01/13/2026, 22:42:53
मङ्गलबार, पुष २९, २०८२

बंगलादेशद्वारा विश्वकप खेल्न भारत नजाने अडान कायमै


लन्डन, पुस २९ : बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले मंगलबार भारतमा ट्वान्टी–२० विश्वकप  खेल्न नजाने आफ्नो अडानलाई दोहोर्‍याएको छ । विश्व क्रिकेटको सर्वोच्च संस्था (आईसीसी) सँगको संवादपछि बंगलादेश आफ्नो पहिलो धारणामै अडिग रहेको हो ।

दुई देश बीचको तनाव बढिरहेको समयमा बंगलादेशले सुरक्षाको कारण देखाई भारतमा हुने भनिएको आफ्नो खेल सहआयोजक श्रीलंकामा सार्न आईसीसी समक्षा सार्न अनुरोध गरेको थियो । फेब्रुअरी ७ बाट सुरु हुने ट्वान्टी–२० विश्वकपमा बंगलादेशले आफ्नो समूह चरणको नेपालसहितका ४ खेलहरु भारतमा खेल्ने तालिका छ ।

भारतले बंगलादेशका तीव्र बलर मुस्ताफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटबाट हटाएपछि यी दुई राष्ट्रबीचको विवाद बढेको थियो । यसअघि पनि आईपीएलको विभिन्न फ्रेन्चाइज टोलीबाट खेलिसकेका मुस्ताफिजुरलाई कोलकाता नाइट राइडर्सले डिसेम्बरमा १० लाख डलरमा अक्सनबाट लिएको थियो । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निर्देशनमा कोलकाताले रहमानलाई आफ्नो टोलीबाट हटाएको थियो ।

बंगलादेशमा अल्पसंख्यक समुदायमाथि चरम दमन भइरहेको पृष्ठभुमिमा भारतले यो निर्णय गरेको थियो । तर रहमानलाई आईपीएलमा हटाउँदा ढाकामा आक्रोश उर्लिएको छ । मंगलबार आईसीसीसँगको भिडियो कन्फ्रेन्सपछि बीसीबीले भनेको छ, ‘आईसीसीलाई बंगलादेशका खेलहरु भारत बाहिर सार्न बिचार गर्न पुनः अनुरोध गरेका छौं ।

२०२४ मा ढाकामा भएको जनआन्दोलनपछि भारत निकट बंगलादेश प्रधानमन्त्री शेख हसिना  पदच्युत हुन पुगेकी थिइन् । यसले भारत र बंगलादेशको राजनीतिक सम्बन्धमा चिसोपन ल्याएको थियो । भारतका विदेशीमन्त्रीले गत महिना मुस्लिम बहुसंख्यक भएको बंगलादेशमा अल्पसंख्यकहरु प्रति निरन्तरत शत्रुतापूर्ण व्यवहार भइरहेको भनेर निन्दा गरेका थिए ।

यता बंगलादेशका अन्तरिम नेता एवंम नोबेल शान्ति पुरस्कार विजेता मोहम्म युनुसले भारतले हिंसाको परिणामलाई बढाएर देखाएको आरोप लगाएका छन् ।

बीसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षाको कारण देखाउँदै भारत भ्रमण नगर्ने निर्णयमा बीसीबीले आफ्नो अडान दोहर्‍याएको छ । आईसीसीले प्रतियोगिताको खेल तालिका पहिला नै जारी गरिसकेकाले बीसीबीलाई आफ्नो निर्णयमा पुर्नविचार गर्न अनुरोध गरेको भए पनि बोर्ड आफ्नो अडान कायमै राख्दछ ।

आईसीसीले यस बारेमा कुनै प्रतिक्रिया जनाएको छैन । लिट्टन दासको कप्तानीमा रहेको बंगलादेश आईसीसी ट्वान्टी–२० वरीयतामा नवौं स्थानमा छ । बंगलादेशले ट्वान्टी–२० विश्वकपका यसअघिका नौं संस्करण खेल्दै आए पनि सेमिफाइनल पुग्न सकेको छैन ।