01/14/2026, 12:48:08
बुधबार, पुष ३०, २०८२

‘पैसा तिरेर रोग नकिनौँ, प्याकेटको पछाडि यो कुरा हेरेर मात्र किनौँ’


काठमाडौँ, पुस ३० गते । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले आफ्नो यु-ट्युब पोडकास्ट भिडियोमा मुटुका लागि सबैभन्दा हानिकारक तत्व ‘ट्रान्स फ्याट‘ बारे महत्वपूर्ण जानकारी दिनुभएको छ। उहाँका अनुसार हामीले सामान्यतया नराम्रो ठान्ने खसीको मासु, घिउ, बटर वा अन्डाको पहेँलो भागको बोसो भन्दा पनि कैयौँ गुणा हानिकारक ‘ट्रान्स फ्याट‘ हो।

संसारकै सबैभन्दा खराब बोसो: ट्रान्स फ्याट

डा. अनिलका अनुसार ट्रान्स फ्याट (Trans Fat) यस्तो बोसो हो, जसको शरीरलाई कुनै फाइदा छैन, केवल हानि मात्र छ। यो प्राकृतिक रूपमा भन्दा पनि उद्योगहरूमा वनस्पति तेललाई जमाएर (Solid बनाएर) तयार गरिन्छ। यसले खानेकुरालाई लामो समयसम्म टिकाउन र स्वादिलो बनाउन मद्दत गर्ने भए पनि स्वास्थ्यका लागि भने यो विष सरह हुन्छ।

ट्रान्स फ्याटले के गर्छ?

हृदयघातको जोखिम: यसले रगतमा नराम्रो कोलेस्ट्रोल (Bad Cholesterol) बढाउँछ र राम्रो कोलेस्ट्रोल घटाउँछ।
नलीमा अवरोध: रगत बग्ने नलीको भित्री पत्रलाई कडा बनाउने र त्यहाँ बोसो जमाएर नली बन्द गराउने काम गर्छ, जसले गर्दा एक्कासी हृदयघात (Heart Attack) हुन्छ।

सबैलाई असर: बच्चादेखि वृद्धसम्म र गर्भवती महिलालाई समेत यसले असर गर्छ।

कुन-कुन खानेकुरामा पाइन्छ ट्रान्स फ्याट?

हामीले थाहा नपाइकन दैनिक रूपमा ट्रान्स फ्याट खाइरहेका हुन सक्छौं। डा. अनिलले विशेषगरी निम्न खानेकुरामा सचेत रहन सुझाव दिनुभएको छ:

१. वनस्पति घिउ (डाल्डा): यसमा पकाइएका जुनसुकै परिकार।
२. बाटो छेउका तारेका खानेकुरा: एउटै तेल बारम्बार तताएर पकाइएका समोसा, पकौडा, सेलरोटी आदि।
३. बेकरी परिकार: केक, पेस्ट्री, डोनट, कुकिज, बिस्कुट, पफ, क्रोइसेन्ट।
४. प्याकेटका खानेकुरा: चाउचाउ (इन्स्ट्यान्ट नुडल्स), भुजिया, दालमोठ, आलु चिप्स, माइक्रोवेभ पपकर्न।
५. अन्य: कफीमा हालिने नन-डेरी क्रिमर, फ्रोजेन पिज्जा र फास्ट फुडहरू।

कसरी बच्ने ?

लेबल हेर्ने बानी बसालौं: बजारबाट प्याकेटका खानेकुरा किन्दा पछाडि लेखिएको विवरण (Nutrition Facts) पढ्नुहोस्। त्यहाँ ‘Trans Fat‘ को मात्रा ‘0’ (शून्य) छ भने मात्र त्यो सुरक्षित हुन्छ।

तेलको पुनः प्रयोग नगरौं: घरमा पकाउँदा पनि एउटै तेललाई बारम्बार तताएर प्रयोग नगर्नुहोस्। धेरै धुवाँ आउने गरी तेल नतताउनुहोस्।

सचेत बनौं: बाहिरका खुला र धेरै तारेका खानेकुरा कम गरौं।

नेपाल सरकारले पनि खानेकुरामा ट्रान्स फ्याटको मात्रा २ प्रतिशत भन्दा कम हुनुपर्ने नियम ल्याइसकेको छ। खाद्य गुणस्तर विभागले ट्रान्स फ्याट बढी भएका केही उत्पादन फिर्ता समेत गराएको सन्दर्भ जोड्दै डा. अनिलले भन्नुभयो, “हामीले पैसा तिरेर रोग नकिनौँ, आफैँ सचेत बनौँ।

श्रोत: (यो सामग्री वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले आफ्नो यु-ट्युब च्यानल ‘ओम मूर्ति अनिल पोडकास्ट’ मार्फत सार्वजनिक गर्नुभएको भिडियो सन्देशका आधारमा, खानपानलाई प्राथमिकता दिँदै तयार पारिएको स्वास्थ्य सम्बन्धी समाचार हो।)