गोरखा, पुस २९ गते । गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको ‘खिचडी यात्रा’ मंगलबार बिहानबाट सुरु भएको छ।
गोरखनाथ र कालिका मन्दिरको प्रचारप्रसार गर्दै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले बाजागाजासहित खिचडी टोली गोरखपुरतर्फ प्रस्थान गरेको हो। गौमाता सेवा महासङ्घको पहलमा विगत तीन वर्षदेखि यो परम्परालाई पुनः निरन्तरता दिन थालिएको हो।
प्राचीनकालदेखि नै गोरखाबाट गोरखपुरमा खिचडी पठाउने चलन भए पनि बीचमा झण्डै २० वर्षभन्दा बढी समय यो परम्परा रोकिएको थियो। माघी पर्वको अवसरमा गोरखाबाट लगिएको खिचडी गोरखपुरको गोरखनाथ मन्दिरमा चढाउने धार्मिक मान्यता छ। चामल, मासको दाल, घ्यू, नुन र बेसार मिसाएर बनाइएको खिचडीको यो टोली मंगलबार भैरहवा पुग्ने र माघ १ गते गोरखपुर पुग्ने कार्यक्रम रहेको छ।
महासङ्घका अध्यक्ष होमसिंह बस्न्यातका अनुसार माघीका दिन ब्रह्ममुहूर्तमा गोरखाको खिचडी चढाएपछि मात्र गोरखपुरमा खिचडी भोग गर्ने परम्परा छ। ५० जनाको टोली सहभागी रहेको यो यात्राले दुई देशबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ। हराउँदै गएको ऐतिहासिक परम्परा जोगाउन यसले महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष बस्न्यातले बताए।
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले यो यात्राले उत्तर प्रदेश र गोरखाबीचको धार्मिक सम्बन्ध बलियो बनाउने उल्लेख गरे। यस माध्यमबाट गोरखामा लाखौँ भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















