01/14/2026, 14:12:35
बुधबार, पुष ३०, २०८२

जेन-जी आन्दोलन अस्वभाविक थियो, सुनियोजित थियो : एमाले अध्यक्ष ओली


काठमाडौँ, पुस ३० : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्‍त्री केपी शर्मा ओलीले २३ र २४ भदौको आन्दोलन सुनियोजित षड्यन्त्र रहेको बताएका छन् । उनले आरटी इन्डियासँगको कुराकानीमा यस्तो बताएका हुन् । यो रूस सरकारद्वारा सञ्चालित अन्तर्राष्ट्रिय समाचार नेटवर्क हो ।

यो कुनै सामान्य र स्वभाविक घटना थिएन । यो अस्वभाविक थियो र एक्कासी हुनै सक्दैन । यो सुनियोजित थियो,’ उनले सोमबार आरटी इन्डियासँगको अन्तर्वार्तामा भनेका छन् । जेन-जी पुस्तालाई अघि सारेर आन्दोलनमा अराजक तत्वहरूले घुसपैठ गरेको उनले बताए । असामाजिक तत्वहरूले संसद् भवनमा आक्रमण गरेको उनको दाबी छ ।

श्रीलंका र बंगलादेशले आफ्नो देशमा भएजस्तै प्रदर्शन नेपालमा पनि हुनसक्ने चेतावनी त्यसअघि नै दिएको उनले बताए । ‘बंगलादेश र श्रीलंकाले हामीलाई भनिरहेकै थिए । यस्तो हुनसक्छ भनेर नेताहरुले भनिरहेकै थिए । र भयो । यो हामीलाई गरिबीमा फर्काउनका लागि हाम्रो लोकतन्त्रमाथि गरिएको आक्रमण हो,’ ओलीले भने ।

उनले केही वर्षदेखि नै यस घटनाको तयारी भइरहेको बताए । र, अवस्थालाई गम्भीरताका साथ बुझ्न नसक्नु आफ्नो सरकारको कमजोरी भएको स्विकारे । यस घटनाको छानविन हुन समय लाग्ने पनि उनले बताए ।

आफ्नो कार्यकालमा दुबै छिमेकीसँग सम्बन्ध राम्रो रहेको र नेपालको भूमी कसैका विरुद्ध पनि प्रयोग गर्न नदिने प्रतिवद्धता कायमै राखेको बताए । ‘ हाम्रो कार्यकालमा चीनसँग राम्रो सम्बन्ध थियो । यो यथार्थ हो । भारतसँगको सम्बन्ध राम्रो थियो । मैले कुनै पनि छिमेकीविरुद्ध काम गरिँन । कसैविरुद्ध आफ्नो भूमी प्रयोग हुन नदिने हाम्रो नीति छ,’ उनले भने ।

उनले नेपालमा निर्वाचनका लागि उपयुक्त वातावरण बन्न नसकेको बताए ।

फेरि प्रधानमन्त्री बन्नुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘नेपालमा हामी अति लोकप्रिय पार्टी हौं र म यसको नेता छु । पछिल्ला ६० वर्षदेखि जनताका लागि काम गरिरहेको छ । मलाई मानिसहरुले गरे । आफ्नो निर्वाचन क्षेत्रमा मलाई लोकप्रिय मत दिएर जिताए । तर मुख्य कुरा, म आउँछु वा आउँदिन भन्ने होइन । मेरो देशको सार्वभौमसत्ता कायम हुनुपर्छ भन्ने हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा सम्मिलित भएर सक्रिय राजनीतिमा आउने बालेन्द्र शाहको निर्णयको पनि उनले स्वागत गरे ।

उनी युवा छन् । उनी र्‍यापर हुन् । उनी राजनीतिमा इच्छुक छन् । काठमाडौंको मेयर बने , त्यो सबै राम्रो छ । राजनीतिक पार्टी खोलेर चुनावमा आएका छन् । म उनीहरुको कामको प्रशंसा गर्छु र सम्मान गर्छु । राजनीतिक पार्टीमा संलग्न भइसकेपछि जनताप्रति हुनुपर्छ । यो राम्रो कुरा हो,’ उनले भने, ‘तर प्रधानमन्त्री बन्ने कुरा हाइपोथेटिकल कुरा भयो । म त्यसमा टिप्पणी गर्न चाहन्न ।