01/13/2026, 22:49:23
मङ्गलबार, पुष २९, २०८२

“निर्वाचन घोषणापछि विधि र प्रविधि परिवर्तन हुँदैन”


काठमाडौँ, पुस २९ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने बताउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यो अभ्यास अन्तर्राष्ट्रिय निर्वाचन कानुनविपरीत हुने बताउनुभयो ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, ‘निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन हुँदैन, यो अन्तर्राष्ट्रिय निर्वाचन कानुनको मान्यता हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले हाल विदेशी सहयोग बिना, स्वदेशी स्रोत–साधनकै प्रयोग गरेर निर्वाचन सञ्चालन भइरहेको प्रष्ट पर्नुभएको छ । निर्वाचनमा खटिने कर्मचारीको सुविधा कटौती गरेर निर्वाचन गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ।

आचारसंहिता अनुगमन, निर्वाचन कार्यालयको व्यवस्थापन, शान्ति–सुरक्षा तथा मिस–इन्फर्मेसन, डिस–इन्फर्मेसन र हेट स्पिच नियन्त्रण आयोगका लागि प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस विषयमा आयोग सचेत र सक्रिय रहेको उल्लेख गर्नुभयो ।

आचारसंहिता अनुगमनको सन्दर्भमा आयुक्त भण्डारीले विगतबाट पाठ सिक्दै सुधारका उपाय खोजिँदै गएको बताउनुभएको छ ।

निर्वाचन कार्यालयको स्थानबारे बोल्दै उहाँले सबै निर्वाचन कार्यालय सदरमुकाममै राख्ने विषय आयोगको एकल निर्णयले सम्भव नहुने स्पष्ट पार्नुभयो।

शान्ति–सुरक्षाका विषयमा सरकारसँग समन्वय आवश्यक हुने उहाँको भनाइ छ ।