12/29/2025, 14:02:22
सोमबार, पुष १४, २०८२

दाउन्ने सडक खण्डमा सडक निर्माणको काम तीव्र गतिमा


नवलपरासी, पुस १४ : महेन्द्र राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्डमा एक साता यता धमाधम सडक निर्माणको काम भइरहेको छ ।

पुस पहिलो सातासम्म दैनिक २० मिटर मात्र सडक निर्माणको काम हुँदै आएकोमा गत आइतबारदेखि एकतर्फी दैनिक १ सय २० मिटर सडक ढलानको काम हुँदै आएको छ ।

यो सडक हेर्ने आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकालका अनुसार गत पुस ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षणपछि त्यहा काम गर्ने मजदुर र मेशिन थपेर कामको गतिलाई तीव्रता दिइएको हो । यही गतिमा काम हुँदा आउँदो फागुनसम्म दाउन्नेमा एकतर्फी सडक निर्माणको काम सकिने अपेक्षा गरिएको ढकालको दाबी छ ।

फिल्डमा रहेका इन्जिनियर राकेश झाका अनुसार पुस दोस्रो सातादेखि दाउन्नेमा दैनिक बिहान ७ बजेदेखि राति १० बजेसम्म काम भइरहेको छ । स्थलगत निरिक्षणका क्रममा दाउन्नेको ६३ मोड नजिकमा सडक विस्तारको ठेक्का लिएका चिनियाँ ठेकेदारका प्रतिनिधिले दाउन्नेमा दैनिक २० मिटरका दरले राजमार्ग ढलाई भइरहेको रिपोर्टिङ गरेका थिए ।

त्यतिबेलै कुलमानले दैनिक २० मिटरका दरले काम हुँदा एक महिनामा ६ सय मिटर मात्र काम हुने भन्दै कामको गति बढाउन र हरेक हप्ता आफूलाई रिपोर्टिङ गर्न निर्देशन दिएका थिए । उनले काम गर्ने मजदुरको संख्या थपेर एकै पल्ट ६, ७ ठाउँबाट ढलानको काम गर्न निर्देशन दिएका थिए । यो माघभित्र दाउन्नेमा कम्तीमा एकतर्फी सडक ढलान र कालोपत्रे गरिसक्न निर्देशन दिएका थिए ।

त्यसयता काम गर्ने श्रमिक र ढलान मेशिन थपेर धमाधम काम भइहरेको इन्जिनियर झाले जानकारी दिए । बुटवल–नारायणगढ सडक खण्डको १ सय १४ किलोमिटर सडकमध्ये दुम्कीवास–बर्दघाटको बीचमा १४ किलोमिटर पहाडी सडक दाउन्नेमा पर्दछ ।

दाउन्ने बाहेकको यो क्षेत्रमा सोमबारसम्म ७७ प्रतिसत सडक निर्माणको काम सकिएको छ । दाउन्नेमा ढलान सडक निर्माणको कामले गति लिएको हो । दाउन्नेको १४ किलोमिटर सडकमध्ये धेरैजसो स्थानमा वर्षायाममा अत्यधिकम पानी रसाउने भएका कारण यहा ढलान सडक निर्माणको काम अघि बढाइएको हो । कालोपत्रे सडक भन्दा ढलान सडक ६ गुणा बढी टिकाउ हुने आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिए ।

– नारायण शर्मा