01/14/2026, 12:59:54
बुधबार, पुष ३०, २०८२
दसौं राष्ट्रिय खेलकुद

‘मिति तोकेर जनता झुक्याउने काम बन्द गर्नुस्’


सुर्खेत, पुस ३० : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दसौं राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले आफ्नो पूर्वतयारी नगरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्रीसँगको भेटवार्तामा सुर्खेत आइपुगेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासहितको टोलीलाई मुख्यमन्त्री कँडेलले मिति तोकेर जनता झुक्याउने काम बन्द गर्न सुझाएका थिए ।

मिति तोक्ने पपुलर हुने, अन्य प्रक्रिया रोक्ने काम बन्द गर्नुहोस । मन्त्री हुनासाथ पपुलर हुन मिति तोक्ने, अन्य प्रक्रिया रोक्ने अनि तयारी थाल्नुपर्दैन ? मुख्यमन्त्रीले प्रश्न गरे । दसौं राष्ट्रिय खेलकुद आयोजना गर्न कर्णाली प्रदेश सरकार जहिल्यै तयार रहेको बताउँदै उनले भने, ‘संघीय सरकारले पपुलर हुनलाई पटक–पटक मिति तोक्ने र जनता झुक्काउने काम गरिरहेको छ ।

अब कर्णाली प्रदेश आउँदा खेल खेलाउने गरेर आउन मन्त्रीलाई सुझाउँदै मुख्यमन्त्री कँडेल कड्किए, ‘फागुन ५ देखि निर्वाचन आचारसंहिता सुरु हुन्छ । खरिद प्रक्रिया हालसम्म सुरु भएको छैन, कसरी तोकिएको मितिमा दसौं राष्ट्रिय खेलकुद हुन्छ ?

पटक पटक सरेर आएको दसौं राष्ट्रिय खेलकुदको पछिल्लो पटक सुशिला कार्की नेतृत्वको सरकारले फागुन १ देखि ७ सम्म नयाँ मिति तोक्ने निर्णय गरेको थियो । यो प्रतियोगिताको मुख्य आयोजक संघीय सरकारमातहत राष्ट्रिय खेलकुद परिषद् रहने व्यवस्था छ ।

युवा तथा खेलकुदमन्त्री गुप्ताले भने तोकिएकै समयमा प्रतियोगिता हुने दाबी गरे । प्रतियोगिताका संघ सरकारले बजेट सुनिश्चित गरेर टेन्डरको प्रक्रिया अघि सारेको उनको भनाइ थियो ।

प्रतियोगिता जसरी पनि हुन्छ । राष्ट्रिय खेलकुद परिषद्ले गर्ने सम्पूर्ण कार्य अघि सारेका छौं,’ उनले भने, ‘खरिद ऐनले प्रक्रिया लम्ब्याएको छ ।’ कर्णाली प्रदेश सरकारले सदस्य–सचिव नियुक्ति गर्न नसक्दा खेलाडी छनोटलगायत अन्य काममा पनि बाधा पुगेको छ ।

हामी जति तातिए पनि काम छैन । प्रदेश सरकार आफै पनि समन्वय र सहकार्यमा जुट्नुपर्‍यो,’ मन्त्री गुप्ताले भने, ‘कर्णाली प्रदेश सरकारले सकारात्मक भूमिका खेले प्रतियोगिता गर्न सहज हुन्छ । हामी आयोजक हैन भन्दै कर्णाली प्रदेश सरकार पन्छिने अनि कसरी संघ सरकारले मात्र सम्पूर्ण तयारी गर्न सक्छ ?

दसौं राष्ट्रिय खेलकुद गर्न एक महिना मात्र बाँकी छ । कर्णाली प्रदेशको रंगशाला र प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको बैठकमा पुगेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र अन्य खेलाडीबीच भनाभन हुँदा बैठकमै चर्काचर्की परेको थियो ।

– ज्योति कटुवाल