बाजुरा, पुस २९ गते । बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिका –८ र ९ को मार्तडीवासीको भात खाने जिउलो पछिल्लो समय घरैघरले भरिँदै गएको छ ।
मार्तडीका पहिलो पुस्ताले मार्तडी जिउलोलाई भात खाने जिउलो भन्ने गथ्र्ये । यहाँ धेरै धान फल्ने गथ्र्यो । उनीहरुले यो मार्तडी जिउलो जोगाउँदै आएका थिए । अहिले उनीहरुका नयाँ पुस्ताले मार्तडी जिउलोलाई घर पसल लगाउँनका लागि बिक्री गर्न थालेपछि अहिले सो जिउलो घरैघरले भरिँदै गएको हो ।
मार्तडीवासीले जिउलो बेच्दै र बाहिरबाट आउनेहरूले किन्दै आएपछि अहिले सो जिउलोमा घरैघर निर्माण हुन थालेको मार्तडीका स्थानीय बताउछन् ।
पहिला यहाँका अधिकांश स्थानीयले धान खेती गर्दै आएको जिउलोलाई अहिलेका नयाँ पुस्ताहरूले बिक्री गर्दै व्यापार व्यवसायमा लागेपछि मार्तडी जिउलो हराउँदै गएको बडीमालिका नगरपालिका –८ स्थानीय धनकला रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “झण्डै सयौँ रोपनीभन्दा बढी रहेको मार्तडी जिउलो पछिल्लो समय यहाँका स्थानीयले विस्तारै बिक्री गर्दै आएपछि अहिले जिउलो घरैघरले भरिभराउ हुँदै गएको छ ।”
पछिल्लो समय मार्तडीमा हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, गौमुल बुढीगङ्गा, त्रिवेणी र छेडेदह लगायतका स्थानीयले समेत मार्तडी जिउलोमा जमिन किन्दै घर लगाएर बसोबास गर्न थालेपछि अहिले जिउलो घरैघरले भरिभराउ भएको रावलले बताउनुभयो ।
सदरमुकाम मार्तडीमा पाइने विभिन्न सेवा सुविधा तथा व्यापार व्यवसाय गर्न समेत सहज भएपछि जिल्लाका अन्य स्थानीय तहबाट समेत स्थानीय मार्तडीमा बसोबास गर्न थालेका हुन् । तल्लो क्षेत्रका स्थानीयहरू अहिले डाब बजार, रिठा, बेलाल्माण्डौ, फालासैन ताँप्री सेरा, बल्दे, आटिचौरलगायत विभिन्न स्थानीय बजारबाट दैनिक उपभोग्य सामग्री लिने गर्दछन् ।
जिल्लाको गौमुल, बुढीनन्दा, स्वामिकार्तिक, जगनाथ, हिमालीलगायतका स्थानीयको मुख्य बजार मार्तडी नै हो । यो क्षेत्रका स्थानीय तहमा स्थानीय बजार भए पनि सो बजारमा अहिले पनि सदरमुकाम मार्तडीबाटै नै दैनिक उपभोग्य समान जाने गर्दछ ।

जिल्लाका अन्य स्थानीय तहबाट पनि अहिले सरकारी काम काजका लागि मार्तडी नै जाने गर्दछन् । यही सेवा सुविधाका कारण पनि यहाँका स्थानीयको बसोबास गर्ने ठाउँ मार्तडी जिउलो रोजाइमा पर्न थालेपछि पछिल्लो समय यहाँ घरैघरले भरिभराउ भएको हो ।
पहिला यहाँको छेउछाउमा मात्र केही सरकारी भवन र स्थानीयका घर मात्र थिए । जिउलो पूरै खाली थियो । त्यसमा यहाँका स्थानीय धान गहुँ खेती लगाउँने गथ्र्ये । अहिले यहाँका स्थानीयले त्यो जिउलोलाई विस्तारै अन्य पालिका देखि आउनेहरुलाई बिक्री गर्दै आएपछि जिउलो घरैघरले भरिदै गएको रावलले बताउनुभयो ।
२०७८ का जनगरण अनुसार एक हजार २६५ घरधुरी रहेका छन् । त्यसै गरी यहाँको नौ नम्बरमा पनि सात आठ सयभन्दा बढी घर धुरी रहेका छन् । आठमा पाँच हजार जनसङ्ख्या छ भने नौमा दुई हजारभन्दा बढी जनसङ्ख्या रहेको छ ।
पहिला सदरमुकाम मार्तडीमा पनि सरकारी केही भवन मात्र थिए । अन्य ठाउँमा धानखेती लगाउँने गरेका थियौ । अहिले यहाँ बाहिरदेखि सदरमुकाम केन्द्रित हुनेको पनि धेरै भए र अन्य यहाँका स्थानीयको रोजागरी केही नभएकाले आफ्ना छोराछोरीलाई सहर केन्द्रित गर्नका लागि त्यो स्थानीयले यो जिउलो खेती लगाउँन छोडेर बिक्री गर्दै आएपछि अहिले यहाँको मार्तडी जिउलो घरैघरले भरिदै गएको बडीमालिका नगरपालिका वडा नं –८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताउनुभयो ।
– शेरबहादुर सार्की
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















