12/29/2025, 16:04:43
सोमबार, पुष १४, २०८२

कुलमान, रवि र बालेनबिचको वार्ता विफल


काठमाडौँ, पुस १४ गते  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच एकता गर्ने उद्देश्यले पुनः सुरु गरिएको संवाद हालसम्म सहमतिमा पुग्न सकेको छैन । आइतबार साँझ रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच काठमाडौँमा भएको वार्ता निष्कर्षविहीन बनेको हो ।

छलफल राति अबेरसम्म चले पनि पावर सेयरिङलगायतका विषयमा सहमति नजुट्दा वार्ता विफल भएको स्रोतले जनाएको छ । उच्च स्रोतका अनुसार वार्तामा सहमति हुन नसके पनि संवादको सम्भावना भने अझै समाप्त भइसकेको छैन ।

स्रोतका अनुसार सोमबार बिहान पुनः छलफल गर्ने सहमति भएको छ । सोमबारसम्म समानुपातिक तर्फको बन्दसूची तयार गर्नुपर्ने कार्यतालिका रहेकाले त्यसअघि नै सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । बिहान १० बजेसम्म सहमति जुटाउने लक्ष्यसहित पुनः बैठक बस्ने तयारी गरिएको स्रोतले बतायो ।

शक्ति बाँडफाँडमा कुरा नमिल्दा सहमति हुन नसकेको जनाइएको छ। यसैबिच, जेनजी अभियन्ता सुदन गुरुङलगायत अन्य अभियन्ताहरूले दुवै पक्षलाई एकताका लागि चर्को दबाब दिइरहेका छन् । वार्ता भइरहेका बेला उनीहरू वार्ता स्थलमै पुगेर दबाब दिएका थिए । आइतबार साँझबाट सुरु भएको बैठक मध्यरातसम्म चलेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..