01/14/2026, 13:18:36
बुधबार, पुष ३०, २०८२

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था


नेपालगन्ज, पुस ३० गते । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नानको विशेष व्यवस्था गरिएको छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड  र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदी तटमा मकर स्नानको विशेष व्यवस्था गरिएको नाट्टा बाँकेले जनाएको छ ।

नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको बैठकले बुधबार राति राप्ती नदीको सिधनियाघाटमा भजन–कीर्तन लगायतका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सो संस्थाका महासचिव भागीराम ओलीले बताउनुभयो । उहाँका अनुसार, माघ १ गते बिहान भक्तजनलाई डोरी लगाएर सुरक्षित र व्यवस्थित रूपमा राप्ती नदीमा स्नान गराइने व्यवस्था गरिएको छ ।

कार्यक्रमलाई धार्मिक र सांस्कृतिक महत्वका साथै पर्यटकीय आकर्षणको रूपमा थप प्रभावकारी बनाउन राप्ती नदी किनारमा सार्वजनिक शौचालय निर्माण र अस्थायी चेन्जिङ रुम निर्माण गरिएको महासचिव ओलीले बताउनुभयो । उहाँले यसले आगन्तुक भक्तजनलाई सुविधा र सहजता प्रदान गर्ने बताउनुभयो ।

माघीमा मकर स्नान हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन भएकाले धार्मिक विश्वासअनुसार मकर स्नानले सबै प्रकारका पापबाट मुक्ति दिलाउने जन-आस्था छ । बाँके जिल्लामा पहिलोपटक व्यवस्थित रूपमा मकर स्नान कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवर्धन गर्नु रहेको नाट्टा बाँकेले जनाएको छ ।

सो स्नान व्यवस्थापनमा स्थानीय सरकार, पर्यटन व्यवसायी, धार्मिक सङ्घसंस्था र सर्वसाधारणको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ । नाट्टा बाँके च्याप्टरले यस कार्यक्रममार्फत बाँकेलाई धार्मिक तथा पर्यटन गन्तव्यको रूपमा चिनाउने लक्ष्य लिएको संस्थाले जनाएको छ ।

– सिराज खान