडिको श्रीनगरका किसानलाई असिना पानीले क्षति गरेको बिमाङ्क दिइएको प्रति किसानहरुले आपत्ति प्रकट गरेका हुन् । तातोपानी लगायत अन्य दुई स्थानीय तहका किसानहरुले पनि खडेरी र असिना पानीले क्षति गरेको रकम पाउनुपर्ने माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको स्याउ किसान, बिमा कम्पनी, स्थानीय प्रशासनबिचको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि किसानहरु आक्रोशित भएर बिमा कम्पनीमा ताला लगाएका हुन् । चन्दननाथ नगरपालिकाबाहेक सात गाउँपालिकाका स्याउ किसानले बिमा कम्पनीले आफुहरुलाई ठगेको किसान आदिप्रसाद न्यौपानेले बताउनुभयो ।

तालाबन्दी गर्नु पहिले जिल्ला प्रशासनमा छलफल हुँदै । तस्बिर : नौरते नेपाली
तालाबन्दी गर्नु पहिले जिल्ला प्रशासनमा छलफल हुँदै । तस्बिर : नौरते नेपाली

शिखरले भ्रष्टचार गरेको उहाँको आरोप छ । स्याउको बिमा रकमबारे पटकपटक लिखित तथा मौखिक रुपमा गुनासो राख्दा पनि सुनुवाइ नभएको तातोपानी–६ का राजबहादुर रोकायाको भनाइ छ । प्राकृतिक प्रकोप र खडेरीका कारण स्याउबाली नष्ट भएको थियो ।

नियमानुसार किसानले बिमा रकमको दाबी गरेर पेस गरेका थिए । तर कम्पनीले मौसम विवरणको स्पष्ट रिपोर्ट देखाउन सकेन । स्थानीय तहले खडेरी परेकोभन्दा पनि फिल्ड भिजिट गरी कुन आधार र कुन समितिको निर्णयबाट भुक्तानी निर्धारण भएको उहाँले स्पष्ट पार्नु पर्ने बताउनुभयो ।

किसानले अहिले सम्बन्धित डिजिटल मौसम विवरणको रिपोर्ट दिनुपर्ने, किसानहरुको स्याउ बगैंचामा जानुपर्ने जस्ता आधार माग गरेका छन् । उनीहरुले पहिले गरेको र अहिले देखाएको बिमा नीतिसमेत फरकफरक देखिएको बताएका छन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले किसानले दाबी गरेको बिमा रकम तत्काल उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले अझै पनि किसानको अधिकारमाथि अंकुश लगाउन खोजिए सिधै अख्तियारमा जाने चेतवानी दिनुभयो ।

जम्लामा कुल पाँच हजार तीन सय ७९ जनाले स्याउ बिमा गरेका थिए । हालसम्म छ सय ५५ जनाले मात्र क्षति बापतको रकम पाएका छन् । नौ सय ४७ जनाको प्रक्रिया पूरा भइ प्रदान गर्ने तयारी छ । दुई सय ९४ जना किसानको हस्ताक्षर नहुँदा भुक्तानी ढिला भएको छ ।

– नौरते नेपाली