12/28/2025, 22:46:35
आइतबार, पुष १३, २०८२

मिर्गौला पीडितका दुःख अनेक


बागलुङ, पुस १३ गते । बागलुङ नगरपालिका–१, रामरेखाकी २२ वर्षीया मनिषा बोसेलले ७ वर्षदेखि मिर्गौलाको समस्या भोग्दै आउनु भएको छ । स्नातक तह प्रथम वर्षमा भर्ना भएपछि मिर्गौलामा समस्या देखिएपछि उहाँले २०७६ सालदेखि नियमित डायलायसिस सेवा लिइरहनु भएको छ ।

डायलायसिस सेवा लिनुपर्दा मनिषाको उच्च शिक्षाको सपना अधुरो छ । सामान्य ज्यालामजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आउनुभएका मनिषाका बुवाआमालाई छोरीको उपचार खर्च कसरी जुटाउने भन्ने समस्याले दिनरात पिरोलिरहन्छ ।

कमाइले भ्याउन्जेल त उपचारमा कुनै कमि गरेका छैनौँ’’  मनिषाकी फुपु गीता बोसेलले भन्नु भयो, ‘‘डायलायसिस गरेर सम्भव नभएपछि मिर्गौला प्रत्यारोपणको योजनामा पुग्यौँ, तर हामी गरिखाने मान्छेलाई धेर रकम जुटाउन नसक्दा बिलखबन्दमा छौँ ।’’

सहयोग जुटे उपचारमा सहज हुने र ज्यान बचाउन सकिन्छ भन्ने आशा जीवित रहेको गीता बताउनु हुन्छ । सवारी चालक मनिषाका बाबु यामबहादुर र खेती किसानी गर्ने आमा मीना छोरीको उपचार गराउन धेरै पहल गरे पनि पैसा बाधक बनेपछि निराश हुनु हुन्छ । ‘‘मजदुरी गरेर बिहान–बेलुकीको खाना जुटाउनै समस्या छ, मिर्गौला प्रत्यारोपण गर्ने त्यति धेरै पैसा हामीले कसरी जुटाउन सकिन्छ ?’ आमा मीनाले भन्नु भयो ।

यस्तै दक्षिण बागलुङको जैमिनी नगरपालिका–७, धुल्लुका कमल नेपालीको समस्या पनि उस्तै छ । मिर्गौला रोगबाट पीडित ३९ वर्षीय नेपालीको घरमा आम्दानीको स्रोत केही छैन । पत्नी भिमा र छोराछोरीसहित बाबुआमालाई पाल्नुपर्ने जिम्मा नेपालीको काँधमा छँदैछ । ‘‘बाँचे परिवारको जीविकोपार्जन गर्न सक्छु भन्ने विश्वास छ, उपचारका लागि सहयोगी खोज्दै छु’’ उहाँले भन्नु भयो, ‘‘उपचार खर्च जुटाउन नसके घरमा चुल्हो कसरी बल्ला ?’’

पत्नि भीमाले मिर्गौला दिन तयार भए पनि खर्च अभावले त्यो काम अधुरै छ । कमलले भारत र साउदी अरब पुगेर कोरोना अघि काम गर्नु हुन्थ्यो । बिरामी भएपछि स्वदेश फर्किनु भएका उहाँलाई मिर्गौला समस्याले सताएपछि अहिले धौलागिरि प्रादेशिक अस्पतालमा नियमित डायलायसिस गरिरहनु भएको छ ।

मनिषा र कमल मिर्गौलाबाट पीडित समाजका प्रतिनिधि पात्र मात्रै हुनु हुन्छ । पछिल्लो ४ वर्षदेखि धौलागिरि प्रादेशिक अस्पतालमा डायलायसिस गर्ने बिरामीको सङ्ख्या बढिरहेको छ । धौलागिरि अस्पतालमा अहिले दैनिक ७० जना बढीले नियमित डायलायसिस गरिरहनु भएको छ । बागलुङकै कतिपयहरू पोखरासम्म पुगेर डायलायसिस सेवा लिनुपर्ने बाध्यता छ ।

मिर्गौला प्रत्यारोपण गर्ने काम जटिल छ । पहिला त मिर्गौला दान गर्ने व्यक्ति पाउन मुस्किल छ । त्यस बाहेक दिने र बिरामीको रक्त समूह मिल्नु पर्छ । दिने व्यक्तिको सहमति बनाउनु पर्छ । त्यसपछि परीक्षण गर्ने र प्रत्यारोपण गर्दा २० देखि २५ लाख रुपियाँ बढी रकम खर्च हुने गर्छ ।

– रामकृष्ण बोहरा