01/13/2026, 13:55:08
मङ्गलबार, पुष २९, २०८२

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण


कञ्चनपुर, पुस २९ गते । कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन संरक्षण र पर्यटन प्रवद्र्धनको सङ्गमस्थलका रूपमा विकास हुँदै गएको छ । वन संरक्षणलाई प्राथमिकतामा राख्दै यहाँ आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न पूर्वाधार निर्माण र सौन्दर्यकरणका काम सञ्चालन भइरहेका छन् ।

सामुदायिक वनको कार्यालय परिसर तथा वनभित्र रहेका प्राकृतिक तालहरूलाई रङ्गीबिरङ्गी झन्डाले सजाइएको छ । यसले हरियाली वनसँगै तालहरूको प्राकृतिक सौन्दर्य अझै आकर्षक बनेको छ ।

सामुदायिक वनका अध्यक्ष गोपाल भारतीका अनुसार करिब तीन हजार छ सय मिटर क्षेत्र झन्डाले सजाइएको छ । “वन र ताल अवलोकन गर्न आउने पर्यटकको सहजताका लागि बस्न मिल्ने बेन्च तथा खरले छाएका ससना आश्रयस्थल निर्माण गरेका छौँ,” अध्यक्ष भारतीले भन्नुभयो, “त्रिकेश्वर महादेव तालको वरिपरि २० र झरना तालको वरिपरि १० आश्रयस्थल निर्माण गर्ने योजना छ ।”

उहाँका अनुसार हालसम्म ११ आश्रयस्थल निर्माण सम्पन्न भइसकेका छन्भने २० बेन्च राखिएका छन् । थप ३० बेन्च निर्माण भइरहेको छ । सामुदायिक वनभित्र रहेका दुवै तालमा डुङ्गा सञ्चालनको तयारी गरिएको छ । “दुवै तालमा दुई–दुईवटा डुङ्गा सञ्चालन गर्ने तयारी गरेका छौँ,” अध्यक्ष भारतीले भन्नुभयो, “डुङ्गा माग गरिसकेका छौँ, यसबाट पर्यटकहरूले डुङ्गा सयर गर्दै प्राकृतिक आनन्द लिन सक्नेछन् ।”

त्यसैगरी, बालबालिका, युवापुस्ता र वयस्कलाई लक्षित गर्दै सामुदायिक वनभित्र झुला राख्ने तयारी पनि भइरहेको छ । झुला खरिदका लागि विभिन्न सङ्घसंस्थासँग सहकार्य भइरहेको अध्यक्ष भारतीले जानकारी दिनुभयो । “लुम्बिनी विकास बैङ्कसँग सहकार्य गरेर तीनवटा झुला राख्ने योजना छ,” उहाँले भन्नुभयो ।
सामुदायिक वनको कार्यालय परिसरमा गोलघर निर्माण भइसकेको छभने प्रवेशद्वार (गेट)निर्माणको कार्य अगाडि बढाइएको छ । पिकनिक स्पट निर्माणको कामसमेत सुरु भइसकेको र माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष भारतीले बताउनुभयो ।

पर्यटन प्रवद्र्धनसँगै वन संरक्षणका गतिविधि पनि निरन्तर रूपमा सञ्चालन भइरहेको सामुदायिक वनका उपाध्यक्ष प्रकाशनाथ योगीले बताउनुभयो । उहाँका अनुसार वनभित्र विभिन्न प्रजातिका बिरुवाको नर्सरी निर्माण गरिएको छ । “बाँसको नर्सरी निर्माण गरी बिरुवा रोपिसकेका छौँ भने विजयसाल र रक्तचन्दनको नर्सरी निर्माण भइरहेको छ,” उपाध्यक्ष योगीले भन्नुभयो ।

सामुदायिक वनले उपभोक्तालाई आयआर्जनसँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम पनि अघि सारेको छ । त्यसका लागि सालको टपरी तथा विजयसालका भाँडा बनाउने उपकरण समेत खरिद गरिएको छ । यसबाट स्थानीय उपभोक्ताको आम्दानी वृद्धि हुनाका साथै वन संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

वन संरक्षण र पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाउँदै ग्वलाबारी सामुदायिक वनलाई आन्तरिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको सामुदायिक वन समितिले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..