काठमाडौँ, पुस २९ : श्री एयरलाइन्सले आफ्नो बेडामा रहेको अन्तिम क्यानेडियन निर्मित बम्बार्डियर सीआरजे–७०० विमान बिक्री गरी संयुक्त राज्य अमेरिका पठाएसँगै यो भेरियन्टको विमान अब नेपालबाट पूर्ण रूपमा बिदा भएको छ।
कल साइन ‘अल्फा माइक ब्राभो’ रहेको सीआरजे–७०० विमान पाँच दिन लामो विशेष ‘फेरि उडान’ पश्चात् सोमबार राति अमेरिका पुगेको हो। उक्त विमान काठमाडौं, ओमान, टर्की, चेक गणतन्त्र, आइसल्यान्ड र क्यानडा हुँदै अमेरिकाको मिसौरी राज्यस्थित सेन्ट लुइस ल्याम्बर्ट अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
श्री एयरलाइन्सले उक्त विमान अमेरिकी कम्पनी ‘रिजनल वन’लाई ४९ लाख अमेरिकी डलरमा बिक्री गरेको हो। काठमाडौं भन्सार कार्यालयका अनुसार, यो विमानको कारोबार सिद्धार्थ बैंकमार्फत सम्पन्न गरिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट उडानयोग्यताको प्रमाणपत्र प्राप्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले हालै निकासी प्रज्ञापनपत्र जारी गरेको थियो। भन्सार कार्यालयका अनुसार नेपालबाट विमान निर्यात गर्दा कुनै अतिरिक्त कर लाग्दैन । केवल १ सय १३ रुपैयाँ फाराम शुल्क तिरेपछि विमान निर्यात गर्न सकिन्छ।
क्यानले मंगलबार उक्त विमानका लागि ७२ घण्टे विशेष उद्देश्य (फेरी) उडान अनुमति प्रदान गरेको थियो। उक्त अनुमतिमा उडान मार्ग, उचाइ, भन्सार तथा अध्यागमन प्रक्रिया, क्रु बिमा, एटीएस निर्देशन तथा उडान सम्पन्न भएपछि विस्तृत प्रतिवेदन पेस गर्नुपर्ने सर्तहरू समावेश थिए।
विमानलाई बुधबार श्री एयरलाइन्सकै कप्तानहरू प्रफुल्ल वैद्य र सौरभ सिन्हाले उडाएका थिए। उडानमा एक जना इन्जिनियर पनि सहभागी थिए।
श्री एयरलाइन्सका सञ्चालक सुधीर मित्तलले सन् २०१७ अप्रिलमा पहिलो सीआरजे–२०० जेट नेपाल भित्र्याएका थिए। त्यस समयमा ५० सिट क्षमताका दुईवटा सीआरजे–२०० र दुईवटा सीआरजे–७०० गरी चारवटा जेट विमान ल्याएर श्रीले हेलिकोप्टर चार्टरसँगै आन्तरिक नियमित उडान बजार विस्तार गरेको थियो।
नेपालमा जेट विमान प्रयोग गरी आन्तरिक नियमित उडान सुरु गर्ने अग्रणी निजी वायुसेवा कम्पनी श्री एयरलाइन्स पनि प्रमुख हो। युरोपियन टर्बोप्रोप एटीआर विमान सञ्चालन भइरहेको नेपालको सुगम रुटमा प्रेसराइज्ड क्याबिन, कम आवाज, उच्च गति, ग्लास ककपिट, आरामदायी सिट र छोटो उडान समय क्यानेडियन सीआरजे जेटका प्रमुख आकर्षण थिए।
सीआरजे–७०० छिटो, भरपर्दो र आरामदायी क्षेत्रीय जेट मानिन्छ। मध्यम दुरीका रुटमा यसको गति र यात्रु अनुभव उत्कृष्ट भए पनि नेपालको सन्दर्भमा यसको इन्धन खर्च उच्च, क्याबिन साँघुरो तथा दुर्गम स्टल विमानस्थलमा अवतरण गर्न नसक्नु प्रमुख सीमितता बने। यही कारण टर्बोप्रोप ड्यास–८ र एटीआरजस्ता विमान नेपालका लागि बढी उपयुक्त ठहरिए।
उच्च सञ्चालन तथा मर्मत खर्चका कारण सीआरजे–७०० ले एटीआरसँग प्रतिस्पर्धा गर्न नसकेपछि श्री एयरलाइन्सले करिब आठ महिनाअघि पहिलो सीआरजे–७०० ‘अल्फा माइक ओस्कर’ दक्षिण अफ्रिकाको ‘सेम एयर’लाई बिक्री गरेको थियो। हाल उक्त विमान जोहानेसबर्गबाट व्यावसायिक उडान गरिरहेको छ। बाँकी रहेको दोस्रो तथा अन्तिम सीआरजे–७०० सोमबार अमेरिका पुगेको श्रीले जनाएको छ। यससँगै श्रीको बेडामा सीआरजे–७०० विमान शून्य भएका छन्।
तर यी विमानभन्दा साना दुईवटा सीआरजे–२०० भेरियन्ट भने श्री एयरलाइन्सले तत्काल नहटाउने जनाएको छ। हाल श्रीसँग सातवटा ड्यास–८ क्यू–४००, छवटा एमआई–१७ हेलिकोप्टर र दुईवटा एएस–३५० हेलिकोप्टर दर्ता छन्। यी सबै उडानमा भने छैनन् । जम्मा १६ वटा वायुयान (जहाज र हेलिकोप्टर) सहित श्री एयरलाइन्स संख्याका आधारमा बुद्ध एयरपछि नेपालको दोस्रो ठूलो निजी उड्डयन संस्था हो। कम्पनीसँग उडानमा मात्रै करिब ६० जना पाइलट कार्यरत छन्।
श्री एयरलाइन्सका एक उच्च तहका अधिकारीका अनुसार, कम्पनीले तत्काल दुई प्रकारका फ्लिटमा सीमित रहने रणनीति अपनाएको छ।
कम्पनीले आगामी एक वर्षभित्र काठमाडौं–दिल्ली, कोलकाता र ढाका गन्तव्यमा बोइङ ७३७ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रारम्भिक अनुमति प्राप्त गरिसकेको श्री अब क्यानको अन्तिम स्वीकृतिको प्रतीक्षामा छ।
सन् १९९९ मा ‘एयर अनन्या’ नामबाट सुरु भएको श्री एयरलाइन्स दक्षिण–पूर्वी एसियामै रूसी एमआई–१७ हेलिकोप्टरको सबैभन्दा ठूलो सञ्चालक हो। साथै, यो संयुक्त राष्ट्रसंघ तथा विश्व खाद्य कार्यक्रमको पहिलो नेपाली हवाई साझेदार वायुसेवा पनि हो।
‘विमान खरिद र बिक्री एयरलाइन्सको दीर्घकालीन रणनीतिक योजना हो। हाम्रो पहिलो प्राथमिकता सधैं सुरक्षा नै हो। आगामी विस्तार अन्तर्राष्ट्रिय यात्रुलाई पनि उही स्तरको सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने दिशामा केन्द्रित हुनेछ,’ श्री एयरलाइन्सले प्रतिक्रिया दिएको छ।
नेपाली उड्डयन क्षेत्रका जानकारहरूले सीआरजे–७०० को बदाइलाई श्री एयरलाइन्सको नयाँ अन्तर्राष्ट्रिय अध्यायतर्फको टेक–अफका रूपमा हेरेका छन् ।
– सुरज कुँवर
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













